+
+
स्थलगत :

शेखरलाई तामाङ गाउँले जय नेपाल भन्नै मानेन

शेखरले प्रदीप तामाङलाई सोधे, ‘जय नेपाल नै भन्ने हो नि । किन नभन्ने र ?‘ प्रदीपले भने, ‘कांग्रेस हौं पनि भन्ने । कहिले कोसँग, कहिले कोसँग टाँसिने भएपछि किन हामीले जय नेपाल भन्दै पार्टी बनाउन लाग्ने ? पसिना बगायो, बगायो, फाइदा अर्कैले उठाउँछ ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक ५ गते २०:३४

४ कात्तिक, सुन्दरहरैचा (मोरङ) । कोट पाइन्टको औपचारिकतामा मिसाएर नेताहरुले स्पोर्टस् जुत्ताका तुना कस्न थाले भने तपाईं मान्नुस्, गाउँमा चुनाव आयो ।

हामी केही दिनदेखि मोरङका गाउँहरु घुम्दै छौं । माल्दिभ्सको नक्सा अलिअलि सम्झाउने गरी लमतन्न फैलिएको सुन्दरहरैचा गाडीमै घुमिसक्न पनि  दिनभरि लाग्छ । कांग्रेस नेता डा. शेखर कोइराला एडिडासको जुत्ता लगाएर अस्तिदेखि उत्तरी सुन्दरहरैचाको फन्को लगाएका लगायै छन् । आजै शनिबार पनि उनी गछिया पुगेर कार्यकर्ता फुल्याउँदै थिए ।

यो क्षेत्र अर्थात मोरङ ६ मा नेपाली कांग्रेसले कहिल्यै चुनाव जितेको छैन । अनि आफ्नै पार्टीभित्रका दुई समूहबीच काटोछिनो छ ।

केन्द्रमा सत्तादेखि चुनावसम्मका, अनि चुनावदेखि सत्तासम्मका गठबन्धनको गाँठो जति कसे पनि स्थानीय कांग्रेस कार्यकर्ता भने आन्तरिक खिचातानीमा छन् । अझ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चालु सत्ता गठबन्धन १० वर्षसम्म जानसक्छ भनिदिएपछि उनीहरु पार्टी नेतृत्वसँग उग्र रिसाएका छन् । शेखरलाई यसैको पीर छ । देउवा, प्रचण्ड, माधव नेपाल आज विराटनगर आएर गठबन्धनका कार्यकर्ता फकाउदै गर्दा शेखर सुरुमा आफ्नो क्षेत्रकै गछियामा थिए। उनको काम पनि उही, कार्यकर्ता फकाउने।

उनको पीर यत्तिमा सकिँदैन । स्थानीय चुनावका बेला कांग्रेस कार्यकर्ताबीच टिकटलाई लिएर ठूलै लफडा भएको थियो । त्यसमाथि सत्ता गठबन्धनका लागि भएका टिकटहरु छाड्नुपर्ने भयो । विचार, सिद्धान्त फिटिक्कै नमिल्ने शक्तिसँग केवल संख्या र टाउकाहरुका लागि गठजोड गरेर कार्यकर्ताको अपमान गरेको उनीहरुको भनाइ छ । यो त्यही क्षेत्र हो, जहाँ कांग्रेसका कार्यकर्तालाई प्रदेशसभाको टिकट नदिएर माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँलाई टिकट दिइएको छ ।

उम्मेदवारहरुलाई यसैको सफाइ दिँदादिँदै हैरानी छ । जितेर सांसद भइयो भने के गर्ने भन्ने त दोस्रो कुरा भइदियो मोरङमा । उत्तरी तामाङ गाउँमा शेखर पुग्दा कांग्रेसका सन्तबहादुर श्रेष्ठले सामुन्नेमा उभिएर ‘जय वाम गठबन्धन’ भन्दै उडाए । युवा शुभेच्छुक प्रदीप तामाङले उनकै अघिल्तिर मुख फोरे, ‘अबदेखि म जय नेपाल भन्दिनँ ।’

