+
+

काठमाडौं-४ तताउँदै गगन-राजन, विस्तारै खुल्दै मतदाता

गगन–राजनको घरदैलो पछ्याउँदा कांग्रेस उम्मेदवार गगन थापाको व्यक्तित्व हाबी देखिन्छ भने एमाले उम्मेदवार भट्टराईलाई संगठनको बलियो साथ छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ कात्तिक १८ गते २१:०२

१८ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवार हुँदैमा उनीहरू सबैले समान चर्चा पाउँदैनन् । काठमाडौं–४ यसको एउटा उदाहरण हो । जहाँका दुई उम्मेदवार चर्चाको शिखरमा छन् भने अन्य २९ उम्मेदवार ओझेलमा ।

यस क्षेत्रबाट तेस्रो पटक उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगन थापा र उनैसँग दोस्रो पटक प्रतिस्पर्धामा रहेका नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले क्षेत्रको राजनीति तताएका छन् । कात्तिक १७ पछि यी दुई प्रतिस्पर्धीले चुनावी तापक्रममा थप वृद्धि गरेका छन् । बिहीबारबाट चुनावकेन्द्रित घरदैलो सुरु भएसँगै राजनीतिक माहोल तातेको हो ।

कांग्रेस उम्मेदवार थापाले शुक्रबारबाट घरदैलो सुरु गरे । थापालाई उछिन्दै एमालेका उम्मेदवार भट्टराईले एक दिनअघि नै यो अभियान सुरु गरेका छन् । थापाले घरदैलोको पहिलो दिन काठमाडौं महानगरको वडा नम्बर ७ बाट सुरु गरे । घरदैलोका लागि एमालेका उम्मेदवार भट्टराईले भने बूढानीलकण्ठ– ९ लाई रोजे ।

थापाले शुक्रबार बिहान चाबहिलस्थित गणेश मन्दिरबाट घरदैलो सुरु गरेका थिए । थापा भन्दा एकदिन अघि घरदैलो प्रचारमा निस्केका भट्टराईले बूढानीलकण्ठ–९ को त्रिचोकबाट आफ्नो अभियान प्रारम्भ गरेका थिए । दुवै नेताको घरदैलोको निर्धारित समय बिहान ७ बजे नै थियो ।

बिहीबार र शुक्रबार दुई नेताको घरदैलो प्रचारमा सँगसँगै हिंड्दा दुई खाले दृश्य देखिन्थ्यो । थापाको व्यक्तित्वले मतदातामा प्रभाव छोडेको छ । त्यसकारण उनले मतदातातिर हाँस्दै नमस्ते फर्काए मात्रै पुग्ने अवस्था छ । अर्थात् मतदाताका सामु उनी परिचित अनुहार हुन् ।

अर्कोतर्फ, एमालेका उम्मेदवार डा.भट्टराईले कति ठाउँमा मतदातालाई ‘हजुर, म राजन भट्टराई’ भनेर चिनाउनुपर्दथ्यो । तर, यो क्षेत्रमा एमालेको संगठन अवस्था बलियो छ र त्यो बलियो संगठनको साथ भट्टराईलाई छ ।

दुवै उम्मेदवारलाई समयको चाप छ । निर्वाचन आयोगले तोकेको १३ दिनभित्र क्षेत्रका १२ वडामा घरदैलो सक्नु छ । दुवैले यो बीचमा बढीभन्दा बढी मतदाताको घरमा पुग्नु छ । घरदैलोको पहिलो दिनदेखि नै दुवै जना हतारमा छन् । १२ वटै वडाका सबै मतदाताकहाँ पुग्न नसकिने हो कि भन्ने भयले उनीहरूको हिंडाइको गति तीव्र बनाएको छ ।

थापाको घरदैलोमा जे देखियो

थापाले शुक्रबार घरदैलो सुरु गर्दा मन्दिरलाई प्रस्थानबिन्दु बनाए । बिहान ७ बजे चाबहिलस्थित गणेश मन्दिरमा कांग्रेसका नेता–कार्यकर्ता भेला भइसकेका थिए । कांग्रेस शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको स्थानमा थापा ७:३० बजेतिर आइपुगे ।

