+
+

मेरो उम्मेदवारी किन ?

म पैसा खर्च नगरी निर्वाचन लड्छु । एजेण्डा र प्रचार सामग्री सामाजिक सञ्जालबाट मतदातासामु पुर्‍याउँछु । प्रतिनिधिसभामा गएपछि नीतिगत काम गर्नेछु ।

डा.सचिन घिमिरे, ललितपुर–१, उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी डा.सचिन घिमिरे, ललितपुर–१, उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
२०७९ कात्तिक १६ गते १९:०५

म एक्लै आफ्नो उम्मेदवारीको प्रचारप्रसार अभियानमा छु । कुनै टोली लिएर हिंडेको छैन । जहाँ गयो, सद्भाव र शुभेच्छा प्रकट गर्नेहरू भेटिन्छन् । म जहाँ गए पनि एक्लै हुन्न भने किन प्रचारप्रसारका क्रममा टोली लिएर हिंड्नु ?

निर्वाचन प्रचारप्रसारका क्रममा मेरो ‘हबारू’ मोडेल हो । धरानका हर्क साम्पाङ, काठमाडौंका बालेन्द्र शाह र पहिले मकवानपुरका नेता रूपचन्द्र विष्टले खर्च नगर्ने, आफ्नो एजेण्डाले मतदातालाई आकर्षित गर्ने शैली अपनाए । मैले त्यो शैलीलाई हबारू (हर्क, बालेन र रूपचन्द्र) मोडेल भन्ने गरेको छु र त्यही शैली अपनाएर हिंडेपछि कुनै पनि टोली चाहिंदैन ।

म एक ठाउँबाट मोटरसाइकलमा अर्को ठाउँमा जाँदा मात्रै एक्लै हुने हो, नत्र कहीं पनि एक्लो हुन्न । अहिले दक्षिण ललितपुरका ग्रामीण भेगहरू घुम्दै हिंडेको छु । दक्षिण ललितपुर एक फन्को लगाएर शहरी भेगमा आउँछु र फेरि एकपटक घुम्छु ।

नयाँ मनोविज्ञान

गाउँघरतिर घुम्दा अधिकांश नयाँ मानिस आउनुपर्छ भन्ने मनोविज्ञान देखें । ठूला दलहरूले केही दिनअघि कार्यक्रम गरेका रहेछन् । उनीहरूले भेला पारेका बाहेक गाउँका अधिकांश मानिस आएनन् भन्ने गुनासो रहेछ ।

यसअघि निर्वाचित भएका तर जनताको आकांक्षा नबुझेकाहरूमाथि चरम आक्रोश छ । अधिकांश नेतृत्वले भोलिको दिनमा परिवर्तन दिन्छु भनेका थिए र अहिले पनि भनिरहेका छन् । भोलि परिवर्तन दिन्छु भन्नेहरूले आज परिवर्तित भएर देखाउन सकेनन् ।

ठूला र पुराना दलहरूको निर्वाचन प्रचारप्रसार शैलीमा मेरो ठूलो आपत्ति छ । हाम्रो नेतृत्वले कहिल्यै पनि जनतासँग अन्तरसंवाद गरेको, जनतासँग दोहोरो कुरा गरेको, जनताको आक्रोश समाधान गर्न सुझबुझ ढंगले काम गरेको देखिएन । जनताले सोधेको प्रश्नको उत्तर दिएको र जनतासँग दोहोरो संवाद गरेको पनि भेटिएन ।

यान्त्रिक किसिमको संवादमा रमाउने उनीहरूको शैली रह्यो । मतदाताको हातमा घोषणापत्र थमाउने, नमस्कार गर्ने र हिंड्ने काम मात्रै भयो । समाजका अनेक तप्का र तहका मानिसहरूबीच आफूलाई घुलमिल गराएर आफ्नो नेतृत्वको औचित्य प्रमाणित गर्नुपर्ने अवसरबाट उनीहरू चुके ।

उनीहरूले चुनावी प्रक्रियालाई लामो समयदेखि एउटा विकृत दिशामा लिएर गए । मान्छे, गाडी, मोटरसाइकल नदौडाइकन चुनाव प्रचार नै हुँदैन भनेर प्रचार शैलीलाई भ्रष्टाचारमुखी बनाए । कसैले पनि सिर्जनशील ढंगले फरक किसिमले प्रचार गर्‍यो भने प्रचार नै होइन कि भन्ने ढंगले व्यवहार भयो । त्यही शैलीबाट नै भ्रष्टाचारको मनोविज्ञान सुरु भयो ।

जनताले निर्वाचित गरेर कुर्सीमा पुगेपछि मात्रै परिवर्तन दिने होइन कि, आजको दिनबाट, प्रचार प्रक्रियाबाट नै राजनीतिलाई स्वच्छ बनाउनुपर्छ । मलाई कैयौंले अलि खर्च गरेर प्रचारप्रसार गर्नुपर्छ भनेर सल्लाह दिएका छन् । समूह बनाएर हिंड्नुपर्‍यो दाइ भन्नेहरू छन् । त्यसको बाबजुद एउटा चट्टानी अडान लिएर ‘मैले एक रुपैयाँ पनि पैसा खर्च गर्दिनँ र निर्वाचन पनि लड्छु’ भनेको छु ।

