+

कोही कसरी लामो आयु बाँच्छन् ?

२०७९ कात्तिक  २ गते १३:४१ २०७९ कात्तिक २ गते १३:४१
कोही कसरी लामो आयु बाँच्छन् ?

काठमाडौं । मान्छे मृत्युसँग औधि डराउँछ । मृत्यु त निश्चित छ, तर मान्छे जतिसक्दो लामो आयु बाँच्ने चाह राख्छन् । त्यसैले त ‘कसरी लामो आयु बाँच्ने’ भन्ने कुरामा मान्छेले अनेक खोज-अध्ययन गरेका छन् र त्यसका सम्भावित उपाय पनि निकालेका छन् ।

मान्छे कसरी लामो आयु बाँच्छन् ? दीर्घायुको सूत्र के हो ?

१५औं आवधिक योजनाले निकालेको रिपोर्टअनुसार नेपालीको औसत आयु करिब ७० वर्ष छ । यद्यपि कतिपयले यो उमेर पार गरेर सय वर्ष हाराहारीसम्म बाँचेका छन् । जस्तो कि, सत्यमोहन जोशी । शताब्दी पुरुष सत्यमोहन जोशी १०३ वर्ष बाँचे । मुख्य कुरा त के पनि भने जीवनको उत्तराद्र्धसम्म उनी स्वस्थ र तन्दुरुस्त रहे ।

त्यस्तै राष्ट्रकवि माधवप्रसाद घिमिरेले सय वर्ष पार गरे । १०१ वर्षको उमेरमा उनको निधन भयो । निधन हुनु केही समयअघिसम्म उनी तगडा नै थिए । अर्को उदाहरण पत्रकार भैरव रिसाल पनि हुन् । उनले केही समयअघि आफ्नो ९५ औं जन्मजयन्ती मनाए । पछिल्लो समय केही शिथिल भए पनि पत्रकार रिसाललाई ‘बुढ्यौली’ले खासै छोएको पाइँदैन । समाजमा खोज्दै जाने हो भने यस्ता पात्र पनि भेटिन्छन्, जो सय वर्ष उमेरको हाराहारीमा तन्दुरुस्त जीवन बाँचिरहेका छन् ।

आखिर कसरी कोही दीर्घजीवी हुन्छन् ? कसरी जीवनभर तगडा र निरोगी रहन्छन् ?

मान्छेले कस्तो खाना खान्छन्, कस्तो जीवनशैली अपनाउँछन्, कस्तो चिन्तन गर्छन्, कस्तो सामाजिक व्यवहार वा आचरण अँगाल्छन् भन्ने कुराले उनीहरुको आयु निर्धारण हुने बताइन्छ ।

लामो आयुको राज

लामो आयु बाँच्नेमा जापानी नागरिक अग्रपंक्तिमा छन् । त्यसमा पनि जापानको एउटा टापु ओकिनावाका बासिन्दा सर्वाधिक लामो आयु बाँच्नेमा पर्छन् । उनीहरु कसरी दीर्घजीवी भए भन्नेमा धेरै खोज-अनुसन्धान भएका छन् र त्यसले केही साझा निचोड निकालेको छ ।

जस्तो कि, उनीहरुको वंशानुगत गुण । कसले कति उमेर बाँच्छ भन्ने कुरामा उनको वंशानुगत गुणले पनि अर्थ राख्ने अध्ययनहरुमा पाइएको छ । ओकिनावाका बासिन्दा दीर्घजीवी हुनुमा उनीहरुको वंशाणुगत गुण एउटा कारण मानिएको छ । तर यो मात्र पर्याप्त भने होइन । खानपान, जीवनशैली, चिन्तन र सामाजिक व्यवहार जस्ता कारणले पनि मान्छेको आयु घटबढ गराउने विभिन्न अध्ययनको निचोड छ ।

मान्छेले कस्तो खाना खान्छन्, कस्तो जीवनशैली अपनाउँछन्, कस्तो चिन्तन गर्छन्, कस्तो सामाजिक व्यवहार वा आचरण अँगाल्छन् भन्ने कुराले उनीहरुको आयु निर्धारण हुने बताइन्छ ।

जस्तो, भैरव रिसालदेखि दिवंगत सत्यमोहन जोशी, माधव घिमिरेसम्मको जीवनशैलीमा केही साझा विशेषता भेटिन्छ । सादा खानपान, सरल जीवनयापन, सक्रिय दिनचर्या । उनीहरुको चिन्तन र सामाजिक जीवन पनि उदाहरणीय पाइन्छ । जस्तो कि, सधैं खुसी, सन्तुष्ट, उत्सुक र आशावादी रहनु । समाजसँग अभिन्न रुपले जोडिनु ।

भैरव रिसालकै कुरा गरौं । उनी कहिल्यै थकित र निराश देखिंदैनन् । जीवनको यो चरणमा पनि रिसाल बच्चा झैं फुरुङ्ग, उत्सुक र जाँगरिला छन् । बिहान चाँडै उठ्नु, उठेपछि चिसो पानीले एकसरो जीउ पखाल्नु, व्यायाम गर्नु र आफ्नो काममा पूर्णताका साथ लाग्नु उनको खास गुण हो ।

सत्यमोहन जोशी जीवनभर सक्रिय रहे । उनी सामान्य दालभात खान्थे, कुनै तडकभडक गर्दैनथे, सधैं एकनासको दिनचर्या हुन्थ्यो, अक्सर पैदल हिंड्थे, मस्त सुत्थे ।

माधवप्रसाद घिमिरेले अनलाइनखबरसँग दीर्घजीवनबारे कुरा गर्दै भनेका थिए, ‘लामो आयु बाँच्न खुसी हुनुपर्छ । खुसी हुनका लागि सिर्जनशील हुनुपर्छ । आफूलाई कुनै न कुनै रचनात्मक काममा लगाउनुहोस् । रचनात्मक काममा लाग्नु भनेको कविता, कथा नै लेख्नुपर्छ भन्ने होइन । तपाईं जे काम गर्नुहुन्छ, त्यो रचनात्मक हुनुपर्छ ।’

उनी थोरै खान्थे, खानपान तालिका नियमित थियो, शरीरलाई सक्रिय राख्थे, सकारात्मक चिन्तन गर्थे र समाजसँग सधैं एकाकार हुन्थे ।

खानपान र जीवनशैली महत्वपूर्ण

आयुर्वेदले स्वस्थ जीवनका लागि तीन कुरालाई प्रमुखता दिएको छ, आहार, विहार र विचार । सही खानपान, दिनचर्या र सोच–चिन्तनले मान्छेलाई निरोगी बनाउँछ । आधुनिक चिकित्सा विज्ञानले पनि यही कुरालाई पुष्टि गरेको छ ।

चिकित्सकहरु भन्ने गर्छन्, ‘कुनै पनि रोग लाग्नु र नलाग्नुमा खानपान पहिलो सर्त हो । सही, सन्तुलित, सुपाच्य, ताजा खानपान सही ढंगले गर्ने हो भने रोग लाग्दैन ।’ आहारविद्हरुले सही खानपानलाई नै औषधि मान्ने गरेका छन् । उनीहरु भन्छन्, ‘सम्पूर्ण स्वास्थ्यको खजना भनेकै हाम्रो भान्सा हो । उचित खानपान उचित समयमा उचित ढंगले गरियो भने त्यो नै सबैभन्दा राम्रो ओखती हुन्छ ।’

यससँगै उनीहरुले अपनाउने दिनचर्या पनि महत्वपूर्ण हुन्छ । उठ्ने, सुत्ने, खाने, बस्ने, आराम गर्ने तालिका नियमित भएमा यसले शरीरलाई सधैं निरोगी, तन्दुरुस्त र सक्रिय राख्ने बताइन्छ ।

खानपान, दिनचर्यासँगै मान्छेको मानसिक स्वस्थ्य अनि सामाजिक जीवन पनि महत्वपूर्ण मानिन्छ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा भन्ने गर्थे, ‘स्वस्थ हुनु भनेको शरीर निरोगी हुनु मात्र होइन । यसका लागि चार सर्त छन्, शारीरिक, मानसिक, आत्मिक र सामाजिक । यी सबैकुरा सन्तुलित र सही भएमा कुनै पनि व्यक्ति स्वस्थ ठहरिन्छ ।’ स्वस्थ हुनु नै दीर्घजीवनको कारण हो ।

आराम र सक्रियतामा सन्तुलन जरुरी : चिकित्सक

शरीर पनि एक प्रकारको मेसिन हो, त्यसैले निरोगी र दीर्घजीवनको लागि शरीरलाई शुद्धीकरण गर्नुपर्छ । निरोगी हुन सबैभन्दा पहिले त खानपानमा नै ध्यान दिनुपर्छ । यदि हामीले खानपानमा ध्यान दियौं भने हाम्रो शरीरमा लाग्ने रोगको जोखिम कम भएर जाने फेमिली फिजिसियन डा. विश्वराज दवाडी बताउँछन् ।

शरीरलाई आरामको जरुरी हुन्छ । त्यसैले दैनिक आठ घण्टा सुत्नु पनि स्वास्थ्यको दृष्टिकोणले राम्रो हो । खानपान र निद्राका साथै शारीरिक रूपमा सक्रिय भएर व्यायाम, योग, ध्यान गरियो भने हाम्रो शरीर निरोगी हुने र दीर्घजीवन बाँच्न सकिने दवाडी बताउँछन् ।

मनोविद् विनोद पौडेल भन्छन्- जो व्यक्ति मानसिक र शारीरिक रूपमा स्वस्थ हुन्छ, उसले निरोगी जीवन र दीर्घजीवन बाँच्न सक्छ । यो कुरामा कुनै दुई मत छैन ।’

