+
+

चुनावले जन्माएको चेतनाको विद्रोह

नवराज सुवेदी नवराज सुवेदी
२०७९ कात्तिक २६ गते ९:१९

लोकतन्त्रको एउटा सबैभन्दा ठूलो सुन्दरता भनेकै आवधिक निर्वाचन हो । शक्तिको केन्द्रमा बसेर राज्य सत्ताको बागडोर सम्हाल्ने एवं राज्यको नीति र्निमाण तहमा पुग्ने राजनीतिककर्मीहरु पुनः जनताको विचमा परीक्षण हुने, नयाँ नेतृत्वहरु थपिने र आम मानिसको हातमा सत्ताको चाबी आउने अभूतपूर्व पर्व हो निर्वाचन ।

संसारका चुनावमा देखिएका पुँजीवादी एवं पैसा हुनेहरुको हस्तक्षेप र गलत अभ्यासका परिपाटीहरु पूरा विश्वले व्यहोरिरहेको छ । चुनावी अभ्यासका नराम्रा परिपाटीहरुबाट संसारभरका विकसित राष्ट्रहरुदेखि विकासशील राष्ट्रका जनताहरुले निर्वाचन पछिको परिणाम र नेतृत्वले समाज एवं राष्ट्रलाई दिने योगदानको अवस्थालाई बुझ्न थाले, जसका कारण चुनावी यात्रामा जनताहरु राजनीतिकर्मीहरु भन्दा एक कदम अगाडि देखिन्छन् ।

जसरी समुद्रमा पानीको बहावसँगै केन्द्रबाट छालको लहर आफ्नो अस्तित्वलाई किनारासम्म पुर्‍याउँछ, ठिक त्यसैगरी जनताको चेतनाको छालले राज्यनिर्माताहरु, क्षमतावान, उत्तरदायी र समुदायका लागि आफूलाई समर्पण गर्ने स्वभावका हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको देखिन्छ । यसका साथसाथै गोप्य मतदानका कारण एउटा मानिसलाई कुनै पनि कुराको सीमाभित्र परेर वा बन्धनमा परेर भोट दिनुपर्ने बाध्यता नै हुँदैन, खुसी मनका साथ, आफ्नो बह्मले जे देख्छ, जसलाई योग्य देख्छ, त्यसैलाई भोट दिनुपर्छ भन्ने मान्यताको अभ्यास नेपालमा एउटा छालजस्तै गरेर बढीरहेको छ ।

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा जनताले राजनीतिमा पुस्तान्तरण एवं तीव्र विकासको क्रममा रहेको समाजलाई सम्वोधन गर्न सक्ने क्षमता भएको नेतृत्व खोजेका छन् भन्ने उदाहरण काठमाडौं, धरान र धनगढीबाट देखाइदिए ।

काठमाडौं, धरान र धनगढीको परिणाम वर्षौंसम्म राजनीतिक अभ्यासमै लागेको मान्छे मात्र होइन, जोसुकै भुईंमान्छे पनि योग्य छ भन्ने उदाहरण थियो । त्यहाँका मतदाताले पार्टीको घेराभन्दा माथि उठेर निर्वाचन परिणामलाई अनपेक्षित बनाउन योगदान दिए जसका कारण, अहिले युवा सक्रियता र ऊर्जाले निर्वाचनको माहोललाई नै फरक बनाइदिएको छ । यो राजनीतिक चेतनाको विद्रोह हो,  यही नै लोकतन्त्रको सुन्दर पक्ष हो । यो चेतनाको विद्रोह कति सम्हालिएर अगाडि बढ्छ, त्यसले नै नेपाल र नेपालीको भाग्य/भविष्य निर्धारण गर्ने छ ।