शेखर वाल्ल परे । उनीहरुलाई के जवाफ दिने ? स्थानीय चुनावभन्दा ठिक अघिसम्म उनी आफैं गठबन्धनका नाममा पार्टी राजनीतिमा करिअर देखेका कार्यकर्तालाई तेजोबध गरिएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरिरहेका थिए । चुनावमा गठबन्धन गरेकैले कांग्रेस पहिलो शक्ति बनेको थियो । जबकि, लोकप्रिय मत आफूले धेरै पाएको एमालेको दाबी छ ।

अझ पाँच वर्षअघिको ०७४ को प्रतिनिधिसभा चुनावमा शेखर आफैं एमाले र माओवादीको गठबन्धनका सामू ६७५ मतले पराजित भएका थिए । उनी र गगन थापासहितको समूह चुनावपूर्व गठबन्धन बनाउन नहुने ठान्छ । सुन्दरहरैचाका कार्यकर्ताहरु पनि त्यस्तै ठान्छन् । तर यही सोचसहित चुनावी मैदानमा गए हारजित झन् अनिश्चित बनिदिन्छ ।

शेखरले प्रदीप तामाङलाई सोधे, ‘जय नेपाल नै भन्ने हो नि । किन नभन्ने र ?‘

प्रदीपले भने, ‘कांग्रेस हौं पनि भन्ने । कहिले कोसँग, कहिले कोसँग टाँसिने भएपछि किन हामीले जय नेपाल भन्दै पार्टी बनाउन लाग्ने ? पसिना बगायो, बगायो, फाइदा अर्कैले उठाउँछ ।’

स्थानीय कार्यकर्ता भगवान मोक्तानको आँगन छेउमा लिचीको रुख कांग्रेसकै चुनाव चिह्न जस्तै झ्याम्म फैलिएको थियो । त्यही लिचीको रुखमुनि प्लास्टिकको कुर्सीमा बसेर शेखरले कांग्रेसका कार्यकर्ता र शुभेच्छुलाई थुम्थुम्याउन खोजे । उनले भने, ‘हाम्रो रोजाइ थिएन गठबन्धन । तर राजनीतिक अस्थिरताको खेल समाप्त पार्न, देशमा असल शासन ल्याउनका लागि हामी गठबन्धनमा जानुपर्यो । हामीले संविधान नै यस्तो बनायौं, जहाँ कुनै पनि दलले एक्लै बहुमत ल्याउने अवस्था नै छैन । के गर्नु त ?’

यो गाउँसमेत पर्ने मोरङ क्षेत्र नम्बर ६ मा शेखरको मुख्य प्रतिष्पर्धा एमालेका लालबाबु पण्डितसँग छ । पहाडी जंगलसँग जोडिएको सुन्दरहरैचाको तुलनात्मक दुर्गम यो क्षेत्र एमालेको गढ मानिन्छ । ०४८ देखि हर्कमान तामाङले यहाँ निरन्तर चुनाव जित्दै आए । बीचमा एकपल्ट माओवादीले जितेबाहेक सधैं एमाले पकडमा छ यो गाउँ । यसपल्ट माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य प्रदेश ६ (१) तर्फ प्रदेशसभा सदस्यका उम्मेदवार छन् । प्रदेश (२) मा कांग्रेसका केदार कार्की उठेका छन् ।

माओवादीले प्रदेशसभा र स्थानीय तह चुनावको टिकट पाएकामा रुष्ट कार्यकर्ता थुम्थुम्याउन शेखरलाई जति गाह्रो देखिन्छ, त्यति नै गाह्रो कांग्रेसका कार्यकर्ता भक्ति सिटौला र शिवप्रसाद ढकालबीचको लडाइँ साम्य पार्न ।

ढकाल ०७४ को नगर चुनावमा मेयर जितेका नेता हुन् । शेखर पक्ष उनलाई यहाँ दोहोरिएर जित्नबाट रोक्न चाहन्थ्यो, जसको नेतृत्व भक्ति सिटौलाले गरेका थिए । सिटौला सुन्दरहरैचा कांग्रेस नगर पार्टी कार्यसमितिका सभापति हुन् । देउवा पक्षका ढकाललाई यसपल्ट पनि टिकट दिन सुरुमा राष्ट्यि सभा सदस्य रमेशजंग रायमाझी कस्सिएर लागे । तर अमृत अर्यालजत्तिकै हैसियत बनाएर आफूलाई खतरा बन्न लागेको भन्दै रायमाझी पनि असहयोग गर्न लागे । ढकाललाई चौतर्फी असहयोग भयो । उनी दोस्रोपल्ट मेयर बन्न पाएनन् । चुनाव एमालेले जित्यो ।

आज शनिबारको कार्यक्रममा तिनै ढकालले गछिया पुगेर भडास पोखे । ‘अरु पार्टीसँग मिल्ने, आफ्नै पार्टीभित्र सिध्याउन लाग्ने तत्वहरु यहीँ छन्,’ उनले शेखरका अघिल्तिर भाषण गरे, ‘आफ्नैलाई छुरी धस्ने साथीहरुलाई लिएर कसरी एकमत र एकमनले चुनावमा जान सकिन्छ ?’

उनले थपे, ‘यसरी कसरी जय नेपाल भन्न सकिन्छ ?’

यसअघि बिहीबार तामाङ गाउँमा लिचीका हाँगा समाउँदै बोलेका कांग्रेस सुन्दरहरैचा नगर सभापति भक्ति सिटौलाले शेखरलाई आदर्शवादी नेता भन्दै सुरुमा खुसी पारे । त्यसपछि धडाधड असन्तुष्टिहरु राखे । उनका प्रतिष्पर्धी शिवप्रसाद ढकाल भने त्यस दिन अनुपस्थित रहे ।

कांग्रेस यही मनोमालिन्यका बीच प्रतिनिधिसभा र प्रदेश चुनावमा जाँदैछ । कांग्रेस मोरङ ६ का क्षेत्रीय सभापति देवराज तामाङले गठबन्धनको बाध्यतालाई अवसरमा बदल्न आग्रह गर्दै गाउँभरि साइनो लगाउँदै भोट मागे ।

यो खालको बाध्यतामा नेताहरु किन फसे ? जबकि हामीले पाँच वर्षअघि यही माओवादीलाई एमालेसँग मिलेर भोट माग्न आएको देख्यौं । अहिले उ कांग्रेससँग छ । एमालेका दुई पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल कांग्रेसकै भोटको सहारामा चुनाव जित्ने ध्याउन्नमा छन् । अघिल्लो चुनावमा प्रतिष्पर्धी लालबाबु पण्डितसँग ६७५ भोटले मात्रै हारेका शेखरलाई पनि यसपल्ट माओवादी समर्थनले केही होला भन्ने छ कि ?

हामीले यो प्रश्न राख्यौं मोरङमा भेटिएका पत्रकार धर्मेन्द्र झासँग । उनी भन्छन्, ‘अब नेपालमा धेरै समय कुनै पनि पार्टीले एक्लै चुनाव लड्ने हिम्मत गर्न सक्दैन । पहिल्यै संविधानमा यस्तो प्रणाली बनेको छ । त्यसमाथि समानुपातिकको संख्या धेरै भयो ।’

हामीले विराटगरबाट फाइल गरेको पहिलो रिपोटिङमा भनेझैं, शेखर कोइरालालाई अरु चुनौती झेल्न सजिला होलान्, तर आन्तरिक पर्खाल र तगारा ठूला छन् । कांग्रेस नेताहरुले आफ्नाबाहेक बाँकी सबैसँग गठबन्धन गरेका छन् । कार्यकर्ताहरु भने पार्टीभित्रै एक अर्कालाई जित्न सके अरु दल हराउन गाह्रो छैन भन्ने आकलनमा छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?