+

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

२०७९ कात्तिक  २७ गते १८:१४ २०७९ कात्तिक २७ गते १८:१४
बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

काठमाडौं । बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ ।

बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

‘केहीमा दम भएर छाला सुख्खा हुने र एलर्जी हुने समस्या पनि हुन्छ । केही बालबालिकामा उमेरसँगै यो समस्या हराउँदै जाने हुन्छ भने कसैमा भने लामो समयसम्म रहन्छ,’ उनी भन्छन् ।

बालबालिकामा एलर्जीको समस्या हुने विभिन्न कारण छन् । प्रमुख कारण वंशाणुगत कारण हो । बालबालिकामा खानपान, वातावरण र वंशाणुगत कारण पनि एलर्जी हुन्छ । कसैलाई ऊनको कपडाको प्रयोग, लामो समयसम्म डाइपरको प्रयोग र धुलो–धुँवा तथा पाल्तु जनावरको रौंका कारण पनि एलर्जी हुने पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । अण्डा, ड्राइफ्रुट लगायतका खाद्यान्नका कारण पनि एलर्जी हुन सक्छ ।’

डा. विकास पौडेल

चायाले पनि बालबालिकामा एलर्जीको समस्या हुन सक्छ । कपालको चाया जब अनुहार र जीउमा पर्छ, तब एलर्जी हुने उनी बताउँछन् । ‘कीराले टोकेमा पनि एलर्जी हुन्छ । सरसफाइको कमी, सौन्दर्य प्रसाधनको जथाभावी प्रयोग, औषधिको साइड इफेक्ट्स तथा छाला सुख्खा भएमा पनि एलर्जी हुने गर्छ । केही बालबालिकामा लुतोको एलर्जी पनि हुने गर्छ,’ डा. पौडेल भन्छन् ।

हावापानी, वनस्पति र जीवजन्तुका कारण पनि छालामा एलर्जी हुन्छ । धुलो–धुँवा, पाल्तु जनावरको रौं, फूलको परागले पनि एलर्जी हुने उनी बताउँछन् ।

खानपान र खेलौनाले पनि एलर्जी

कुनै खानेकुराले पनि बालबालिकालाई एलर्जी हुन सक्छ । तर विशेषगरी आमाको दूध नखाने बालबालिकामा एलर्जी बढी हुने सम्भावना हुन्छ । केहीलाई वंशाणुगत रूपमा केही खानेकुराको एलर्जी हुने पौडेल बताउँछन् ।

‘खेलौना कुनै फाइबर, प्लास्टिक त कुनै मेटलबाट बनेको हुन्छ,’ उनी भन्छन्, ‘साना बालबालिकालाई मेटलको एलर्जी भएको त धेरै पाइएको छैन । ती खेलौनामा प्रयोग भएको रङ्ग र केमिकलबाट भने एलर्जी हुन सक्छ ।’

एलर्जी बारम्बार बल्झिरहन्छ

जबसम्म एलर्जी हुने कुरासँग सम्पर्क भइरहन्छ, जबसम्म एलर्जी बारम्बार बल्झिरहन्छ । त्यसैले त्यो एलर्जी हुने कुराको सम्पर्कबाट टाढा रहनुपर्छ ।

कसैलाई भने सिजनल एलर्जी हुन्छ । कसैलाई कीराको एलर्जी छ भने असार साउन मौसममा एलर्जी हुने र हरेक वर्ष त्यो मौसममा एलर्जी हुने हुन्छ । जाडो मौसममा छाला सुख्खा हुने भएकाले हरेक जाडो मौसममा एलर्जी बल्झिने हुन सक्छ । जब छाला सुख्खा हुन्छ, तब बाहिरी कुरा छालाभित्र सजिलै पुग्न सक्छ र एलर्जी हुन्छ । वंशाणुगत कारण एलर्जी भएको छ भने त्यो त झन् बल्झिने डा. पौडेल बताउँछन् ।

जटिलता

एलर्जीले छाला मोटो हुँदै जाने, कालो हुने र अरू संक्रमण हुने सम्भावना बढ्छ । फंगस, भाइरस र बाहिरी कीटाणुको संक्रमण हुने सम्भावना पनि बढ्छ । एलर्जीको समयमै उपचार गरिएन भने भाइरस संक्रमण भएर मुटु, फोक्सोमा नै असर गर्ने डा. पौडेल बताउँछन् ।

‘एलर्जीको समस्या भए दैनिकीमा पनि असर पर्छ । बच्चालाई एलर्जी भएर चिलाएको छ भने पढाइमा ध्यान दिन सक्दैन,’ उनी भन्छन्, ‘एलर्जीले गर्दा तनाव भएर कोठामा नै बस्ने घर बाहिर ननिस्कने जस्ता सामाजिक र मानसिक समस्या पनि निम्ताउन सक्छ ।’

एलर्जी भएमा के गर्ने ?

के कुराले एलर्जी भएको हो भनेर थाहा पाउन विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ । एलर्जी टाइप वान र टाइप फोर दुई प्रकारका हुन्छन् । बच्चाहरूमा बढी हुने टाइप वान हो । कुन चिजले एलर्जी भएको हो भनेर ‘प्रिक टेस्ट’ र रगतको परीक्षण गरिन्छ ।

टाइप फोर एलर्जीको ‘प्याप टेस्ट’ हुन्छ । तर टेस्ट बालबालिकामा धेरै गरिंदैन । केहीमा  बायोप्सी परीक्षण पनि गर्नुपर्ने पौडेल बताउँछन् ।

उपचार

एलर्जीको लक्षणअनुसार उपचार हुने डा. पौडेल बताउँछन् । एलर्जीको सबैभन्दा प्रभावकारी उपचार भनेको के कुराले एलर्जी हुन्छ, त्यसको सम्पर्कबाट टाढा हुनु हो । छालालाई नरम र मोइस्चराइजर बनाइराख्नुपर्छ । कुनै एलर्जीमा लगाउने मलम र केहीमा खाने औषधिको सेवनबाट पनि एलर्जीको उपचार गरिन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्ने पौडेल बताउँछन् ।

वंशाणुगत एलर्जीलाई रोक्न सकिंदैन, तर केही हदसम्म भए पनि कम भने गर्न सकिन्छ । बच्चालाई एलर्जी हुनै नदिन एलर्जी हुने चिजबाट टाढा राख्नुपर्छ । छालालाई सुख्खा हुन नदिन मोइस्चराइजर लगाइदिनुपर्छ । कतिपय कपडाले छालामा एलर्जी गराउने हुँदा प्रायः कटनको कपडा प्रयोग गर्नु राम्रो हुने उनी सुझाउँछन् ।

‘कुनै पनि ठाउँ, हावापानी, वनस्पति, जीवजन्तुका कारण एलर्जी भएको हो भने त्यसबाट टाढा राख्ने । चिसो हावा, धुलो, धुँवा र ओसिलो ठाउँबाट जोगाउनुपर्छ,’ डा. पौडेल बताउँछन् ।

एलर्जी बालबालिका
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय