झन्डै २० वर्ष अगाडि युवा मेडिकल अधिकृतको रूपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिंदै थिएँ । एक दिन सिनियर कन्सल्टेन्ट डाक्टरबाट राउण्डमा प्रश्न सोधियो- हाल डेंगु कुन देशमा फैलिरहेको छ ? हामी सबैजना अनभिज्ञ देखिएको अहिले झैं लाग्दछ ।
सो समयमा श्रीलंकामा डेंगु फैलिरहेको थियो भने नेपालमा पुष्टि भइसकेको थिएन । म जापान अध्ययनको लागि जानु एकदिन मात्र अगाडि अर्थात् सन् २००४ मा नेपालमा पहिलो पटक डेंगु पुष्टि भएको एक राष्ट्रिय दैनिक पत्रिकामा समाचार प्रकाशित भएको थियो ।
त्यसपछि विशेषतः लामखुट्टेको लागि उपयुक्त मानिने तराई क्षेत्रमा हरेक वर्ष जस्तो डेंगु उल्लेखनीय संख्यामा देखिंदै आइरहेको थियो । तर आजको मितिसम्म -सन् २०२२) आइपुग्दासम्म भने डेंगुले तराईबाट पहाड छिचोल्दै हिमाली क्षेत्रसम्म पुगेको सरकारी तथ्यांकले देखाउँछ ।
अर्थात् डेंगुले नेपालै ढाकिसकेको अथ्र्याउन सकिन्छ । यो त एउटा संक्रमणले सन् २००४ देखि २०२२ सम्मको यात्रा पूरा गर्दै गर्दा अत्यन्त फरक भौगोलिक स्थानमा सिˆट गरेको/गर्न सकेको वा आफूलाई अनुकूल बनाएको सारांश इतिहास मात्र हो ।
कुनै एक समय अवधि र निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिंदै आइरहेका यस्ता थुप्रै कीटजन्य सरुवा रोगहरू सोही क्षेत्र वा स्थानमा मात्र सीमित भएको देखिंदैन । नेपालमा देखिंदै आइरहेका मलेरिया, डेंगु, चिकनगुनिया, कालाज्वर, स्क्रब टाइफस, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरू तराईबाट पहाडहुँदै हिमालतिर तीव्र गतिमा बढिरहेका छन् । यी रोगहरू फैलँदै जानुमा यसका चालक अर्थात् ‘भेक्टर’ नै मुख्य जिम्मेवार मानिन्छ ।
भेक्टरको फैलावट वा विस्तारलाई जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण तथा संक्रमण आफैं नयाँ स्थान र फरक परिस्थितिमा पनि (हावापानी) रहन सक्ने क्षमता विकास गर्ने जस्ता कारणहरूसँग जोडेर हेर्ने गरिन्छ । विभिन्न अनुसन्धानका नतिजाले पनि ‘भेक्टर’ फैलनुमा यी कारण नै रहेका बलियो आधार प्रमाणित गरेका देखिन्छन् । विभिन्न प्रजातिका लामखुट्टे, भुसुना, किर्ना आदि माथि उल्लिखित रोगहरू फैलाउने मुख्य भेक्टर हुन् ।
सीमित ठाउँमा देखिंदै आइरहेका संक्रमण फरक ठाउँमा पनि देखिनुमा दुई मुख्य कारण मान्न सकिन्छ । पहिलो आयातित भएर र दोस्रो भनेको भेक्टर नै पुग्नु हो । केही वर्ष अगाडिसम्म तराईका १३ जिल्लामा सीमित कालाज्वर हाल पहाडहुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेको छ ।
नेपालमा पहिलो पटक सन् २०११ मा कालाज्वर तराईमा मात्र सीमित नभएर पहाडतिर फैलँदै गइरहेको मैले अनुसन्धानमूलक लेख प्रकाशित गरेको थिएँ । सो लेख प्रकाशित भएपछि नेपालका पहाडी इलाकाहरूमा ‘कालाज्वर जस्ता लक्षण’ भएका भनिएका बिरामीहरूको अग्रिम पहिचान र उपचार गर्न सहज हुन पुगेको थियो र त्यो अहिले पनि भइरहेको छ । बिरामीले तराई वा भारत भ्रमण गरेको इतिहास नभएकोले कालाज्वर आयातित नभएर संक्रमण फैलाउने ‘भेक्टर’ नै पुगेको देखिन्छ ।
मेरो अनुसन्धानले कालाज्वर हिमाली भेगमा समेत देखिएको नतिजा प्रकाशित गरेको थियो । सन् २००९ सम्म तराईबाट पहाडी इलाकासम्म पुगेको कालाज्वर सन् २०१९ सम्म पुग्दा हिमाली भेगसम्म नै पुगेको देखिन्छ ।
हाल डेंगुले नेपालको इतिहासमा नै ठूलो महामारीको रूप लिएको छ । यो लेख लेख्दै गर्दा डेंगुको प्रभाव अझै मत्थर भइसकेको छैन । सन् २०१० बाट २०१९ सम्म आइपुग्दा २० गुणा र सन् २०१९ बाट २०२२ सम्म आइपुग्दा झन्डै साढे दुई गुणाले (अझै बढ्ने क्रम जारी छ) संक्रमितको संख्या बढेको देखिन्छ ।
मृत्युदर आजको मितिसम्म झन्डै नौ गुणाले (सन् २०१९ बाट २०२२) बढेको छ । डेंगुको यो महामारी अन्तिम भने हुने छैन र यही कुरा लेखकले सन् २०१९ को महामारीमा पनि भनेको थियो । तर दुर्भाग्यवश, हामीले विगतबाट पाठ सिकेको देखिंदैन ।