म खर्च गर्दिनँ

प्रचारप्रसारका क्रममा मोबाइल फोनमा हुने रिचार्ज कार्ड, बाइकमा हाल्ने पेट्रोल मात्रै मेरो खर्च हो । डुल्दा खाना खर्च हुन्छ, त्यो बाहेक अरू खर्च गर्दिनँ । मलाई एकजना शुभचिन्तकले चिया खुवाउन आग्रह गर्नुभयो ।

मैले ‘बरु चुनावपछि खाजा खाऔंला, अहिले चियामा पनि खर्च गरेर मतदातालाई प्रभावित पार्‍यो भन्ने सन्देश प्रवाह गर्दिनँ’ भनेर आग्रह अस्वीकार गरें । आफ्नो कामका बाहेक अरूलाई मैले एक रुपैयाँ पनि खर्च गर्दिनँ ।

मैले आफ्नो एजेण्डा र प्रचार सामग्री सामाजिक सञ्जालबाट नै आम मतदातासामु पुर्‍याउँछु । टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको छु । मैले विद्यावारिधि गरेको छु र प्रतिनिधिसभामा गएपछि सार्वजनिक सवालमा नीतिगत रूपमा काम गर्नेछु भन्ने मेरो प्रतिबद्धता हो ।

मतदाताहरूले मेरो अवधारणा र एजेण्डा मागेमा सामाजिक सञ्जालमा गएर हेर भनेर लिंक पठाइदिने गरेको छु । उनीहरूले आफैं बुझ्न सक्छन् । ग्रामीण विद्युतीकरणका कारण अहिले धेरै ठाउँमा बिजुलीका साथसाथै मोबाइललगायत सञ्चारका सामग्री पुगेका छन् । ललितपुरकै ९७ प्रतिशत ठाउँमा बिजुली पुगेको छ र त्यहाँका मतदाताको हातमा मोबाइल छ । हामीले यसरी प्रचार गरिरहेका छौं ।

हामी एकअर्कामा आत्मीयताका साथ हिंड्ने गाउँले परिवेशमै छौं । आफ्नो एजेण्डा बताउन सक्छौं । गाडी, झण्डा, झोला, क्याप आदि बोक्नुपरेको छैन । हामीले विशुद्ध साधारण रूपमा चुनावी अभियान चलाउनुपर्छ । यसले खर्च र तामझाम घटाउँछ । चुनावी खर्च महँगो भएकाले नै हाम्रो प्रतिनिधिसभा तस्करहरूको अखडा हुने जोखिम बनेको हो । डाक्टर नचाहिने, डन भए पुग्ने राजनीति हामीले कहिलेसम्म हेरिरहने ?

अब बाहिर निस्कनैपर्छ

हामीले निर्वाचन प्रक्रियाको प्रदूषणलाई नै बाहिर निकाल्न सक्नुपर्छ । त्यसैले एउटा फरक किसिमको अभियान चलाएका हौं । हामी संसदमा पुग्नु भनेको नारायणगोपालको हातमा हार्मोनियम पुग्नुजस्तै हो । दुवैले दुवैको शोभा बढाउँछ ।

कुनै व्यक्ति कुनै विषयमा विद्यावारिधि गर्नु भनेको नीतिको विशेषज्ञ बन्नु हो । संसदमा नीतिकै बारेमा काम हुन्छ, नीति बुझेको मान्छे नै जानुपर्छ । नीति बुझेको मान्छे प्रतिनिधिसभामा जान्छु भने त आम मतदाताले सहर्ष स्वीकार गर्नुहुन्छ भन्ने मेरो आशा छ ।

हामी लामो समयदेखि आन्दोलनमा जोडिएका छौं, एउटा खालको पीडाबाट गुज्रिएका छौं । पीडा बुझेको र पीडा महसुस गरेको नेतृत्व अनि पीडा नबुझेको नेतृत्व फरक हुन्छ । क्षेत्रीय, जातीय र भौगोलिक उत्पीडन बुझेको मानिस त्यस ठाउँमा जानु र नजानुमा आकाश–पाताल फरक पर्ने भएकाले अरूभन्दा पीडा बुझेकै नेतृत्व चयन हुनुपर्छ ।

मैले चिकित्सा मानवशास्त्र पढाउँछु । उम्मेदवारीपछि मात्रै मैले पढाउने काम केही समय स्थगित गरेको छु । मनोनयनको १० हजारसहित बढीमा मेरो ४०÷५० हजार रुपैयाँ खर्च होला भन्ने अनुमान छ ।

म निर्वाचित भएमा दक्षिण ललितपुरलाई जनस्वास्थ्यको नमुना बनाउने नीतिगत पहल गर्नेछु, जुन अन्यत्रका लागि समेत उदाहरणीय होस् । निर्वाचित भएमा पूर्वाधार विकासको काम गर्न पाएमा जनताको स्वास्थ्यमा लगानी गर्छु । म ललितपुर–१ मा त्यो मोडल प्रयोग गर्न नीतिगत पहल गर्छु ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?