योग, प्राणायाम र प्राकृतिक जीवनपद्धति

नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा. हरिप्रसाद भन्छन्, ‘मानिसहरूले करोडौं वर्षको यात्रा गरेर यहाँसम्म आइपुगेका छौं । हाम्रो ‘जिन’ वंशाणुगत कारणले पनि निरोगी हुन वा नहुन जिम्मेवार हुन्छ । जिनमा भएको जेनेटिक चरित्रले हाम्रो दीर्घजीवनलाई प्रभाव पार्न थाल्छ ।’

उनका अनुसार अमेरिकामा भएको एउटा अनुसन्धान अनुसार मानिसको शरीरमा अहिले शरीरमा भएको भन्दा बाहिरको ‘फरेन केमिकल’ कृत्रिम रसायन १६० भन्दा बढी प्रकारको पाइयो भनेको छ । त्यो बाहिरी रसायनहरू कृषिमा प्रयोग भएका विभिन्न रासायनिक मल र कीटनाशक औषधि, फास्टफुड र जंकफुडमा प्रयोग भएको विभिन्न रासायन शरीरमा प्रवेश गरेको हो । यस्ता कुराले पनि हाम्रो स्वस्थकर दीर्घजीवनलाई असाध्यै प्रभाव पार्ने पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘स्वस्थकर दीर्घजीवनको लागि प्राकृतिक खानेकुरामा बढी जोड दिनुपर्छ, जतिसक्दो कम प्रशोधित खानेकुरा, जंकफुड तथा प्याकेट फुडलाई कम गर्ने वा खान नै बन्द गर्नुपर्छ ।’

योगासन, प्राणायाम, ध्यानको माध्यमबाट शारीरिक क्रियाशीलता बढाएमा त्यसले दीर्घजीवन दिने उनी बताउँछन् ।

अहिले मानिसहरू धेरै तनावबाट गुज्रिरहेका छन् । तनावको व्यवस्थापन गर्न योग, ध्यानको माध्यम अपनाउन सकिन्छ । दीर्घजीवनका लागि खानपान, रहनसहन, व्यायाम र तनावको व्यवस्थापन महत्त्वपूर्ण हुने पोखरेल बताउँछन् ।

मानसिक स्वस्थ्य

सानो सानो कुरामा खुसी हुने, तनावलाई सजिलै व्यवस्थापन गर्ने, हरेक कुरालाई सहज रूपमा लिने व्यक्तिहरू मानसिक रूपमा मात्र होइन, शारीरिक रूपमा पनि स्वस्थ हुने मनोविद् विनोद पौडेल बताउँछन् । ‘जो व्यक्ति मानसिक र शारीरिक रूपमा स्वस्थ हुन्छ, उसले निरोगी जीवन र दीर्घजीवन बाँच्न सक्छ । यो कुरामा कुनै दुई मत छैन,’ उनी भन्छन् ।

सानो कुरामा पनि झनक्क रिसाउने, सधैं तनावमा बस्ने मान्छेहरूमा मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप र मधुमेहजस्ता स्वास्थ्य समस्या देखापर्ने विभिन्न अध्ययनले देखाएका छन् । ‘रोगले शरीरमा घर बनाउने बित्तिकै मान्छेको आयु घट्ने नै भयो । त्यसैले तनाव व्यवस्थापन गर्न सक्ने, सुखमा नमात्तिने र दुःखमा नआत्तिने व्यक्ति निरोगी हुन्छ र लामो समय बाँच्ने सम्भावना पनि हुन्छ,’ पौडेल भन्छन् ।

विश्वका ६ स्थान, जहाँका मानिस सय वर्षभन्दा बढी बाँच्छन्

मध्यअमेरिकी मुलुक कोस्टारिकाको निकोया, इटलीको सार्डिनिया, इकारिया, जापानको ओकिनावा र अमेरिकाको क्यालिफोर्निया राज्यको लिन्डा यस्ता स्थान हुन्, जसलाई वैज्ञानिकले ‘ब्लु जोन’ भनेका छन् । यी स्थानमा बसोबास गर्नेको उमेर बाँकी विश्वका मानिसहरुको भन्दा बढी छ । उनीहरू सय वर्षभन्दा बढी उमेर बाँच्ने गर्छन् ।

ब्लु जोनमा रहने व्यक्तिरूको लामो उमेरको रहस्य एक मात्र छैन, धेरै छन् । फलफूल र सब्जीको भरपुर सेवन गर्छन् उनीहरु । नियमित रूपले शारीरिक श्रम वा काम गर्छन् । आफूमा आध्यात्मिक गुणको विकास पनि गर्छन् ।

उमेर दीर्घायु
विनोद पौडेल
लेखक
विनोद पौडेल
मनोविद्

अध्ययन : मास्टर इन क्लिनिकल साइकोलोजी परामर्श मनोविज्ञान कार्यक्रम (एमसीपी) त्रिविमा मास्टरका संकायको शिक्षण सदस्य र कोसिस नेसनल मेन्टल हेल्थ सेल्फ हेल्प अर्गनाइजेसनमा आंशिक परामर्श मनोवैज्ञानिक सल्लाहकारको रुपमा कार्यरत, मनोवैज्ञानिक संघ नेपालका सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय