+
+
प्रधानमन्त्री कप क्रिकेट :

चोटमा पाएको खुसी

नमिता दाहाल नमिता दाहाल
२०७९ कात्तिक १४ गते २०:३७
Photo Credit : CAN

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिममाथि ६९ रनको प्रभावशाली जित निकाल्दै गर्दा गण्डकी प्रदेशका कप्तान विपिन खत्री निकै खुसी देखिन्थे ।

२ ओभर बलिङ गरेपछि खेल आधा पनि नहुँदै उनी मैदानको बीचमा फिल्डिङ गर्ने क्रममा बलमाथि चिप्लिन पुगे र मैदानमै ढले ।

सहयोगीले उनलाई मैदान बाहिर लगे । उनी मैदान बाहिरिए लगत्तै उनको टिमको राम्रो रिदम खलबलियो ।

टिमले रन खान थालेपछि उनी खुट्टामा पट्टी बाँधेरै मैदान पसे । खुट्टा सुनिए पनि उनी रिस्क लिएर मैदान पसे । प्रशिक्षक रिजन प्रजु तथा मेडिकल टिमले आराम गर्न भन्दा पनि उनी मैदान प्रवेश गरे ।

खुट्टामा चोट बोकेर मैदान प्रवेश गरेका विपिनले टिमलाई पुन सम्हाले । आफै स्पिन अट्याकमा आए २२.२ ओभरमा सुदूरपश्चिमका ओपनर ब्याटर गजेन्द्र बोहोराको विकेट लिए ।

यो विकेट नै खेलको टर्निङ बन्यो, किनभने सुदूरले दोस्रो विकेटका लागि ९८ रनको ब्याटिङ साझेदारी गरिसकेको थियो । ‘गजेन्द्रको विकेट लिएपछि खेलमा हामी फर्कन सक्छौं भन्ने लाग्यो’, विपिनले खेल जितेपछि पत्रकारसँग भने, ‘बाहिर बसेर हेर्दा खेल हाम्रो हातबाट गयो जस्तो लाग्यो । त्यसपछि म भित्र पसेँ र २३ औं ओभरमा गजेन्द्रको विकेट पनि गयो ।’

विपिन खत्री ।

मैदानमै घाइते हुँदा उनलाई खुट्टा नै भाँचिएको हो कि जस्तो लागेको थियो, तर त्यस्तो थिएन । ‘हिँड्न सकिरहेको थिइनँ । खुट्टा सुनिएको देख्दा अब खुट्टा भाँचियो भन्ने लागेको थियो, तर बाहिर मेडिकलमा आएर बुझ्दा त्यस्तो केही भएको छैन,सुनिएको मात्र हो भने पछि म फेरि मैदान छिरें,’ उनले भने ।

गण्डकीका कप्तान मात्र नभएर आजको खेलमा गेम चेन्जर नै बनेका उनले त्यसपछि लगातार तीन विकेट झारे । उनले २६.४ ओभरमा बसन्त खत्रीलाई ९ रनमा एलबीडब्ल्यूको धरापमा पारे । त्यसपछि २८.३ ओभरमा दीपक टमटालाई शुन्यमै फर्काएका उनले अन्तिम विकेट लिने क्रममा २८.५ ओभरमा नारायण जोशीलाई खाता नै खोल्न दिएनन् ।

छैटौं विकेटका रुपमा उनले नारायणलाई बोल्ड गर्दा सुदूरपश्चिमले १२० रन मात्र बनाएको थियो ।

सुवास भण्डारीले २ तथा अभिषेक बस्नेत र कमल परियारले १–१ विकेट लिए र सुदूरपश्चिम ३२.४ ओभरमा १३९ रनमा अल आउट भयो । खेल गण्डकीले ६९ रनले जित्यो ।

विपिनको चोटबारे प्रशिक्षक पनि चिन्तित थिए । उनले भने, ‘हामी पनि चिन्तित थियौं हामीले मैदान नछिर भनेकै हो तर उनी छिरे । खेल पनि जिताए ।’

पहिलो जित पछि मनोबल उच्च

छैटौं प्रधानमन्त्री कपमा गण्डकीको यो पहिलो खेल हो । पहिलो खेलमा नै एक फराकिलो जित निकाल्दा आफूहरुमा मनोबल उच्च बनेको कप्तान विपिनले बताए ।

‘पहिलो खेलमा हामीले एक बलियो प्रतिस्पर्धीलाई हराएका छौं । उहाँहरु नवौं राष्ट्रियमा तेस्रो हुनुभएको टिम हो । राम्रो टिम हो हामीले केही समय यता कुनै पनि प्रतियोगितामा जित हात पार्न सकेका थिएनौं यो जितले हामीमा मनोबल उच्च बनेको छ,’ कप्तान विपिनले भने ।

आजको खेलको उत्कृष्ट खेलाडी बनेका अर्जुन कुमाल पनि पहिलो खेलमा सफलता हात पार्दा मनोबल उच्च रहेको बताउँछन् । उनले भने, ‘पहिलो खेलमा जित्यौं अगाडिको खेलहरुमा पनि पूरै ओभर खेलेर टिमलाई जिताउने कोसिस गर्नेछु ।’
सुदूरपश्चिमविरुद्ध गण्डकीका लागि उनले निकै संयमित ब्याटिङ गरेका थिए । उनले १०५ बल खेल्दै १० चौकाको मद्दतमा ६३ रन बनाए ।

स्पिन र ओपनर चल्दा बलियो बन्यो गण्डकी

गण्डकीको टिम पछिल्ला केही प्रतियोगितामा कमजोर देखिए पनि स्पिनरको भने बलियो पकड भएको टिम हो । आज पनि तीन स्पिनर चल्दा एक प्रभावशाली जितको हदकार बन्यो टिम गण्डकी । अफ ब्रेक स्पिनर सुभास भण्डारी र ब्याटिङ अलराउण्डर अभिषेक बस्नेतले टिममा बलिङतर्फ राम्रो पकड जमाए ।

त्यस्तै ओेपनर ब्याटर अर्जुन कुमालको संयमित ब्याटिङ गरे । गण्डकीका दुई ओपनर ब्याटर अर्जुन र समिरले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरे । जसले पछिल्ला ओभरमा गण्डकीलाई आक्रामक बन्न सहज भयो ।

‘हामीले बलिङ साझेदारी राम्रो बनाउनुपर्ने थियो । जसमा हामी तीन स्पिनरले राम्रो साझेदारी गर्‍यौं । जसका कारण खेल हाम्रो पक्षमा आयो,’ कप्तान विपिनले बलिङको बारेमा भने । उनले ओपनर ब्याटरको पनि तारिफ गरे, ‘ओपनर ब्याटरहरु सम्हालिएर खेल्नाले हामीलाई पछिल्लो ओभरमा हान्न सजिलो भयो र हामी खुल्न सक्यौं ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?