घरदैलो प्रारम्भ गर्ने क्रममा मंगलधुन बजाइयो । थापाले मन्दिरभित्र प्रवेश गरेर छोटो समय पूजाआजा गरे । नरिवल फुटाएर मन्दिर परिक्रमा सके । मन्दिर परिसरबाट नै गठबन्धनको पक्षमा नाराबाजी सुरु भयो । माइक घन्किन थाल्यो । प्रचार टोली मन्दिरबाट उत्तरतिर लाग्यो ।

मन्दिर नजिकै रहेको खेल मैदानमा एकीकृत समाजवादीले चियापान राखेको थियो । चियापानका लागि प्रचार टोली करिब २० मिनेट रोकियो । गठबन्धनका पक्षमा थापाले छोटो मन्तव्य दिए । उनको भनाइको सार ‘पाँच वर्ष खेर जान नदिने’ भन्ने थियो । गठबन्धनले जित्नेमा ढुक्क रहेको दाबी गर्दै उनले भने, ‘हामी चुक्ने छैनौं । जनतालाई निराश बनाउँदैनौं ।’

अग्रपङ्तिमा ब्यानरसहित महिला थिए । यसपछि घरदैलोका लागि प्रचार टोली मिर्मिरे टोलमा प्रवेश गर्‍यो । गठबन्धनको साझा अभियान भनिए पनि प्रतिनिधिसभातर्फ थापा उम्मेदवार भएकाले हुनसक्छ कांग्रेस कार्यकर्ताको उपस्थिति बढी थियो । कांग्रेसको तुलनामा माओवादी केन्द्र र एकीकृत समाजवादीका चुनाव चिह्न र झण्डा तुलनात्मक रूपमा थोरै थिए ।

गठबन्धनको पक्षमा मत माग्दै माइक घन्किएको सुनेर मतदाता घर बाहिर निस्कन्थे । कतिपयले माथिल्लो तलाबाट थापातिर हेर्थे । माथिल्लो तलाबाट नै नमस्ते आदानप्रदान गर्थे । कांग्रेसका स्थानीय टोलीका अगुवाले थापालाई मतदाताको घरमा छिराउँथे ।

यदि कुनै घरमा प्रौढ मतदाता देखेको अवस्थामा थापा ‘सञ्चै हुनुहुन्छ’ भनेर सोध्थे । युवा अवस्थाको मतदाता देखे उनको बोली अर्कै हुन्थ्यो, ‘के छ यार ?’ सामान्यतः युवा पुस्ताका मतदाताको जवाफ हुन्थ्यो, ‘ठीक छ दाइ ।’ मिर्मिरे टोलमा प्रचार टोली चुनावी गीत बजाएर केहीबेर नाचे पनि ।

प्रचार टोलीका अगुवाले बन्द रहेका गेटमा प्रचार सामग्री छिराइदिन्थे । मतदाताको घरमै आएकाले आवश्यक नदेखेर होला, धेरै ठाउँमा थापाले भोट दिनुस् है भनेनन् । तर, उनीसँगै रहेका प्रदेशतर्फ (क) का उम्मेदवार श्रीराम लामिछाने हरेक मतदातासँग भन्थे, ‘म पनि उठेको छु है !’

यसपछि प्रचार टोली आदर्श बस्ती मार्गतिर लाग्यो । बस्ती पिच हुने क्रममा रहेछ । सडकमा रहेको पोल हटाउने विषयमा स्थानीय बीचमै सामान्य मतभेद रहेछ । त्यसै घरमा स्थानीय अगुवाले थापालाई छिराए । थापासँग भेट्दा उनले कुनै गुनासो गरेनन्, बरु उनीसँग फोटो खिचाए ।

भित्री बस्तीहरूमा घरदैलो गर्दा थापाको प्रचार टोलीमा अलमल देखिन्थ्यो । भित्री चोकबाट कुन दिशातिर लाग्नेमा स्थानीय अगुवाहरूका फरक–फरक धारणा हुन्थे । प्रौढ मतदाताले टीकासहित माला लगाएर शुभकामना व्यक्त गर्थे । भित्री क्षेत्रहरू आदर्श बस्ती, बुलबुले मार्ग, लामपोखरीको प्रचारप्रसार सकेर यो टोली कुटुबहालतिर लाग्यो ।

स्थानीय एक घरमा उम्मेदवारसँगै प्रचार टोली पस्यो । घरधनी महिला प्राङ्गणमा निस्किन् । उनको मुहार हँसिलो देखिन्थ्यो । उनले थापालाई माला लगाइदिंदै भनिन्, ‘कांग्रेस–साङ्ग्रेस म जान्दिनँ । भाइ भनेर मैले तपाईंलाई भोट दिने हो !’

यसरी शुक्रबार बिहानको घरदैलो सकियो । घरदैलो गर्ने क्रममा थापाले ‘म यस्तो गर्छु, उस्तो गर्छु’ भन्ने कुनै वाचा गरेनन् । अनि यहाँका मतदाताले पनि ‘यो यो गर्नुपर्छ’ भनेर उनीसँग प्रतिबद्धता खोजेनन् । त्यसो त, उम्मेदवार आफैं हतारमा भएकोले समय लगाएर दोहोरो संवाद गर्ने अवस्था पनि थिएन ।

डा. भट्टराईको घरदैलोमा जे देखियो

एमालेका उम्मेदवार डा. भट्टराईको घरदैलोमा उम्मेदवारको पक्षमा नाराबाजी, लाउडस्पिकर र चुनावी गीतको व्यवस्था थिएन । बिहीबार डा. भट्टराई घरदैलोमा निस्कँदा उनीसँग दुई दर्जन बढी सहभागी थिए ।

बूढानीलकण्ठ–९ को त्रिचोकबाट बिहीबार बिहान भट्टराईको घरदैलो कार्यक्रम सिर्जना बस्तीमा प्रवेश गर्‍यो । साँघुरो गल्लीमा भट्टराई अघि–अघि र प्रचार टोलीका अन्य सदस्य उनलाई पछ्याउँदै पछि थिए ।

उकालो बाटो अलिक माथि पुगेपछि भट्टराईले भने, ‘नमस्कार, भोट सूर्य चिह्नमा है ! तपाईंहरूको समस्या समाधान गर्न लागिपर्छौं ।’ अघि बढ्दै गर्दा एक महिलालाई प्रचार टोलीका सदस्यले समस्या परे उहाँ (राजन) लाई सम्झन आग्रह गरे ।

टोली मण्डिखाटारतिर अघि बढ्दैथियो । त्यहाँ स्थानीय राधा पोखरेल भेटिइन् । पोखरेल उनै व्यक्ति हुन्, जसले यसै क्षेत्रमा उम्मेदवारी दिन्छु भनिन् तर मनोनयन दर्ता गरिनन् । पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्ष समेत हुन् । तपाईं किन उम्मेदवार बन्नुभएन भन्ने प्रश्नको जवाफमा डा. भट्टराईतिर फर्कंदै भनिन्, ‘दाइले नउठ्न भन्नुभयो ।’

यसपछि मण्डिखाटारमा रहेको छुनामुना मन्टेसरी स्कुलका प्रिन्सिपलसँग डा.भट्टराईले मत मागे । प्रिन्सिपल कमला ढकाल अधिकारीले पनि प्रचार टोलीलाई साथ दिइन् । उनले डा.भट्टराईका पक्षमा मत माग्दै प्रचार टोलीलाई केही समय पछ्याइन् ।

टोली वरफेदी नजिक तामाङ बस्तीमा पुगेका बेला त्यहाँका एक स्थानीयले ‘नेताको विकास भयो तर जनताको भएन’ भनेर गुनासो गरे । यसै टोलमा दुई वृद्ध रहेको एउटा घरमा भट्टराई छिरे । घरको छतमा रहेकी वृद्धाले भनिन्, ‘घरमा पानी आएन । हाम्रोमा पानी आउनुपर्‍यो ।’ प्रचार टोलीका एक सदस्यले वृद्धालाई आश्वस्त पारे ।

