+
+

किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप

सन्दीपले सार्वजनिक हैसियत ख्याल नगरेको ठहर

‘मध्यरातिको समयमा पीडितलाई आफ्नो गाडीमा राखेर ल्याई होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘होटलको कोठा प्रतिवादीले नै बुक गरेको र होटलको रजिष्ट्रर समेत प्रतिवादीले नै भरेको अवस्था छ ।’

गौरव पोखरेल गौरव पोखरेल
२०७९ कात्तिक १८ गते २१:५३

१८ कात्तिक, काठमाडौं । बलात्कार मुद्दा लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रीय कारागार, सुन्धारा चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले ‘प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने’ ठहर गर्दै थुनामा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार चलान गरिएको हो ।

तर न्यायाधीश घिमिरेले लामिछानेलाई थुनामा पठाउनुपर्ने निष्कर्षसहित ८ पृष्ठको आदेश–पर्चा जारी गर्दा बलात्कार अभियोगबारे चाहिँ विवेचना गरेका छैनन् । बरु सन्दीप पक्षका कानुन व्यवसायीले पीडित किशोरीको उमेरमाथि प्रश्न गरेपछि त्यससम्बन्धी कागजात झिकाउन आदेश दिएका छन् ।

उनले लामिछानेका कानुन व्यवसायीले प्रस्तुत गरेका किशोरीको जन्मदर्ता अभिलेख किताबको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन भनेका छन् । किशोरीले नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपी पनि अदालतले मगाएको छ ।

आदेशमा ७ मंसिरमा बकपत्रका लागि जाहेरीकर्ता, पीडित, बुझिएका मानिस र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बोलाएको छ । यसका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत उपस्थित गराउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गर्न आदेश भएको छ ।

‘सन्दीपले सार्वजनिक हैसियत ख्याल गरेनन्’

न्यायाधीश घिमिरेले आदेश पर्चामा किशोरीसँग रातभर एउटै कोठामा रहेकोमा विवाद नदेखिएको उल्लेख गरेका छन् । लामिछाने स्वयंले पनि पीडितले उल्लेख गरेको होटल काठमाडौं इनको एउटै कोठामा बसेको स्वीकार्दै बयान दिएका छन् ।

‘मध्यरातिको समयमा पीडितलाई आफ्नो गाडीमा राखेर ल्याई होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘होटलको कोठा प्रतिवादीले नै बुक गरेको र होटलको रजिष्ट्रर समेत प्रतिवादीले नै भरेको अवस्था छ ।’

आदेशमा पीडितले दुईवटा कोठा बुक गर्न भन्दा पनि लामिछानेले एउटा मात्र कोठा बुक गरेको देखिएको उल्लेख छ । ‘प्रतिवादीले पीडितलाई होटल काठमाडौं इनमा छाडेर राति आफू बस्ने होटलमा गएको अवस्था देखिएन’, आदेशमा भनिएको छ ।

अदालतले पीडितले पठाएको फ्रेण्ड रिक्वेस्ट स्वीकारेको चार दिनपछिको पहिलो भेटमा नै लामिछानेले पीडितलाई अंगालोमा राखेको र बाटोमा भेटेर रिसोर्टसम्म पुर्‍याएको भनेको छ ।

क्लोज सर्किट (सीसी) क्यामराको फुटेजबाट पनि लामिछानेले कोठामा बसेको भन्ने विषयलाई इन्कार गर्न नसकेको भनिएको छ । तर बलात्कारको विषयमा चाहिँ आदेश पर्चा स्पष्ट रुपमा बोलेको छैन ।

‘प्रतिवादीले आफूलाई दुई पटक जबरजस्ती करणी गरेको भनी पीडितले उल्लेख गरेको र दोस्रो पटक जबरजस्ती करणी गर्न खोज्दा प्रतिरोध गरेकोमा प्रतिवादीले कपाल समाती ढाडमा हिर्काएको व्यहोरा समेत खुलाएको देखिन्छ’, आदेशमा भनिएको छ ।

थापाथलीस्थित प्रसुति गृहमा गरिएको पीडितको स्वास्थ्य परीक्षणमा पनि ‘कन्या जाली च्यातिएको’ उल्लेख भएको आदेशमा उल्लेख छ ।

मिसिलमा संलग्न सीसी टीभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयानबीच समानता देखिएको अदालतले ठहर गरेको छ । यसको आधारमा लामिछानेले भोलिपल्ट अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेल्न जाँदै गरेको गहन जिम्मेवारीलाई ख्याल नगरेको अदालतले भनेको छ । घटना भएको भनिएको दिनको भोलिपल्ट ५ भदौमा लामिछाने क्रिकेट खेल्न केन्या जाँदै थिए ।

‘गहन जिम्मेवारीलाई नहेरी, विचार नगरी, आफ्नो सार्वजनिक हैसियतलाई ख्याल गर्नुपर्नेमा सो नगरी आफ्नो दिनचर्या एवं क्रियाकलाप पब्लिक अडिट हुन्छ भन्नेतर्फ समेत सचेत रहेको अवस्था देखिएन’, अदालतको आदेशमा भनिएको छ ।

स्न्यापच्याटमा साथी भएको चार दिनमै घटना

पीडित पक्षले २१ भदौमा प्रहरी वृत्त, गौशाला पुगेर लामिछानेले ५ भदौमा दुई पटक बलात्कार गरेको भन्दै करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो । जाहेरीमा राति १२ः२५ र १ः३० बजे बलात्कार गरेको उल्लेख थियो ।

