+
+

एमालेमा नवप्रवेशीलाई प्राथमिकता, वाम तालमेल भन्नेहरू रिङआउट

सइन्द्र राई सइन्द्र राई
२०७९ असोज २९ गते २०:२९

२९ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्यको टिकटतिर लागेकै कारण राष्ट्रियसभा सदस्य पद गुमाएका खिमलाल भट्टराई, अहिले नेकपा एमालेका उम्मेदवार जिताउने अभियानमा खटिएका छन् । रुपन्देही क्षेत्र नम्बर ५ मा उनलाई एमालेले चुनाव परिचालन कमिटीको कमाण्डर बनाएको छ ।

चुनाव परिचालनको नेतृत्व लिएकाले एमाले उम्मेदवार वासुदेव घिमिरेलाई जिताउनु भट्टराईको मूल दायित्व हो । जबकी केही दिन अगाडिसम्म उनी आफैं यो क्षेत्रका निर्विरोध उम्मेदवार थिए । एमाले पोलिटब्यूरो सदस्य भट्टराईको नाम निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सर्वसहमत रुपमा एकल सिफारिस गरेको थियो । तर उम्मेदवारी दर्ता हुने (२३ असोजमा) अघिल्लो साँझ उनको निर्वाचन क्षेत्रबाट तिलोत्तमा नगरका पूर्वमेयर घिमिरेले टिकट पाए ।

आफ्नो टिकट घिमिरेले खोस्छन् भन्ने भट्टराईको कल्पना समेत गरेका थिएनन । किनकि रुपन्देही–१ का घिमिरे अर्को क्षेत्र, रुपन्देही–३ बाट घनश्याम भूसालसँगै सिफारिस भएका थिए । रुपन्देही–५ मा भने खिमलालले चुनाव लड्ने इच्छा गरेकाले एमाले केन्द्रीय सदस्य एवम् रुपन्देही इञ्चार्ज भूमेश्वर ढकाल आफैं प्रदेशसभाको उम्मेदवार हुन तयार भए । त्यसैले टिकट पाउनेमा भट्टराई ढुक्क हुने नै भए । पूर्वमेयर घिमिरे अर्को निर्वाचन क्षेत्रका मात्रै नभएर पार्टीमा भट्टराईभन्दा तल्लो कमिटीका नेता हुन् । युवा राजनीतिमा जिल्ला अध्यक्षसम्म बनेका घिमिरे अहिले प्रदेश कमिटी सदस्य छन् । अर्थात् पार्टीको कार्यकारी भूमिकामा घिमिरे कहिल्यै थिएनन ।

तर तिनै घिमिरे रुपन्देही–३ मा घनश्यामसँगै सिफारिस भए भने रुपन्देही–५ खिमलालको टिकट खोस्न सफल भए । एमालेले राप्रपाका दीपक बोहोरालाई रुपन्देही–३ छोडेर घनश्याम भूसाललाई सजिलै पञ्छाएका थिए । तर घिमिरेले भने अर्को क्षेत्रबाट एकल सिफारिस भएका नेता भट्टराईकै टिकट खोस्न सक्नुले एमाले नेतृत्वको मनोविज्ञान समेत अनुमान लगाउन सकिन्छ ।

किनकि भूसाल र भट्टराईले यो चुनावमा वाम तालमेल गर्नुपर्ने वकालत र सार्वजनिक अभिव्यक्ति दिएका थिए । जुन, अभिव्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत थियो । गएको चैतमा सम्पन्न स्थायी कमिटी कमिटी बैठकमा भूसालले राखेको वाम तालमेल र एकताको प्रस्ताव ओलीले सिधै अस्वीकार गरेका थिए । तर भूसाल त्यही अडानमा रहे । भट्टराईको मत पनि कम्युनिष्ट आन्दोलन जोगाउन वाम तालमेल गर्नुपर्ने पक्षमा थियो ।

