+

सूर्यस्नान : जाडोयामको अचुक ओखती

२०७९ कात्तिक  २५ गते १३:३६ २०७९ कात्तिक २५ गते १३:३६
सूर्यस्नान : जाडोयामको अचुक ओखती

अहिले मान्छेलाई घाम ताप्ने फुर्सद छैन । फुर्सद हुनेलाई पनि घाम ताप्ने रुचि छैन । घामले छाला बिगार्छ, अनुहार कालो बनाउँछ भन्ने भय र भ्रमले मान्छेहरु घामबाट ओझेलमै रहन खोज्छन् ।

जबकि हाम्रा पूर्खाहरु मस्त घाम ताप्थे । शरीरमा एक पटक भए पनि घामको किरण पर्नुपर्छ भन्ने सोचाइले बिहान उठ्नासाथ घामलाई पूजा गर्थे । तर अहिले हामी घामदेखि डराउन थाल्यौं । नतिजा, अधिकांशको शरीरमा भिटामिन डीको कमी छ ।

तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ, घामको अनुपस्थितिमा शरीर कति शिथिल र कमजोर हुन्छ । एउटा अँध्यारो कोठामा कुनै पशुपंक्षी मात्र होइन, वनस्पति पनि बाँच्दैन । बिरुवा उम्रिनु, फूल फुल्नु, फल लाग्नु सबैमा घामको किरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । घाम नपर्ने गोठ वा टहरामा राखिएको गाईको दूधमा भिटामिन डीको अभाव हुन्छ । जबकि खुला ठाउँमा चर्ने र बस्ने गाईको दूधमा भिटामिन डी मनग्य हुन्छ ।

शरीरका लागि अत्यावश्यक कुरा हो, भिटामिन डी । यसको मूल स्रोत नै घामको किरण हो ।

घामको चामत्कारिक गुण

सूर्यको किरणमा यस्ता चामत्कारिक गुण हुन्छन्, जसले शरीरमा हुने विभिन्न संक्रमणको प्रभावलाई कम गर्छ । सूर्यको किरणले शरीरमा सेतो रक्तकोषिकाहरु पर्याप्त जम्मा हुन्छ । सेतो रक्ताकोषिकाले रोगप्रतिरोधी क्षमता बढाउँछ र शरीरलाई तन्दुरुस्त राख्छ । घाम भिटामिन डीको महत्वपूर्ण स्रोत हो ।

खासगरी प्रातकालीन घामको किरण कुनै औषधिभन्दा कम हुँदैन । यसले हड्डी र मांसपेशी बलियो बनाउन सहयोग गर्छ । हड्डीको क्यान्सर हुने सम्भावनालाई पनि यसले कम गर्छ । बिहानी घामको किरणले प्रतिरक्षा प्रणालीको हाइपरएक्टिभिटीलाई हटाएर सोरायसिस जस्ता छालासम्बन्धी रोगबाट बचाउन मद्दत गर्छ ।

घामले मानसिक स्वास्थ्यमा पनि प्रभाव

जाडोयाममा धेरैजसो मान्छे मानसिक रुपले उदास र निराश हुने चिकित्सा विज्ञानको अध्ययनले देखाएको छ । जाडोयाममा घाम ताप्न नपाइने भएकाले यसबेला धेरैलाई डिप्रेसन हुने गरेको छ । यसलाई ‘विन्टर डिप्रेसन’ भन्ने गरिएको छ ।

यसबाट के प्रष्ट हुन्छ भने मानसिक रुपले तन्दुरुस्त रहन पनि घामको किरण जरुरी हुन्छ । घामको किरणले साइकोसिसको जोखिम कम गर्छ । डिप्रेसन, एन्जाइटी जस्ता मनोविकार हटाउँछ ।

बिहानको कलिलो घाममा मानिसको मन फुरुंग हुन्छ । तर चिसो र ओसिलो याममा हामी उदास हुन्छौं ।

निद्रा र पाचनमा सहयोग

घामको किरणले निद्रा र पाचनमा पनि प्रभाव पार्छ । दिनमा मस्त घाम तापेको छ भने राति निद्रा राम्ररी पर्छ । यसैगरी यसले मेटोबोलिज्ममा पनि सुधार गर्छ, जसले गर्दा खानेकुरा पचाउन सहज हुन्छ ।

उच्च रक्तचाप, मधुमेह भएको अवस्थामा घाम ताप्नु अरु लाभदायक हुन्छ । घामले रक्त प्रवाह सुचारु गराउन सहयोग गर्छ ।

कुन समयमा सूर्यस्नान ?

घाम ताप्नका लागि बिहानको घाम बढी प्रभावकारी हुन्छ । खासगरी बिहान ८ देखि ९ बजेसम्मको घाम ताप्नुपर्छ । यसैगरी अपरान्ह चार बजेपछिको घाम ताप्नु पनि लाभदायक हुन्छ । घाममा कम्तीमा १० मिनेटसम्म बस्नुपर्छ ।

यद्यपि घामको ताप भूगोल र ठाउँअनुसार केही फरक हुने भएकाले समय र अवधिमा केही तलमाथि हुनसक्छ ।

जसले अनिवार्य ताप्नैपर्छ

बालबच्चाका लागि घाम एकदमै अपरिहार्य छ । शिशुलाई घामको तापमा मालिस गरिदिनुपर्छ । यसैगरी सुत्केरी र बुढापाकालाई पनि घाम जरुरी हुन्छ ।

आयुर्वेदअनुसार घाममा बस्नु एक घण्टाअघि र पछिको समयमा कुनै गह्रौं भोजन नगर्नु राम्रो हो ।

सावधानी पनि

चर्को वा मध्यान्हको घाममा लामो समय बसेमा भने समस्या आउन सक्छ । यसले खासगरी छालालाई नराम्रो असर गर्नसक्छ । कतिपय छालाको क्यान्सर हुनुमा पनि घामको विकिरणलाई मूल कारक मानिएको छ । त्यसैले चर्को घाममा शरीर खुला राखेर लामो समय बस्नु उचित हुँदैन ।

(डा. ढकाल आयुष अस्पताल, बानेश्वरका प्राकृतिक चिकित्सक हुन् ।)

मनिषा थापासँगको कुराकानीमा आधारित

घाम भिटामिन 'डी' मनोज ढकाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

१७५ किलो तौल घटाउन चुनौतीपूर्ण शल्यक्रिया, बेरियाट्रिक सर्जरी कति सुरक्षित ?

१७५ किलो तौल घटाउन चुनौतीपूर्ण शल्यक्रिया, बेरियाट्रिक सर्जरी कति सुरक्षित ?

गर्भावस्थामा किन हुन्छ बारम्बार केही खाने इच्छा ?

गर्भावस्थामा किन हुन्छ बारम्बार केही खाने इच्छा ?

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय