+
+

पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ असोज ३१ गते १६:२०

काठमाडौं । बच्चाहरूमा नक्कल गर्ने बानी हुन्छ । त्यसैले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो बालबालिकाले नक्कल गर्ने मनोवैज्ञानिक अलबर्ट बान्दुराले बताएका छन् ।

बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन् । अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन् । त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि गर्न नहुने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् ।

‘अभिभावकलाई बालबालिकाले प्रेरणाको स्रोत ‘रोल मोडल’ मानेका हुन्छन्, उनीहरूले गरेको हरेक कार्य ठीक हो भन्ने उनीहरूको बुझाइ हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले बालबालिकाको अगाडि  अभिभावकले सकारात्मक तथा राम्रो बानी व्यवहार गर्नुपर्छ ।’

यदि बालबालिकाको अगाडि नराम्रो व्यवहार गर्‍यो भने त्यो व्यवहार उसले आफ्नो उमेर समूहको साथीसँग गर्छन् । त्यसैले यी पाँच गतिविधि अभिभावकले बालबालिकाको अगाडि गर्नु नहुने ठगुन्ना सुझाउँछन् ।

अर्काको कुरा

कुनै पनि अभिभावकले बालबालिकाको अगाडि अर्काको नराम्रो कुरा गर्नु हुँदैन । अभिभावकले कुरा गरिरहेको व्यक्तिलाई बालबालिकाले चिन्छन् भने त्यो व्यक्तिप्रति बालबालिकाले पनि नकारात्मक सोच राख्न सक्छन् ।

अभिभावकले त्यो व्यक्तिको कुरा गर्नुअघि बालबालिकालाई त्यो व्यक्ति राम्रो लाग्थ्यो भने पनि अभिभावकको कुरा पछि उनीहरूलाई त्यो व्यक्ति नराम्रो लाग्न सक्छ । यसले बालबालिकालाई असामाजिक बनाउन सक्छ । त्यसैले बालबालिकाको अघि अरूको कुरा काट्नु र नराम्रो भन्न नहुने उनी बताउँछन् ।

यौनजन्य क्रियाकलाप

बालबालिकाको अघि गर्न नहुने अर्को गतिविधि भनेको यौनजन्य क्रियाकलाप हो । श्रीमान् श्रीमती नै हो के भयो त भनेर बालबालिकाको अघि चुम्बन गरेमा बालबालिकाले देखेर सिक्न सक्छन् । उसले त्यो गतिविधि आफ्ना उमेरको साथीहरूसँग गर्न सक्छ ।

ठगुन्ना भन्छन्, ‘यसले बालबालिकामा असामान्य यौन व्यवहारको विकास हुने सम्भावना हुन्छ । त्यसैले बालबालिकाको अघि कुनै पनि प्रकारको यौनजन्य क्रियाकलाप गर्नु हुँदैन ।’

झगडा

अभिभावकबीचको झगडाले पनि बालबालिकामा नकारात्मक असर गर्छ । अभिभावकले एकअर्कासँग झर्केर ठूलो स्वरले बोल्ने गरेको छ भने बालबालिकाले पनि त्यो कुरा सिक्छन् र अरुसँग झर्किने छिटो रिसाउने खालका व्यवहार देखाउन थाल्छन् । बाबुआमाको झगडाले गर्दा बालबालिकालाई तनाव समेत हुन सक्छ । अभिभावकको झगडाबाट बच्न उनीहरू बिस्तारै परिवारबाट नै टाढा हुँदै जान्छन् ।

डा. ठगुन्ना भन्छन्, ‘अभिभावकको झगडाले गर्दा उनीहरूलाई मानसिक तनाव हुन्छ र कुनै बालबालिका त झन् साथीहरूसँग नै रमाउने घर जान नपरे हुन्थ्यो समेत गर्छन् । त्यसैले अभिभावकको झगडाबाट पनि बालबालिकालाई टाढै राख्नुपर्छ ।’

खराब आचरण

अभिभावकले अरूलाई गर्ने राम्रो नराम्रो व्यवहारले पनि बालबालिकामा प्रभाव पारेको हुन्छ । अभिभावकले घरका सदस्य तथा अन्य बाहिरको व्यक्तिलाई कस्तो व्यवहार गरेको छ बालबालिकाले पनि त्यस्तै व्यवहार गर्छन् । यदि अभिभावकले घरका वृद्धवृद्धालाई गाली गर्छन्, उनीहरूसँग झर्केर बोल्छन् भने त्यो व्यवहार बालबालिकाले पनि सिकिहाल्छन् र त्यस्तै व्यवहार गर्न थाल्छन् ।

मदिरापान र धुम्रपान

बालबालिकाको अगाडि अभिभावकले धुम्रपान र मद्यपान पनि गर्नु हुँदैन । धुम्रपान र मदिरा सेवन गर्नु नराम्रो हो भनेर उनीहरूले समाज तथा स्कुलमा सिकेका, पढेका हुन्छन् । यस्तोमा अभिभावकले नै धुम्रपान, मद्यपान गरेको खण्डमा बालबालिकाले अभिभावकलाई गर्ने सम्मान घट्छ ।

अभिभावकले त धुम्रपान, मद्यपान गर्नुहुन्छ भने मैले गर्दा के नै हुन्छ र भन्ने पनि कतिले सोच्छन् र कुलततर्फ लाग्न सक्छन् । त्यसैले बालबालिकाको अघि कहिले पनि धुम्रपान र मद्यपान गर्नु नहुने ठगुन्ना सुझाउँछन् ।

बालबालिकामा कस्तो असर पर्छ ? 

अभिभावकले बालबालिकाको अघि झगडा गर्ने, अरूको कुरा गर्ने र धुम्रपान, मद्यपान जस्तो कुलत अँगालेका छन् भने त्यसले बालबालिकाको मनोसामाजिक स्वास्थ्यमा असर गर्ने मनोविद् ठगुन्ना बताउँछन् ।

‘यसले बालबालिकाको मानसिक स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ । बालबालिकाको  अरूसँगको सम्बन्धमा पनि यसले असर गर्छ,’ उनी भन्छन्, ‘यस्तो गतिविधिले उनीहरूको समग्र मनोदशालाई प्रभावित गर्ने भएकाले उनीहरूको पढाइमा समेत असर गर्छ ।’

बच्चाहरूले धेरै कुरा आफ्नो अभिभावकबाट सिक्ने भएकाले उनीहरूले राम्रो बानी व्यवहार सिक्ने वातावरण घरमा हुनुपर्छ । बालबालिकाको मानसिक तथा सामाजिक स्वास्थ्य राम्रो बनाउन उनीहरूमा आत्मीयता, माया, अरूलाई आदर सम्मान गर्ने बानी विकास गर्ने खालको वातावरण अभिभावकले सिर्जना गर्नुपर्छ ।

कुनै दिन श्रीमतीले बनाएको खाना मीठो भएन, मन परेन भने ‘छ्या कस्तो नमीठो खाना पकाएको’ भन्नु भन्दा ‘आज खाना ठीकै छ नुन अलि चर्को भयो, अझ यो भन्दा मीठो बनाउने कोसिस गर्नु, नुन अलि कम राख्नु भोलि’ भन्यो भने बालबालिकाले पनि त्यही सिक्छन् । त्यसैले बालबालिकाको अघि सकारात्मक वातावरण सिर्जना गर्नुपर्ने ठगुन्ना बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?