‘जसले वाम एकता र चुनावी तालमेलको कुरा उठाए, उनीहरुलाई टिकट पाउन कठिन भयो’, एमालेका एक नेता भन्छन् । ०७४ मा आफैंले हराएको राप्रपाका दीपक बोहोरालाई पार्टीले उम्मेदवार बनाइएपछि भूसालले एमाले नै परित्याग गरे । ४५ वर्षसम्म आवद्ध भएको एमाले छोडेका भूसाल अहिले रुपन्देही–१ बाट त्रिभुज चिन्हबाट उम्मेदवार छन् ।

तर भट्टराई भने पार्टीमै बसेर एमालेका उम्मेदवार जिताउने अभियानमा सक्रिय छन् । ‘अब मेरो भन्नु एमालेले १६५ निर्वाचन क्षेत्र नै जित्नुपर्छ भन्ने हो’ भट्टराईले अनलाइनखबरसँग भनेका छन्, ‘जो–जो तालमेलमा आएका छन्, उनीहरु पनि त हाम्रै भए ।’

भूसाल र भट्टराई जस्तै वाम तालमेलको वकालत गर्ने अरु नेताहरुले पनि यो चुनावमा टिकट पाउन सकेनन् । गएको वर्ष २ भदौमा पार्टी विभाजन गरी एकीकृत समाजवादी बन्दा १० बुँदे सहमति गरी एमालेमै बसेका भीम रावलले अछाम–१ बाट सर्वसहमत एकल सिफारिस भएर पनि टिकट पाएनन् । उनको ठाउँमा उम्मेदवारको आकांक्षा नै नराखेका झपट बोहोरालाई टिकट दिइएको छ । टिकट नपाएपछि रावलले पनि ओलीमाथि १६ पृष्ठ लामो आरोप लगाएका छन्, तर फेरि पनि एमालेमै रहने रावलले निर्णय लिएका छन् ।

वाम तालेमल गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति नेताले टिकट नपाएका अर्का उदाहरण हुन्, वैजनाथ चौधरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीकै दावेदारका रुपमा हेरिएका वैजनाथ यसपटक उम्मेदवार नै बन्न पाएनन् । उनी आफैं पनि प्रदेशसभामा बसेर मुख्यमन्त्री बन्ने अथवा प्रतिनिधिसभा सदस्य हुने चाहनामा थिए । तर पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा वैजनाथले प्रदेशसभाको टिकट समेत पाएनन् ।

जबकी वैजनाथ एमालेमा थारु समुदायका शीर्ष नेता हुन् । अझ ०६९ मा अशोक राईको नेतृत्वमा पार्टी विभाजन भइरहँदा एमाले जोगाउन उनको भूमिका महत्वपूर्ण थियो । त्यसबेला एमालेलाई खसआर्यको मात्रै पार्टी भन्ने आरोप लाग्दा त्यसविरुद्ध उभिनेमध्ये उनी अग्रस्थानमा थिए ।

त्यही कारण उनको पुत्ला जलाउनेदेखि घरमै आक्रमण समेत भयो । आक्रमणकारीको आक्रोशबाट वैजनाथलाई जोगाउन उनको घरमा ६ महिनासम्म प्रहरी नै तैनाथ गरिएको थियो । ‘पार्टी ठीक ढंगले अगाडि बढेन भने मुलुक अगाडि बढ्न सक्दैन भन्ने मनोविज्ञान पनि थियो । एमालेलाई सवै क्षेत्र, वर्ग र जातीको प्रतिनिधित्व गर्ने पार्टी बनाउनुपर्छ भनेर त्यसबेला उभिएको थिएँ’, वैजनाथ भन्छन् ।

तर यसपटक तिनै अशोक राईलाई सुनसरी–१ मा एमालेले समर्थन गरेको छ । एमाले एकताकै पक्षमा उभिएका निवर्तमान सांसद जय राई एकल सिफारिस भए पनि जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेर अशोक राईलाई छाडिएको छ ।

