
२१ कात्तिक, काठमाडौं । पछिल्लो सिजनका फाइनलिष्ट टिमहरु स्पेनको रियल मड्रिड र इंग्ल्याण्डको लिभरपुलबीच युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मै प्रतिस्पर्धा हुने भएको छ ।
१४ पटकको च्याम्पियन रियलले गत सिजनको फाइनलमा भिनिसियस जुनियरको निर्णायक गोलमा लिभरपुललाई पराजित गरेको थियो ।
सोमबार नकआउट चरणको खेलतालिका निर्धारण हुँदा यी दुईले प्रिक्वाटरफाइनलमै भेट निश्चित गरेका हुन् ।
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले क्वाटरफाइनल प्रवेशका लागि जर्मन च्याम्पियन बायर्न म्युनिखसँग खेल्नुपर्ने भएको छ । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीको भेट जर्मनीको आरबी लाइपजिगसँग हुने भएको छ ।
नकआउट ड्रअनुसार इंग्लिस टोली टोटनह्यामले इटलीको एसी मिलानसँग खेल्नुपर्नेछ । इंग्लिस टोली चेल्सीले जर्मनीको बोरुशिया डर्टमण्डसँग खेल्नेछ ।
अरु खेलमा इन्टरमिलानले पोर्टोसँग, क्लब बर्जले बेनफिकासँग तथा नापोलीले इन्टरलेच फ्रयांकफर्टसँग खेल्ने छन् ।
अन्तिम १६ चरण अन्तर्गत पहिलो लेग फेब्रुअरी १४–१५ र २१–२२ मा हुनेछ भने दोस्रो चरण मार्च ७–८ र १४–१५ मा हुनेछ ।
ऐतिहासिक प्रतिद्वन्द्वीको पुनर्मिलन
च्याम्पियन्स लिगको पछिल्लो ६ सिजनमा लिभरपुल र रियल मड्रिड आमने सामने भएको यो चौथोपल्ट हो । तीमध्ये दुई पल्ट फाइनलमा भेट भएको थियो । सन् २०१७–१८ र २०२१–२२ को सिजनमा यी दुईले फाइनल खेलेका थिए ।
सन् २०२०–२१ को सिजनमा स्पेनिस महारथी रियलले ६ पल्टको च्याम्पियन लिभरपुललाई क्वाटरफाइनलमा पराजित गरेको थियो ।
जर्गेन क्लोप प्रशिक्षित लिभरपुलले पछिल्लो पाँचमध्ये तीन सिजनको फाइनल खेलेको छ । च्याम्पियन्स लिग इतिहासमा रियल र एसी मिलानपछि सबैभन्दा धेरै उपाधि जित्ने टिम लिभरपुल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4