+
+

दियो बाली साँझको…

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १७:५९

दियो अर्थात् उज्यालोको प्रतीक । पौराणिक मान्यता के छ भने दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दीपावलीको पर्व भनिन्छ ।

दीप र आवली दुई शब्द मिलेर बनेको छ, दीपावली । दीप अर्थात् बत्ती । आवली अर्थात् पंक्तिबद्ध । दीपलाई जब पंक्तिबद्ध बनाएर बालिन्छ दीपावली बन्छ ।

तिहारमा दियो बाल्ने परम्परा कसरी सुरु भयो त ? यस सम्बन्धमा एक यस्तो पौराणिक कथा छ–

त्रेतायुगमा भगवान श्रीराम, लक्ष्मण र सीताले चौध वर्ष वनबास पूरा गरेर घर फर्किए । त्यसबखत कात्तिक महिनाको कृष्ण पक्षको औंसी थियो । यो अँध्यारो रातमा घर फर्किएका श्रीराम, लक्ष्मण र सीताको स्वागतार्थ अयोध्यावासीले प्रत्येक पाइलामा पंक्तिबद्ध रुपमा दियो जलाएका थिए । त्यही बेलादेखि दियो बाल्ने प्रचलन सुरु भएको मानिन्छ । तिहारलाई दीपावली भन्नुको अर्थ पनि यही हो ।

अर्को धार्मिक कथन के पनि छ भने यस रातमा दियो बालेर घरलाई उज्यालो बनाइरहँदा माता लक्ष्मी प्रसन्न हुनेछिन् । घरमा सुख, शान्ति र समृद्धि भित्रिनेछ । यही मान्यतालाई शिरोधर गर्दै तिहारमा घरआँगनमा दियो बत्ती बाल्ने गरिन्छ ।

यद्यपि अहिले दियोबत्तीको धेरै विकल्प छन् । मैनबत्तीदेखि बिजुलीसम्मले घरलाई झिलिमिली बनाउने गरिएको छ । त्यसो त तिहार नजिकिएसँगै यस्ता झिलिमिली बत्तीको कारोबार पनि उत्कर्षमा पुग्ने गर्छ । विभिन्न डिजाइन र मूल्यका बिजुली बजारमा उपलब्ध हुने गर्छ । यसमा विद्युतीय दियोपाला, कृत्रिम मैनबत्तीदेखि थरीथरीका बिजुली पर्छन् । तिहारमा घर उज्यालो बनाउनुपर्छ भन्ने मान्यताअनुसार नै झिलिमिली बिजुलीको कारोबार पनि उकासिएको हो ।

यद्यपि धार्मिक विधिअनुसार भने दियो पाला नै महत्वपूर्ण मानिन्छ । लक्ष्मीको पूजास्थल, घरको मूलढोका र घरको सम्मुखमा दियोबत्ती बाल्नुपर्ने मान्यता छ । यसैगरी कुलदेवता, इष्टदेवता आदिको नाममा पनि दियो जलाउने गरिन्छ ।

दीपावलीमा हुन्छ मातालक्ष्मीको आगमन

भनिन्छ, मातालक्ष्मीलाई उज्यालो घर असाध्यै मनपर्छ । अँध्यारो घर उनलाई पटक्कै मन पर्दैन । मातालक्ष्मी त्यही घरमा बास गर्छिन्, जुन घर सफा हुनुका साथै उज्यालो पनि हुन्छ । त्यसैले दीपावलीमा लक्ष्मीमाताको स्वागतमा पनि घरलाई पूरै रंग्याउने गरिन्छ । चारैतिर लिपपोत गरेर घरलाई सुन्दर बनाउने गरिन्छ र घरै झिलिमिली हुने गरी चारै कुनामा माटोले बनेकै दियो बालिने गरिन्छ ।

सावधानी

दियोबत्ती जलाउँदा केही कुरामा भने ख्याल गर्नुपर्छ । काठको घरमा दियोबत्ती जलाउँदा त्यसले आगलागी जस्तो दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले सुरक्षित ढंगले जलाउनुपर्छ । साथै, दियो बत्ती जलाएको स्थानमा बालबच्चा खेल्ने र उनीहरुको लुगाफाटोमा आगो सल्किने जोखिम हुन्छ । त्यसैले बालबच्चा भएको घरमा विशेष ध्यान दिनुपर्छ ।

दियोबत्ती मात्र होइन, बिजुली प्रयोग गर्दा पनि सर्ट भई आगलागी वा अन्य दुर्घटना हुने जोखिम हुन्छ । यसैले तिहारको बेला दियो बत्ती जलाउँदा होस् वा बिजुली जडान गर्दा निकै चनाखो र सतर्क हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?