लामिछाने पक्षका वकिलहरुले थुनछेक बहसका क्रममा घटना भएको १५ दिनपछि जाहेरी परेको बताउँदै आरोप विश्वसनीय नभएको जिकिर गरेका थिए । लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, सविता भण्डारी बराल, कृष्णप्रसाद सापकोटा, रमण श्रेष्ठ, अधिवक्ता रोशनी पौडेल, सुधा रिजाल, मुरारी सापकोटा लगायतले बहस गरेका थिए ।

‘रिसोर्टमा बसेर खाजा खाएर राति अबेर भएपछि पीडितलाई लामिछानेले आफ्नो गाडीमा राखेर होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘पीडितले दुई वटा कोठा बुक गर्नुपर्छ भनेकामा प्रतिवादीले एउटा मात्र कोठा बुक गरेको देखिन्छ ।’

‘लामिछानेविरुद्ध आएको जाहेरी आफ्टर थट स्टेटमेन्टको रुपमा आएको छ’, लामिछाने पक्षका वकिलको जिकिर थियो, ‘प्रतिवादीकै करणीबाट कन्याजाली च्यातिएको भन्ने प्रमाण पनि छैन ।’

पीडितले घटनालगत्तै कुनै प्रतिक्रिया नजनाएको बताउँदै जबरजस्ती करणी भएको भए प्रतिवादी केन्यामै म्यासेज नपठाउने उनी पक्षका वकिलको दलिल थियो । ‘एकपटक जबरजस्ती करणी भएपछि पुनः पीडितसँगै सुत्ने अवस्था रहँदैन’, सन्दीप पक्षको वकिलको दाबी थियो ।

तर अदालतमा पीडितको तर्फबाट उपस्थित सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरे, महेश खत्री, कृष्णा भण्डारी लगायतले पीडित र प्रतिवादीबीच स्न्याप च्याटमार्फत चिनजान भएर नगरकोट घुम्न गएको देखिएको उल्लेख गरे ।

‘लामिछानेकै गाडीमा फर्किएर आएर प्रतिवादीले नै बुक गरेको होटल काठमाडौं इनको २०५ नम्बर कोठामा बसेको अवस्थामा पीडितलाई प्रतिवादीले दुई पटक जबरजस्ती करणी गरेको अवस्था छ’, सरकारी वकिलको जिकिर थियो, ‘पीडितसँग पहिलो पटक भेट हुँदा नाइस टु मिट यू भनेको, सीसी टीभी फुटेजबाट होटलमा बसेर फर्किएको अवस्थामा देखिएको, होटलको स्टाफ, सुरक्षा गार्डबाट पनि पीडित प्रतिवादीसँग होटलमा राति बसेको पुष्टि हुन्छ ।’

सरकारी वकिलले स्वास्थ्य परीक्षण प्रतिवेदन पनि प्रस्तुत गर्दै लामिछानेको क्रियाकलापबाट जबर्जस्ती करणी गर्ने मनसाय देखिएको जिकिर गरेका थिए ।

अदालतले पीडितले पठाएको फ्रेण्ड रिक्वेस्ट स्वीकारेको चार दिनपछिको पहिलो भेटमा नै लामिछानेले पीडितलाई अंगालोमा राखेको र बाटोमा भेटेर रिसोर्टसम्म पुर्‍याएको भनेको छ ।

‘रिसोर्टमा बसेर खाजा खाएर राति अबेर भएपछि पीडितलाई लामिछानेले आफ्नो गाडीमा राखेर होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘पीडितले दुई वटा कोठा बुक गर्नुपर्छ भनेकामा प्रतिवादीले एउटा मात्र कोठा बुक गरेको देखिन्छ ।’

उमेर विवादमा अदालतले भन्यो – पछि यकिन हुन्छ

जिल्ला अदालतको आदेश पर्चामा नाबालिगको उमेर विवादबारे पनि उल्लेख गरिएको छ । थुनछेक बहसका क्रममा लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जाहेरीकर्ता नाबालिग नभएको जिकिर गरेका थिए ।

‘उनको विद्यालयमा पेश भएको कागजात र विवरणमा जन्ममिति २०६१/०२/१८ छ, २०७३ सालमा परिवार बसाइसराइँ गरेर काठमाडौं आउँदाको कागजमा पनि २०६१ साल नै छ’, श्रेष्ठले भने, ‘तर, पछि फेरि गाउँमा गएर उमेर घटाएर अर्को जन्मदर्ता बनाइएको देखिएको छ ।’ यससम्बन्धी कागजात पनि अदालतमा लामिछाने पक्षका वकिलले पेश गरेका थिए ।

अनुसन्धानका क्रममा पीडितको नागरिकता प्रमाणपत्र प्रतिलिपी राखेर नाबालिका देखाइएको भन्दै बालिग भएको लामिछाने पक्षका वकिलको दाबीलाई मुद्दाको कारबाहीका क्रममा परीक्षण गरेर यकिन हुने भनिएको छ ।

लामिछानेविरुद्ध जाहेरी परेको दुई दिनपछि २३ भदौमा जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानुन मान्ने बताउँदै स्टाटस लेखेका थिए ।

तर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमाइका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थलबाटै पक्राउ परेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?