टोली माथिल्लो मण्डिखाटार टोलमा पुग्दा रोचक अनुभव प्राप्त भयो । स्थानीय चोकबाट उत्तरतिर अघि बढ्दै गर्दा एक घरमा कांग्रेसको झण्डा देखियो । फराकिलो प्राङ्गण भएको गेटमा कांग्रेसको झण्डा पनि ठूलै आकारको थियो ।

दोस्रो तलाबाट एक वृद्धले घरदैलो टोलीतिर हेरिरहेका थिए । टोलीका एकले वृद्धतिर हेर्दै भने, ‘भोट सूर्यमा है !’ वृद्ध कांग्रेसका कट्टर समर्थक रहेछन् । जवाफ फर्र्काए, ‘कांग्रेसको झण्डा देख्नुभएन ?’

प्रचारका क्रममा कतिपयले भट्टराईको पक्षमा खुलेर मत दिने बताए । कतिपयमा दल र तिनका उम्मेदवारप्रति आक्रोश पनि देखियो । माथिल्लो मण्डिखाटारमै एक मतदाताले भट्टराईलाई भने, ‘अरू बेला नभए पनि चुनावको बेला नेताहरू भेट्न पाइन्छ ।’

वडा नम्बर ८ र ९ को सिमानामा बाटो बिग्रेर हिंड्नै नसक्ने भएको अर्का एक स्थानीयले बताए । यो प्रचार टोली खहरेतिर अघि बढ्दै गर्दा बाटोको छेउमा एक वृद्धा टुक्रुक्क बसेकी थिइन् । वृद्धसँग प्रचार टोलीले सूर्यमा मत मागे । ‘वृद्ध भत्ता दिने पार्टी हो, भोट दिनुस् है’, एक प्रचारकले भने । उनको बोलीमा उम्मेदवार डा. भट्टराईले थपे, ‘अब वृद्ध भत्ता पाँच हजार बनाउने हो नि !’

खहरे क्षेत्रको घरदैलो सकेर प्रचार टोली स्थानीय टेनिस कोर्टमा पुग्यो जहाँ, केही व्यक्ति थिए । डा. भट्टराईले उनीहरूसित मत मागे । उनीहरूले डा. भट्टराईलाई मत दिने वचन दिए । तर जब डा. भट्टराई हिंडे उनीहरूले हल्का कुरा काटे– ‘राजनजीको विद्वत्ता छ, त्यो व्यवहारमा देखिनुपर्‍यो नि !’

प्रतिबद्धता सुनाउन समय छैन

कांग्रेसका उम्मेदवार थापा र एमालेका उम्‍मेदवार डा. भट्टराईलाई मतदातासँग आफ्नो प्रतिबद्धता व्यक्त गर्ने समय अभाव छ । दुवै उम्मेदवारले हजारौं प्रति प्रचार सामग्री प्रकाशित गरेका छन् । ती सामग्री घरदैलो गर्दा वितरण गर्ने तयारी छ ।

गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित थापाले यस बीचमा आफूले गरेका कामहरूको भिडिओमार्फत प्रस्तुत गर्दै आएका छन् । घरदैलो अभियान अघि क्षेत्रमा गरेका कामको भिडियो सन्देश थापाले प्रस्तुत गरेका छन् ।

त्यसैगरी सांसदको भूमिकामा नरहे पनि क्षेत्रको विकासमा आफूले थुप्रै काम गरेको भट्टराईले बताउने गरेका छन् । उनले आफूले विगतमा गरेको कामलाई चार पृष्ठमा उल्लेख गरेर मतदातालाई वितरण गर्ने गरेका छन् ।

त्यसबाहेक डा. भट्टराईले निर्वाचित भएको अवस्थामा गरिने १० बुँदे कार्य सामाजिक सञ्जालमार्फत मतदातालाई जानकारी गराएका छन् ।

  

तस्वीरहरु : चन्द्र आले 

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?