पार्टीको भूमिकामा पनि वैजनाथलाई एमाले नेतृत्वले न्यायोचित अवसर दिइएको थिएन । आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित वैजनाथ अहिले पोलिटब्यूरो सदस्य मात्रै छन् । जबकी उनीभन्दा जुनियर धेरै नेतालाई स्थायी कमिटीमा लगिएको छ ।

वाम तालमेलको पक्षमा रहेका काठमाडौंका सुरेन्द्र मानन्धरले पनि टिकट पाएनन् । पञ्चायतको भूमिगतकालीन समयमै अखिलमा लागेर नेताहरु जोगाउन र पार्टी आन्दोलन हाँक्न भूमिका खेलेका मानन्धरले ०७० को चुनावमा पुष्पकमल दाहाल प्रचण्डभन्दा धेरै कम मात्र मत ल्याएको थिए । २०७४ मा वाम तालमेल भएका कारण टिकट नपाएका उनी यसपटक पनि काठमाडौं–१० उम्मेदवार बन्न चाहेका थिए । मानन्धरको नाम सिफारिस पनि भयो ।

तर ओलीले भने मानन्धरलाई टिकट नदिएर रामबहादुर थापा बादल उम्मेदवार बनाउने निर्णय गरे । बादलले टिकट अस्वीकार गरेपछि हिमेश केसीलाई उम्मेदवार बनाइएको छ । ०७० मा प्रचण्ड र ०७४ मा वाम गठबन्धनका हेभिवेट नेता हितमान शाक्यलाई नै हराउने नेपाली कांग्रेसका राजन केसीविरुद्ध हिमेशको उम्मेदवारी तुलनात्मक कमजोर रहेको त्यहाँका एमाले नेताहरु बताउँछन् ।

साँझ प्रवेश, बिहान टिकट

वाम तालमेल गर्दा कम्युनिष्ट आन्दोलन सुदृढ हुने भएकाले त्यसको नेतृत्व एमालेले गर्नुपर्ने पक्षमा वकालत गर्नेहरुले टिकट नपाए पनि नवप्रवेशीहरु भने प्राथमिकतामा परेका छन् ।

पार्टी प्रवेश गराएर जित्ने नीतिमा एमालेले अघिल्लो दिन पार्टी प्रवेश र भोलिपल्ट उम्मेदवार बनाउनेसम्म गरेको छ । २२ असोजमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी एमालेमा प्रवेश गरेका एकवाल मिया त्यही प्रवृत्तिको उदाहरण हुन् । उनी अहिले बारा–४ बाट एमाले उम्मेदवार छन् ।

मिया भन्दा दुई हप्ता अगाडि मात्रै एमाले प्रवेश गरेका उमाशंकर अरगरिया धनुषा–२ बाट उम्मेदवार छन् । उनी पनि लोसपा छोडेर ८ असोज एमाले प्रवेश गरेका थिए । अरगरियाभन्दा दुई दिन अगाडि एमाले प्रवेश गरेका अब्दुश मिया गोरखा–२ बाट उम्मेदवार छन् । काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका अब्दुसलाई एमालेले पार्टीमा ल्याएर गोरखाको टिकट दिएको हो । त्यहाँ अब्दुलले पूर्वप्रधानमन्त्री प्रचण्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

विशेष गरी ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयपछि एमाले प्रवेश गर्नेहरु टिकट वितरणमा प्राथमिकतामा परेका छन् । त्यही लाभ उठाउँदै जालिम मिया पर्सा–४ बाट एमाले उम्मेदवार बनेका छन् । जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम गएको वर्ष मंसिरमा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका थिए ।

कपिलवस्तुका बृजेशकुमार गुप्ता र मंगलप्रसाद गुप्ताले पनि एमाले प्रवेश गरेको पुरस्कारमा प्रतिनिधिसभा सदस्यको टिकट पाए । ६ पुस २०७८ मा जसपा छोडेर एमाले प्रवेश गरेका मंगलप्रसाद कपिलवस्तु–२ र गएको चैतमा पार्टी प्रवेश गरेका बृजेशकुमार कपिलवस्तु–२ मा एमालेको उम्मेदवार छन् ।