अहिलेको यो माहोललाई कसरी बुझ्ने भन्ने प्रश्न ज्वलन्त बनेको छ । जुन दिन हामीहरु चुनावी खेल र यसका नियमहरुलाई राम्रोसँग बुझ्ने छौं त्यो दिन नेपाल एउटा ठूलो परिवर्तन र समृद्धिको यात्रामा बेजोडले लम्किने छ । सिङ्गो नेपाललाई हेर्ने हो भने मुख्य शहरहरुमा चुनावी खेल बुझ्नेहरुको, राजनीतिलाई सापेक्षतामा हेर्ने/बुझ्नेहरुको क्रम बढीरहेको छ । यसपछिका निर्वाचनहरुमा पनि यसको व्यापक प्रभाव पर्ने पक्का छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा देखिएका लक्षणहरु

स्थानी चुनावपछि नेपाली समाजमा देखिएको मनोविज्ञानले राजनीतिमा नयाँ पुस्तालाई आकर्षित गरेको छ । नयाँनयाँ दृष्टिकोण र योजनासहित आफ्नो क्षेत्रको विकास र परिवर्तनका लागि पछिल्लो पुस्ता पनि चुनावी दौडमा होमिएको छ । पहिले कहिल्यै राजनीतिमा नदेखिएका नयाँ अनुहारहरु विभिन्न किसिमका अर्गानिक एजेन्डा सहित आइरहेका छन् । प्राविधिकरुपमा ठूलो आकार भएका मुख्य राजनीतिक दलहरु भित्र पनि नेतृत्वमा पुस्तान्तरणको सामान्य प्रभाव देखिएको छ ।

अभिमतलाई आफ्नो पक्षमा ल्याउन, अनेक किसिमका खेलहरुको अभ्यास समाजमा हुन्छन् । हरेक चुनावहरुमा दलहरु खेलका नयाँ–नयाँ मोडल लिएर जनताको विचमा आउँछन् । त्यस्ता गलत खेल र अभ्यासमा परिवर्तनको हुटहुटी भएका तिनै युवा प्रयोग भएनन् भने मंसिर चारको निर्वाचनबाट पनि अनपेक्षित परिणाम आउने निश्चित छ । अर्थात् यसपटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भएका अभ्यास र पार्टीहरुले एकअर्काको सहारामा गरेका गठबन्धनको परिणाम अनपेक्षित आउने अनुमान गरिएको छ । मुख्य राजनीतिक दलका शीर्ष नेतृत्वबाहेक, दास्रो तहका र पटक–पटक एउटै क्षेत्रमा चुनावी अभ्यासमा उत्रेका नेताहरुको चुनावी नतिजा अनपेक्षित हुनेछ ।

हुनत झण्डै एक वर्ष अगाडिदेखि पूर्व प्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको रेसबाट बाहिर ल्याएर राजनीतिमा पुस्तान्तरण गर्न युवा हस्तक्षेप हुनुपर्छ भन्ने मान्यताका छलफल र प्रयासहरु नभएका होइनन् तर त्यस्तो खालका प्रयासले केही सामाजिक मुभमेन्ट निकाले पनि शीर्ष नेताहरु अधिकांश ढुक्कले चुनाव जित्ने अवस्थामा छन् । सत्ता गठबन्धनको तालमेलमा रहेका कुल उम्मेदवार मध्ये २८ प्रतिशत क्षेत्रमा गठबन्धन दलहरुबीचको आन्तरीक कारणले एमाले वा गठबन्धन बाहिरका अन्य कुनै पार्टीको पोल्टामा नतिजा जानेछ । १७ प्रतिशत क्षेत्र स्वतन्त्र, साना दलहरु एवं सामाजिक व्यक्तित्वहरुको हातमा जाने सम्भावना छ ।

यसपटकको चुनावमा सत्ता गठबन्धन र प्रतिपक्ष बीचको प्रतिस्पर्धा पार्टीले जिते पनि प्राविधिक रुपमा हार्ने अनि कतिपय ठाउँमा पार्टीले हारे पनि प्राविधिक रुपमा जित्ने खालका रोचक परिणामहरु देखापर्ने छन् ।

(लेखक सुवेदी पूर्व सञ्चारकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?