डेंगुले उचाइ लिन सुरु गर्दा नै भाइरस फैलाउने लामखुट्टेको नियन्त्रण वा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको भए आज घर-घरमा डेंगुका बिरामी हुने थिएनन् । र महत्वपूर्ण भनेको यति धेरैले मृत्युवरण गर्नुपर्ने स्थिति समेत आउने थिएन । यतिका महिनासम्म महामारी मच्चिंदा पनि हालसम्म डेंगुको ‘सेरोटाइप’ पत्ता नलाग्नु अर्को विडम्बना मान्न सकिन्छ ।
डेंगुको सेरोटाइप थाहा पाउन सकेको भए संक्रमणको अवस्था अथवा डेंगुको कडापनको बारेमा अनुमान गर्न सहज हुनेथियो र सोही अनुसार अस्पतालमा देखिन सक्ने चापको अनुमान र पूर्व तयारी पनि गर्न सकिने थियो । किनभने डेंगुको सेरोटाइप बदलिएर कसैलाई पुनः संक्रमित गरे डेंगु कडा हुनसक्दछ ।
हालको महामारीमा डेंगु मात्र होइन ‘डेंगु जस्तो लक्षण’ भएका तर डेंगु भाइरस पुष्टि हुन नसकेका बिरामी पनि धेरै देखिए । यो हाम्रो अगाडि अर्को चुनौतीको रूपमा खडा भएको देखिन्छ । तर यसको निदान वा खोजीनिती गर्ने जाँगर भने कसैमा देखिंदैन ।
‘डेंगु जस्तो लक्षण’ भएका अज्ञात रोगको उपस्थिति अर्को लामखुट्टे फैलने वर्ष/सिजनमा फेरि नदेखिएला भन्न सकिंदैन । ‘डेंगु जस्तो लक्षण’ अज्ञात रोगले बिरामीहरूलाई अत्यधिक शारीरिक पीडा दिने वा निरन्तर उच्च ज्वरो ल्याउने गरेको देखिन्थ्यो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने ज्वरोको कारण -संक्रमण) पत्ता नलागेका बिरामीको संख्याले तालिकामा अग्रणी स्थान ओगटेको देखिन्छ । अर्थात् ज्वरो छ तर निदान छैन । निदान विना सही उपचार, परामर्श र फैलनबाट रोक्ने उपाय थाहा हुँदैन ।
भारतसँग नेपालको झन्डै १८०० किमि खुला सिमाना छ र भारतमा देखिंदै आइरहेका कतिपय कीटजन्य रोगहरू नेपाल भित्रिए नभित्रिएको बारेमा राम्रो जानकारी अझै देखिंदैन । यस्ता कीटजन्य रोगहरू अज्ञात भइदिंदा पहाड र हिमालसम्म पुग्दा पनि अज्ञात भइदिने गर्दछ ।
हालको डेंगु महामारीमा ‘डेंगु जस्तो लक्षण’ भएका बिरामीहरूको संख्या उल्लेखनीय बढेको देखिनु यसैको ज्वलन्त उदाहरणको रूपमा पनि लिन सकिन्छ । रोग अज्ञात भइदिंदा एन्टिबायोटिकको अनावश्यक जथाभावी प्रयोग बढ्ने जोखिम पनि उच्च हुने गर्दछ ।
तसर्थ, कीटजन्य रोगको प्रस्थानविन्दु विशेषतः उष्ण प्रदेशीय (ट्रोपिकल) क्षेत्र हुने हुँदा सो ठाउँमा रोगको विस्तृत अवस्था थाहा पाउन अति जरूरी हुनेछ । यसको निर्विकल्प उपाय भनेको विस्तृत अनुसन्धान नै हो । यसो हुनाले, नेपालमा सुविधासम्पन्न अध्ययन तथा अनुसन्धान गर्न सक्ने संस्थानको परिकल्पना गरेको थियो र अझै छ पनि । यद्यपि हालसम्म त्यस्तो हुनसकेको भने छैन ।
नेपालमा तराई, पहाड र हिमाल अर्थात् फरक फरक मौसम/जलवायु भएकोले पनि अनुसन्धान गर्न सके संक्रमण बारेमा धेरै चाखलाग्दा जानकारी/नतिजाहरू पाउन सक्दछौं जुन विश्वको लागि नै उदाहरणीय र उपयोगी हुन सक्दछन् ।
अन्त्यमा, पछिल्लो केही वर्षयता कीटजन्य रोगले नेपालमा व्यापक ‘भौगोलिक सिˆट’ गर्दै गइरहेको देखिन्छ । यो ‘भौगोलिक सिफ्ट’ भन्नाले तराईबाट पहाडहुँदै हिमालसम्म पुगेको भन्ने हो । संक्रमणको ‘भौगोलिक सिफ्ट’ को बारेमा अनभिज्ञ भए रोग पहिचानमा ढिलाइ, सही उपचारमा समस्या, मृत्युदर बढ्ने र रोगबाट बच्ने उपाय थाहा नहुँदा महामारीको सामना समेत गर्नुपर्ने अवस्थाको सिजना नहोला भन्न सकिंदैन । ‘नेपाली सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)’ संस्थाको स्थापना गर्न सके नयाँ-नयाँ रोगको सीधै पहिचान र महामारी नियन्त्रणमा धेरै हदसम्म प्रभावकारी हुनथियो ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा.पुनसँग अनलाइनखबरकर्मी पुष्प चौलागाईंले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4