कोमल वलीले त एमालेमा लगातार लाभ पाउने नेता बनिन् । ९ असोज २०७४ मा राप्रपा छोडेर एमाले प्रवेश गरेकी वली अहिले दाङ–३ का उम्मेदवार हुन् । पार्टी प्रवेश गरेको चार महिनाभित्रै एमालेले उनलाई राष्ट्रियसभा सदस्य बनाएको थियो । १४ माघ २०७४ मा राष्ट्रियसभा सदस्य बनेकी वलीले चार वर्षे कार्यकालको चिठ्ठा तानेकाले फागुन यता संसदीय भूमिकामा थिइनन् ।

माओवादी छोडेर ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी अर्घाखाँची, लेखराज भट्ट कैलाली–४, गौरीशंकर चौधरी कैलाली–३, झपट बोहोरा अछाम–१, पूर्ण बुढामगर रोल्पा, कैलाशकुमार मल्ल पूर्वी रुकुम, मनोजजंग थापा सिन्धुली–२ र ज्वाला साहले बारा–३ बाट टिकट पाए । यी विवरण त प्रतिनिधिसभा सदस्यको उम्मेदवारहरु मध्येका मात्रै हुन्, प्रदेशसभामा पनि उस्तै प्रवृत्ति देखिन्छ ।

‘चुनाव जित्न पार्टी प्रवेश गराएर टिकट दिने कुरा एउटा पक्ष हो, तर त्यसरी जित्नेहरुमा न पार्टीप्रतिको निष्ठा हुन्छ, न उद्देश्यप्रति प्रतिवद्धता नै हुन्छ’, एमालेका एक स्थायी कमिटी सदस्य भन्छन् । पार्टी निर्माणमा संघर्ष गरेकाहरुमै पार्टीप्रतिको प्रतिबद्धता हुने भएकाले प्रवेश गर्नासाथ टिकट दिने कुरा सकारात्मक नरहेको उनी बताउँछन् ।

तर सत्ता गठबन्धनविरुद्ध लड्न एमालेले यसपटक जसपासँग संस्थागत तालमेल गरेको छ । मधेश प्रदेशका सहित १७ प्रतिनिधिसभा सदस्य जसपालाई छोडेको एमालेले पूर्वपञ्च कमल थापालाई सूर्य चिह्नकै उम्मेदवार बनाएको छ । थापा मकवानपुर–२ बाट एमाले उम्मेदवार हुन् ।

डडेलधुरा र चितवन–३ मा त कांग्रेस पृष्ठभूमिकै नेतालाई एमालेको समर्थन छ । कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ललाई प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेले डडेलधुरामा समर्थन गरेको छ । तर मल्लसँग खटपट हुँदा डडेलधुरा जिल्ला कमिटटीले एक्लै चुनाव भाग लिने निर्णय गरेको छ । यसले क्षति भने एमालेलाई पुगेको छ, किनकि डडेलधुरामा एमालेले भोट हाल्ने उम्मेद्वार नै भएनन् ।

डडेलधुराकै जस्तो नीति चितवन–३ मा पनि एमालेले लिएको छ । यो क्षेत्रमा कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गर्न एमालेले आफ्नो उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गरेको छ ।

नवलपरासी पश्चिम–२ मा पार्टीले टिकट दिएको सिन्धु जलोसा बुढाथोकीलाई फिर्ता बोलाएर यसपटक पनि हृदयेश त्रिपाठीलाई नै एमालेले समर्थन गरेको छ । ०७४ मा पनि एमालेकै चिह्नबाट त्रिपाठीले जितेका थिए ।

झापा, रुपन्देही र बाँकेमा राप्रपासँग एमालेको तालमेल छ । त्यसअनुसार, झापा–३, मा राजेन्द्र लिङदेन, रुपन्देही–३ मा दीपक बोहोरा र बाँके–२ मा धवल शमशेर जबरा एमालेका पनि उम्मेदवार हुन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?