+
+

डाउन ज्याकेट : थरीथरी डिजाइन, २ हजारदेखि १ लाखसम्म मूल्य

अंगद सिंह अंगद सिंह
२०७९ कात्तिक १८ गते १३:२८

काठमाडौं । मौसमी तापमान निरन्तर ओरालो लाग्दैछ । चिसोले क्रमशः साम्राज्य विस्तार गर्दैछ । यस्तो बेला शरीरलाई कसरी न्यानो राख्ने ? सजिलो उपाय हो न्यानो लुगा लगाएर ।

जब न्यानो लुगाको कुरा आउँछ, बाक्लो ज्याकेट पहिलो रोजाइ बन्छ । ज्याकेट त थरीथरीका छन् । त्यसमा पनि डाउन ज्याकेट जाडो छल्न निकै उपयोगी मानिन्छ । हल्का, छरितो र न्यानो हुने भएकाले डाउन ज्याकेट सर्वत्र रोजाइमा पर्छ ।

चिसो बढ्दै जाँदा हामीले काठमाडौंका पसलहरु चहार्‍यौं, ज्याकेट खोज्दै । बजारलाई  जाडोको पहिरनले ढाकिसकेको रहेछ । बजारमा सस्तोदेखि निकै महंगो मूल्यका डाउन ज्याकेट छन् । न्यूनतम ३ हजारदेखि एक लाख २० हजार मूल्यसम्मका डाउन ज्याकेट उपलब्ध छन् ।

ठमेलको कर्मचारी सञ्चयकोष चोक पुग्नुअघि बायाँतर्फ छ द नर्थ फेसको आउटलेट । यहाँ केही प्रकारका डाउन ज्याकेट उपलब्ध छन् । नर्थ फेसको डाउन ज्याकेटको मूल्य २३ हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । हिमाली भेगमा जाँदा लगाउने डाउन ज्याकेट पनि यहाँ उपलब्ध छन् । यस्तो ज्याकेटको मूल्य १ लाख २० हजार रुपैयाँ रहेको त्यहाँका सेल्समेन प्रकाश खनाल बताउँछन् ।

‘यो उच्च हिमाली भेगमा लगाउन मिल्ने ज्याकेट हो,’ खनाल भन्छन्, ‘यसले शरीरको तापमान सन्तुलित राख्ने भएकाले मूल्य उच्च भएको हो ।’

महिला तथा पुरुषले लगाउने डाउन ज्याकेटमा खासै भिन्तता नहुने उनी बताउँछन् । मूल्यमा पनि एकरुपता हुन्छ । ‘फरक भनेको रंग र साइज मात्र हो,’ उनी भन्छन् ।

डाउन ज्याकेट विदेशी ब्रान्डमा मात्र होइन, स्वदेशी उत्पादन पनि उपलब्ध छन् । यी ज्याकेट विदेशी ब्रान्डको तुलनामा धेरै नै सस्तो पर्ने रामशंकर जैसवाल बताउँछन् । उनी द नर्थ इस्ट गियरका सञ्चालक हुन् । ‘हामी गुणस्तरीय ज्याकेट उत्पादन गर्छौं,’ उनी भन्छन्, ‘साथै सस्तो मूल्यमै बेच्ने गरेका छौं ।’

उनीकहाँ डाउन ज्याकेटको मूल्य ४ हजार ५०० रुपैयाँबाट सुरु हुन्छ । यहाँ ८ हजार ५०० रुपैयाँसम्मको डाउन ज्याकेट उपलब्ध छन् ।

ठमेलस्थित एभरेष्ट इक्युपमेन्टलका सञ्चालक धमेन्द्रराज साहका अनुसार उनीकहाँ दुई हजार ५०० रुपैयाँका डाउन ज्याकेट उपलब्ध छन् । आफैंले उत्पादन गर्ने भएकाले सस्तो मूल्यमा बिक्री गरिरहेको उनी बताउँछन् ।

‘आउटडोर कम्पास’ नामका डाउन ज्याकेट उत्पादन र बिक्री गरिरहेका छन् कमल अर्याल । उनीकहाँ उत्पादित ज्याकेट स्वदेशमा मात्र नभई विदेशमा समेत निर्यात हुने बताइन्छ । ‘इटाली, फिलिपिन्स, साउदी अरबमा निर्यात गरिरहेको छु,’ अर्याल भन्छन्, ‘नेपाली उत्पादन भए पनि विदेशी ब्रान्डभन्दा कम छैन ।’

उनीकहाँ डाउन ज्याकेटको मूल्य ५ हजार ५०० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म छ । उनले हाफ डाउन ज्याकेटलाई १८ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री गर्छन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?