+
+

जनतामा वितृष्णा छ, मेरो खोजी भइरहेको छ : सुमन सायमी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १८:४९

२२ कात्तिक, काठमाडौं । काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी वैकल्पिक शक्ति निर्माणमा जग हालिरहेको बताउँछन् ।

सायमी भन्छन्, ‘यसपालि सातै प्रदेशमा मान्छे उठाएका छौं । यसबाट नयाँ सुरुवात भइसकेको छ । चुनावपछि नयाँ धरातल निर्माण हुन्छ र पाँच वर्ष पछिसम्म ठूलो वैकल्पिक शक्ति निर्माण हुन्छ ।’

डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले गरेको उपत्यकाव्यापी सडक विस्तारका क्रममा व्यक्त असन्तुष्टीलाई समेट्दै राजनीतिमा उदाएका नेता हुन् सायमी । बालाजु बाइपासमा सडक विस्तारविरुद्ध जुध्ने सिलसिलामा गिरफ्तार गरिएकाहरूसँग प्रहरी वृत्त बालाजुमा मातृभाषामा संवाद गरेका सायमी पनि हप्तादिनसम्म थुनिएका थिए ।

गत स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ३४१ मत ल्याएर चौथो स्थान हासिल गरेका थिए । लगत्तै उनी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका छन् । आफ्नो उम्मेदवारी वैकल्पिक शक्ति निर्माणका लागि जग भएको उनको भनाइ छ । चुनाव जितेपछि संवैधानिक रुपमा प्राप्त अधिकारहरु जनतालाई दिलाउन प्रयास गर्ने उनको प्रतिवद्धता छ ।

केन्द्रीय नीति बनाएर मुलुकलाई नयाँपन दिने उनको चाहना छ । भ्रष्टाचार बढेको कारण शिक्षा र स्वास्थ्य नै भएको उनको निष्कर्ष छ । उनी भन्छन्, ‘छोरा छोरी पढाउनका लागि बाध्य भएर कमिसन खानुपर्ने अवस्था सिर्जना भएको कुरा क्लियर गर्दै हिँडेको छु ।’ उनै सायमीसँगको कुराकानी :

कति मतदाताकहाँ पुग्नुभयो, कति बाँकी छ ?

सुमन सायमी उठेको छ, चुनाव चिह्न लौरो भन्ने जानकारी सबैलाई भइसकेको छ । घरघर गएर सम्झाइरहेको छु । ६ महिना अगाडिदेखि नै हामी मतदातासँगै छौं । घरघर जाँदा सुमन सायमीको (चुनाव चिह्न) लौरो भनेर कसैलाई भन्नुपरेको छैन ।

राजनीतिक दलहरुप्रति वितृष्णा धेरै जागेको छ । यसकारण पनि मलाई धेरै खोजी भइरहेको रहेछ ।

तैपनि, तपाईंलाई किन भोट दिने ?

यो प्रश्न मतदाताले पनि नगरेका हैनन् । तपाईंले जित्नुभयो भने के गर्नुहुन्छ भनेर सोध्नुभएकै छ । हामी आयौं भने अहिले जुन अवस्था छ त्यसलाई परिवर्तन गर्दै लैजान्छौं भनिरहेको छु । संवैधानिक अधिकार जनतालाई दिलाउनु छ । भएकै अधिकार हामीले पाएका छैनौं । जनताले मौलिक हक मात्रै पाए पनि सुख शान्ति पाउँछन् । मौलिक हक नै नपाएपछि हामी आउनुपरेको हो ।

शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा मतदाताको ज्यादा चासो छ । मौलिक हक अनुसार त निशुल्क हुनुपर्ने हो । भ्रष्टाचार बढेको कारण पनि शिक्षा र स्वास्थ्य नै हो ।

छोराछोरी पढाउनका लागि पनि बाध्य भएर कमिसन खानुपर्ने अवस्था सिर्जना भएको कुरा क्लियर गर्दै हिँडेको छु । राज्यको नीति ठीक नहुँदा युवाहरु विदेशिनु परेको जस्ता कुराहरु प्रष्ट्याउँदै हिँडेको छु ।

आम्दानीको ठूलो रकम शिक्षा र स्वास्थ्यमा खर्च गरिरहेका मतदाताहरुको चाहना सुन्नुभयो सम्बोधन गर्ने योजना पनि छ कि ?

जुन संवैधानिक अधिकार छ त्यसलाई कार्यान्वयन गराउँछौं । बोली र ब्यवहारमा एकरुपता नहुँदा नेताहरुप्रति वितृष्णा छ । सक्षम युवाहरु अगाडि बढ्दा बोली र व्यवहार एकै हुन्छ, संवैधानिक अधिकारहरुको कार्यान्वयन हुन्छ, वैज्ञानिक कर प्रणाली, सामाजिक सुरक्षाका विषयहरुमा आफ्ना कुराहरु राखिरहेका छौं ।

हामी त ग्राउण्डमै आन्दोलन गरेर आएका हौं । यसकारण यहाँको माटोको माग हामीलाई थाहा छ । यो माटोमा भएका पीडाहरु, समस्याहरु सबै समाधान गर्दै जाने हो । प्राप्त अधिकारको सदुपयोग गर्न पाएको भए हामीले राजनीति गर्नु पर्ने नै थिएन ।

खानेपानी, ढल व्यवस्थापनको विषय कत्तिको प्राथमिकतामा छ ?

यो समस्या पनि समाधान गर्नुपर्ने छ । काठमाडौं क्षेत्र नम्बर ८ को प्रमुख समस्या स्वबासीको समस्या हो । स्वबासीहरु बसेको सयौं वर्ष भयो अहिलेसम्म लालपूर्जा पाएका छैनन् । यही कारण भूकम्पले घर क्षतविच्छेद हँुदा पनि घर बनाउन पाइरहेका छैनन् ।

२०३५ सालमा नापी हुनुभन्दा पहिलेदेखि नै बसोबास गरिरहेको तर, नापी छुटेका कारण लालपूर्जा पाउनुभएन । सुकुम्बासीहरुलाई कानुन बनाएर राज्यले सम्बोधन गरिरहेको छ । तर, स्वबासीहरुलाई विस्थापन गर्न पनि राज्यले विकल्प दिनुपर्छ । यस क्षेत्रमा स्वबासीहरु डेढ सय परिवार जति हुनुहुन्छ ।

यसपछि गैर न्यायिक सडक विस्तारको समस्या ज्यूँका त्यूँ छ । मुद्दा खेपेर बसिरहेका छौं हामीहरु । जसले मुद्दा हाल्यो उसले मात्रै मुआब्जा पाउने होइन नि सबैले पाउनुपर्छ । यो अधिकार ३ करोड नेपालीकै अधिकार हो ।

अन्य आधारभूत विषयहरु पनि छन् । स्थानीय सरकार र प्रदेश सरकारले पूरा गर्नुपर्ने दायित्व छ । तर, यहाँनेर पनि जनतालाई बुझाउनुपर्ने छ । हामी नीति निर्माण गर्ने तिर जान लागेका छौं । स्थानीय सरकारले पाएको अधिकारमा काम गर्न जाने त होइन । नीति कहाँ मिलेको छैन त्यहाँ मिलाउने हाम्रो उद्देश्य हो, कानुन बनाउने हो । स्थानीय चुनाव र संघीय संसदको चुनाव फरक हो भनेर बुझाउने प्रयास गर्दैछु ।

बुझ्नुपर्ने कुरा यहाँ पनि छ– हातमुख जोर्न समस्या भएको जनताले आधारभूत आवश्यकता नै खोज्छ । यस सन्दर्भमा हामीले झुट बोल्न हुदैन केन्द्रीय नीति बनाएर सबै समस्याको समाधान गर्ने भूमिका संसदको हुन्छ । सामान्य समस्याहरु पनि केन्दीय नीति, विधि र विधानसँग जोडिन्छ । नमिलेको ठाउँमा मिलाउने संसदको काम हो । स्थानीयको अवस्यकता पूरा गर्न स्थानीय सरकारमार्फत पहल गर्ने हो ।

शिक्षा, स्वास्थ्य, रोजगारी मौलिक हक हो तर, जनताले पाएनन् । यस सम्बन्धी विधि विधान बनाउने हो । जनताको आवाज लिएर गएर संसदमा उठाउने हो । सडकमा हजार जना उफ्रिनु भन्दा धेरै फरक संसदमा एक जना उफ्रिनुले पर्छ ।

चुनाव जित्नका लागि चुनौती के देख्नुभएको छ ?

जनता र राष्ट्र केन्द्रित कामहरु गरिरहेको छु । चुनौती र अवसर सँगसँगै आउने एउटै सिक्काका दुई पाटा हुन् । जति कर्म गर्‍यो उति चुनौती हुने हो ।

चुनाव पनि जित्नै भनेर लडेको हो, गुम्ने कुरा केही छैन । पदको लागि मरिहत्ते गरेको भए कलिकति डर लाग्न सक्थ्यो, त्यस्तो डर छैन । जनताको लागि गरेको छु, जनतो मुल्याङ्कन गर्छन् र चुनाव जित्छौं भन्नेमा विश्वास छ । यसकारण पनि कर्म गर्न जाउँ, जनतालाई बुझाउन जाउँ भनेर जनतासँगै छौं ।

तपाईंले चुनाव जित्नुभयो भने राष्ट्रिय राजनीतिमा के असर पर्छ ?

निश्चय नै हामी वैकल्पिक शक्ति निर्माणको जग हालिरहेका छौं । म जुन जमिनको मुद्दा लिएर हिँडिरहेको छु यो संसारको सबैभन्दा ठूलो समस्या हो । यो मुद्दालाई नै आधार बनाएर समुदायलाई संगठित गर्दै हिँडिरहेका छौं ।

कुनै आधारविनाको राजनीतिले माथि जान सकिँदैन भन्ने हामी बुझ्छौं । अबको पाँच वर्षपछि ठूलो वैकल्पिक शक्ति निर्माण हुन्छ । यसपालि हामीले सातै प्रदेशमा उम्मेदवार उठाएका छौं । राजनीति पेशा होइन, व्यापार होइन भनेर बुझाउँदै हिँड्दा एउटा धरातल बनेको छ । यसमार्फत नयाँ विचार दिन खोजिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?