+
+
संगीतकार सन्तोष श्रेष्ठको सम्झनामा सत्यमोहन :

‘बाहिरका बाजा बजाएर नेपाली संगीत आधुनिक बन्न सक्दैन भन्नुहुन्थ्यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:१०

काठमाडौं । गीतकार समेत रहेका शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली संगीतले मौलिकता गुमाउँदै जान थालेकोप्रति चिन्तित थिए । गिटार लगायतका पश्चिमा बाजाभन्दा नेपाली रैथाने बाजाको प्रयोग हुनुपर्ने आवश्यकता उनले देखेका थिए ।

सांगीतिक कार्यक्रमहरुमा समेत जोशीले संगीतले मौलिकता गुमाएकोप्रति चिन्ता जाहेर गर्ने गरेका थिए । संस्कृतिविद्को छायामा जोशीको गीतकारको व्यक्तित्व ओझेलमा परेको देखिन्छ । कमैले उनलाई कुशल गीतकारको रुपमा चिन्छन् ।

संयोगवस भनौं, संगीतकार सन्तोष श्रेष्ठ जोशीद्वारा लिखित गीतलाई औपचारिक रुपमा रेकर्ड गर्ने पहिलो र अन्तिम संगीतकार बने । जोशी ९९ वर्षको हुँदा श्रेष्ठकै कम्पोजमा ‘तेरो मेरो जे भन्छौं हामी, आखिर यहाँ न तेरो न मेरो’ बोलको गीत म्युजिक नेपालमा रेकर्ड भएको थियो ।

शिशिर योगीले उक्त गीतमा स्वर दिएका थिए । केही महिनाअघि जोशीले लेखेको र रेकर्ड भइसकेको गीत ‘मायारानी’को भिडियो छायांकनको समेत तयारी भएको थियो । तर भिडियो सुटिङ नहुँदै जोशीको निधन भयो र यो काम अधुरै रह्यो । यी दुवै गीतलाई सार्वजनिक गर्ने तयारी छ ।

जोशीको गीतमा संगीत भरेका संगीतकार सन्तोष श्रेष्ठले सत्यमोहनको स्मरण यसरी गरे :

उहाँका गीतहरु धेरै आउनुपर्ने रहेछ । धेरै मान्छेले उहाँलाई बुझ्न–चिन्न नसकेजस्तो लाग्छ । उहाँको गीति साहित्यबारे परिचय बनाउन नसकेको हो जस्तो लाग्छ ।

किनभने समग्र नेपाली लोकसंस्कृति र लोकसाहित्यलाई बोकेर राम्रा–राम्रा शब्दहरु उहाँको जीवनकालमै रेकर्ड भएर आउनुपथ्र्यो । उहाँले सुन्न पाउनुपर्थ्यो । धेरे मान्छेको बुझाइ कस्तो रह्यो भने उहाँ लोकसंस्कृतिको खोज अनुसन्धान गर्ने अध्येता मात्र भन्ने बुझाइ भयो । गीति पक्ष ओझेलमा परेको अनुभूति मैले गरें ।

जब मैले उहाँलाई भेटें, उहाँको गीतमा पाइने जीवन्त कुराहरु, जीवन दर्शन निकै गहिराइमा रहेछन् । उहाँले मलाई त्यतिबेला पहिलो गीतको मेलोडी बनाउन भन्नुभएको थियो ।

नेपाली मौलिकता भएको नेपालीपनको कम्पोजिसन हुनुपर्छ भन्नेमा उहाँ सजग हुनुहुन्थ्यो । मैले दुईवटा गीत गरें उहाँसँग । त्यो सुरु पनि भयो र अन्त्य पनि भयो । लोकजीवन र जीवनदर्शनलाई उहाँले असाध्यै गम्भीर ढंगले लेख्नुभएको छ ।

आधुनिक बन्ने नाममा हामीले हाम्रो निजत्व र मौलिकतालाई बिर्संदै अघि बढेका हुन्छौं । अर्काको कपी गर्नुपर्ने, नेपाली सारंगी, मादल, बाँसुरी बज्यो भने हामी चाहिं गवार हुन्छौं । गिटार र अरु इलेक्ट्रिक बाजाहरु बजाइयो भने आधुनिक र अन्तर्राष्ट्रिय स्तरमा जान सक्छौं भन्ने हाम्रो मानसिकतालाई उहाँले इन्डिकेट गर्नुभएको छ भन्ने लाग्छ ।

उहाँले मलाई बेला-बेलामा भन्नुहुन्थ्यो- नेपालभन्दा बाहिरका बाजाहरु बजाएर हामी आधुनिक बन्ने होइन कि मादल, बाँसुरी, सारंगीजस्ता हाम्रा लोकबाजा जति छन्, त्यसको प्रस्तुतीकरण समयानुसार फरक गर्न सकिन्छ । तर त्यसलाई बिर्सेर जसरी अघि बढ्न खोजिएको छ, त्योप्रति उहाँ असन्तुष्टि जनाउनुभएको थियो ।

समग्र नेपाली संगीतले मौलिकता बिर्संदै गएकोप्रति उहाँको चिन्ता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?