+
+

भीम रावललाई बाहिर राखेर ओलीले उठाएको जोखिम

यसपटक माओवादी केन्द्रले गठबन्धन बदलेको मात्रै छैन, एमाले फुटेर बनेको एकीकृत समाजवादी सत्ता गठबन्धनमै छ । यस्तो बेला भीम रावलको असन्तुष्टि एमालेका निम्ति थप चुनौती बनेको देखिन्छ ।

सइन्द्र राई सइन्द्र राई
२०७९ मंसिर १ गते २१:३४

१ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता भीम रावल प्रचारप्रसारको समय सकिने अन्तिम दिन मात्रै गृह प्रदेश सुदूरपश्चिम पुगेका छन् । ‘यसपटक आफैं उम्मेदवार हुनुहुन्न, मतदान गर्न आउनुभएको हो’, रावल निकट एक नेताले भने । ती नेताका अनुसार, रावल बिहीबार साँझ अछाम पुगेका छन् ।

जबकी सुदूरपश्चिममा रावलको खोजी प्रचारप्रसारको पहिलो दिन नै भएको थियो । दार्चुलाबाट प्रचारप्रसार अभियान उद्घाटन गरेर कञ्चनपुर झरेका ओलीसँग १८ कात्तिकमा सभाका सहभागीले भीम रावलबारे जवाफ मागेका थिए । मञ्चबाट सम्बोधन गरिरहँदा आएको यस्तो प्रश्नप्रति रिसाएका ओलीले रावलको खोजी नगर्न आह्वान गरे ।

त्यसदिन ओलीले भनेका थिए, ‘भीम रावलको तपाईंलाई किन चिन्ता ? ४८ सालदेखि एकछिन मुख खाली छैन, बुढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता !’ लेखराज भट्टलाई साथमा लिएर प्रचार अभियान अगाडि बढाएका ओलीले सुदूरपश्चिममा भएका अरु रावलहरुलाई अगाडि बढाउने बताए । ‘अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, के को खेती गरिराख्या भीम रावल । थुप्रै रावलहरु हुनुहुन्छ नि त सुदूरपश्चिममा, थुप्रो रावलहरुलाई अगाडि बढाइन्छ’, ओलीले भनेका थिए ।

तर रावलको खोजी कञ्चनपुरको त्यो सभामा सीमित भएन, अरुतिर फैलियो । हरेक अन्तर्वार्तामा ओलीसँग सोधिने अनिवार्य प्रश्नजस्तै बन्यो– भीम रावल । सुदूरपश्चिमसहित राष्ट्रिय राजनीतिमा रावलको प्रभाव, एमालेको आन्तरिक राजनीतिक पृष्ठभूमि र स्वयं रावलको प्रतिक्रियाले यस्तो परिस्थिति बन्न पुगेको हो ।

आफूबारे ओलीले मञ्चबाट गरेको टिप्पणीमा रावलले तत्काल प्रतिप्रश्न गरेका थिए, ‘६७ वर्षको आफूभन्दा ७० वर्षका ओली बुढो हुन्, दुवै जना २०४८ देखि चुनाव लड्दै आएका छौं र जातकै कुरा गर्ने हो भने युवा उमेरका ओलीहरुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री किन नबनाउने ?’ सहभागीले आफूलाई खोज्दा ओली उत्तेजित हुनुले अछामी जनताको निर्णय उल्ट्याउनुको रहस्य खुलेको तर्क रावलले गरेका थिए ।

यसपछि पनि एमाले सभामै ओलीलाई भीम रावलबारे सोधियो । २८ कात्तिकमा आयोजित दैलेखको सभामा सम्बोधन गरिरहेका ओलीलाई सहभागीले भीम रावलबारे प्रश्न गरे । ओलीको जवाफ उस्तै थियो– भीम रावलको खोजी नगर्नू ।

‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए, अछाम त्यहीं पारिपट्टी छ, जानुस्’ मञ्चबाटै ओलीले भनेका थिए ।

जवाफमा रावलले कविता लेखे, ‘बोल्न बन्द गर !’

‘जहाँ टेक्छु पाइला मैले, त्यही हुन्छ धन्य

किट पतंग सरी बन्छन्, जो–जो हुन्छन् अन्य,

मेरो बाणी अमृत हो, विष तिम्रा स्वर

मेरो आयु अजर अमर, तिमी हौ नश्वर ।’

यी हरफबाट ओलीको नेतृत्व शैलीप्रति कटाक्ष गरेका रावलले चुनावमा आफ्नो भूमिकाबारे चाहिँ २७ असोजमै प्रष्ट पारेका थिए । अछाम–१ बाट सर्वसहमत सिफारिस भएर पनि टिकट नपाएपछि काठमाडौंको एक ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी रावलले एमालेका सबै उम्मेदवारको पक्षमा मत नमाग्ने बताएका थिए । त्यसदिन रावलले भनेका थिए, ‘जनताको भावनालाई गम्भीर रुपमा हेरेर निर्णय लिन्छु ।’

नामै लिएर राजावादी कमल थापा, ‘होली वाइन’का प्रवर्तक एकनाथ ढकाल आफ्नो पार्टीको उम्मेदवार बन्न नसक्ने बताएका थिए । सँगै, आफूले टिकट नपाउनुमा चुच्चे नक्साप्रति लिएको अडान र एमसीसीको विपक्षमा गरेको मतदान सम्झेका थिए । यसरी राष्ट्रवादी मनोविज्ञान आफूतिर तानेका रावललाई बेवास्ता गरेरै ओली अगाडि बढे ।

रावलप्रति ओली अनुदार हुनुमा भने २०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा हुनु थियो । रावलकै अडानका कारण ओलीले पदाधिकारीसहित केन्द्रीय कमिटीको सूची बन्दसत्र हलमा प्रस्तुत गर्दा पनि मतदान गर्नुपर्ने अवस्था आएको थियो । तर ओलीले सजिलै अध्यक्ष जितेका थिए ।

१८३७ मत पाएर ओलीले अध्यक्ष जित्दा रावलले २२३ मत मात्रै पाएका थिए । तर ओलीले यसैलाई ‘इगो’को विषय बनाए । १० बुँदे सहमति गरी एमालेमै बसेका रावललाई टिकट नलिने अडान लिए । माओवादी केन्द्रबाट आएका लेखराज भट्ट र झपट बोहरासमेत रावललाई टिकट दिन सहमत हुँदा ओली अडानमै रहे । बोहरा इन्चार्ज अछाम र भट्ट प्रदेश इन्चार्ज सुदूरपश्चिमबाट रावलको नाम सर्वसम्मत काठमाडौं पठाइएको थियो ।

रावल नहुनुको असर 

सुदूरपश्चिम एमालेका एक नेता, केपी ओलीसँग रावलले गरेको सवाल–जवाफ र प्रचारप्रसारमा देखाएको निष्क्रियताले राम्रै असर पार्ने बताउँछन् । ‘२०४८ सालदेखि सुदूरपश्चिमका एमालेले चिनेको नेता हो, भीम रावल । शेरबहादुर देउवासँग केन्द्रमा प्रतिस्पर्धा गर्ने नेता भनेर उहाँले (शेरबहादुर देउवा) परिचय बनाउनुभएको छ’ ती नेता भन्छन् ।

राजनीतिक करिअरको पुरै अवधि साथ दिएका माधव नेपाल छोडेर एमालेमै बस्दा पनि रावललाई टिकट नदिएपछि रुष्ट कार्यकर्ताले त पार्टी नै परित्याग गरेका छन् । रावलले टिकट नपाएपछि अछामका ३१ जना जिल्ला सदस्यसहित ४८ जनाले बक्तव्य जारी गरेरै एमाले छोडेका थिए । अझ रावलसँग झुकाव राख्ने नेताहरुलाई समेत टिकट नदिइनुको असर यसपटक सुदूरपश्चिम एमालेमा पर्ने देखिन्छ ।

अछामसँगै जोडिएको डोटी एमालेले सर्वसम्मत रुपमा एकल सिफारिस गरेका चक्र मल्ललाई टिकट नदिएर गौरी ओलीलाई एमालेले उम्मेदवार बनाएको छ । जबकी सुदूरपश्चिममा एमाले भनेकै रावलजस्तो परिस्थिति दुई वर्ष अगाडिसम्म थियो ।

५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा सुदूरपश्चिम प्रदेशमा बहुमत नेता रावलतर्फ थिए । नेकपा विभाजन पछि एमालेको विवाद उत्पकर्षमा पुग्दा प्रदेशसभाका २५ एमाले सांसद मध्ये १७ जना ओली इतर समूहमा थिए ।

उनीहरुले २५ जेठ २०७८ मा फ्लोर क्रस गर्दा त्रिलोचन भट्टको मुख्यमन्त्री पद जोगिएको थियो । २ भदौ २०७८ मा नेकपा एकीकृत समाजवादी बन्दा १४ प्रदेशसभा सदस्यले एमाले छोडेका थिए । यसको आधार भीम रावलले नै तयार पारेका थिए ।

‘पार्टी केन्द्रमा केपी ओलीको जस्तो दबदवा अहिले छ, सुदूरपश्चिममा भीम रावल झण्डै त्यस्तै थिए’, अछामकै एक नेता भन्छन् । पार्टीको जितलाई भीम रावलसँगै जोडेर हेर्ने प्रचलन थियो । २०७४ मा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस एक सिटमै (शेरबहादुर देउवाले मात्रै जिते) सीमित हुनुको जस रावलले लिएको ती नेता बताउँछन् ।

जितमा मात्रै नभएर हारमा पनि रावलले कांग्रेसका देउवालाई चुनौती दिने गरेकाले सुदूरपश्चिममा उनको उचाइ अग्लो बन्न पुगेको थियो । २०४८ को चुनावमा सुदूरपश्चिमभर एमाले शून्य हुँदादेखि नै चुनाव लडेका रावल, एमाले उपाध्यक्ष र उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत भए । पार्टीको मुख्य नेतृत्वसँग नजिक रहेर राष्ट्रिय राजनीतिमा एमालेका तर्फबाट पोजिसन लिने अवसर पाएकाले पनि रावलको प्रभाव थप बलियो बन्न पुगेको थियो ।

अझ राष्ट्रवादी एजेण्डामा ओलीभन्दा अगाडि रावल उत्रने गरेकाले पनि आउने चुनावमा असर देखिने संभावना छ । रावल निकट नेता भने सुदूरपश्चिम प्रदेशमा मात्रै नभएर देशभर यसको असर पर्ने दाबी गर्छन् । ‘पार्टीभित्र अन्यायमा परेपनि भीम रावलको लोकप्रियता केपी ओली भन्दा बढी छ’, ती नेता भन्छन् ।

तर ओली र उनी निकट नेताहरु भीम रावलको कुनै प्रभाव नरहेको बताउँदै आएका छन् । सुदूरपश्चिमको १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये आधा भन्दा जित्ने दावी एमाले नेताहरुले गरेका छन् । त्यसमा दार्चुला, बझाङ, बाजुरा, कञ्चनपुर–३ र कैलाली–५ लाई सजिलै जित्ने क्षेत्रमा राखेका छन् ।

कति सजिलो ?

एमालेविरुद्ध साझा उम्मेदवारी दिएको सत्ता गठबन्धनका नेताहरुले भने रावलको असन्तुष्टिबाट आफूहरुलाई राम्रै लाभ हुने दाबी गरेका छन् । सुदूरपश्चिममा कांग्रेसले ९, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले ३ क्षेत्र लिएको छ । एमालेले भने डडेलधुरा नेपाली कांग्रेस (बीपी) का लागि छोडेको छ भने कञ्चनपुरमा राप्रपाको साथ पाएको छ ।

सत्ता गठबन्धनमा एकीकृत समाजवादीले पाएको डोटी, बझाङ र अछाम–१ मा एमाले पूर्वसहकर्मीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सत्ता गठबन्धनबाट अछाम–१ मा उम्मेदवार रहेका शेरबहादुर कुँवर अहिले संघीय सरकारकै श्रम मन्त्री छन् । माओवादी केन्द्रको देशब्यापी लहर आएको २०६४ मा पनि कुँवरले एमालेबाट जितेका थिए । त्यसबेला भीम रावल समानुपातिक तर्फ बसेका थिए ।

२०७० र २०७४ मा रावल आफैं उम्मेदवार बने र जिते । २०७४ मा राष्ट्रियसभा सदस्य रहेका कुँवरलाई यो चुनावमा सत्ता गठबन्धनको समर्थन छ । २०७४ मा रावलले २४ हजार ८९३ मत पाएर जित्दा कांग्रेसका भरतकुमार स्वारले १७ हजार ६८९ मत ल्याएका थिए । अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी र भीम रावलको असन्तुष्टिको मत कुँवरले पाउँदैछन् । एमालेले कुँवरविरुद्ध माओवादी केन्द्र छोडेर आएका झपट बोहरा मैदानमा उतारेको छ ।

बझाङमा पनि एकीकृत समाजवादीसँगै एमालेको प्रतिस्पर्धा छ । २०४८ कै चुनाव लडेका भानुभक्त जोशीलाई एकीकृत समाजवादीले उम्मेदवार बनाएको छ । उनीविरुद्ध विद्यार्थी राजनीतिबाट आएका ऐन महरलाई एमालेले चुनावी मैदानमा उतारेको छ । २०७४ मा भने बझाङबाट एमालेका भैरवबहादुर सिंहले ३४ हजार ६१२ मत ल्याएर जितेका थिए । त्यसबेला कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत पाएका थिए ।

यसअघि आफैले जिताएको प्रेम आले हराउनु यसपटक एमालेका निम्ति चुनौती हो । २०७४ मा आलेले ३२ हजार ५१० मत ल्याएर जित्दा कांग्रेसका बीरबहादुर बलायरले ३० हजार ८७८ मत ल्याएका थिए । यसपटक आलेलाई कांग्रेस र माओवादी केन्द्रको समर्थन छ । एमालेले आलेविरुद्ध गौरी ओलीलाई प्रतिस्पर्धामा उतारेको छ ।

बाँकी क्षेत्रमा भने कांग्रेस र माओवादी केन्द्रसँग एमालेको प्रतिस्पर्धा हुनेछ । अछाम–२ मा एमालेले २०७४ मा जितेका यज्ञ बोगतीले उम्मेदवार बनाएको छ । त्यसबेला २१ हजार ९६५ मत ल्याएर बोगटीले जित्दा कांग्रेसका पुष्पबहादुर शाहीले १९ हजार १०६ मत ल्याएका थिए । यसपटक सत्ता गठबन्धनबाट शाह नै मैदानमा छन् ।

बाजुरामा एमालेले कर्ण थापा उम्मेदवार बनाएको छ । २०७४ मा बाजुराबाट लालबहादुर थापाले जितेका थिए । एमाले उम्मेदवार थापाले २८ हजार ६५ मत ल्याएर जित्दा कांग्रेसका कविराज पाण्डेले २३ हजार १८१ मत ल्याएका थिए । तर यसपटक कर्णविरुद्ध सत्ता गठबन्धनबाट कांग्रेस सहमहामन्त्री बद्री पाण्डेलाई मैदानमा उतारेको छ ।

सूदुरपश्चिमको पहाडी जिल्ला बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेश ठगुन्ना उम्मेदवार एमाले उम्मेदवार छन् । बैतडीमा भण्डारीले २०७४ को चुनाव पनि जितेका थिए । त्यसबेला भण्डारीले ३५ हजार ५२४ मत ल्याएर जित्दा कांग्रेसका नरबहादुर चन्दले २८ हजार २९१ मत ल्याएका थिए । यसपटक एमालेले माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

दार्चुलाका ठगुन्नाले यसपटक पनि कांग्रेसका दिलेन्द्र बडूसँग प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो चुनावमा ठगुन्नाले २८ हजार ९९८ मत ल्याएर जित्दा बडूले २२ हजार २३३ मत ल्याएका थिए । डडेलधुरामा भने एमालेले उम्मेदवारी नै दिएको छैन । २०७४ को चुनावमा माओवादी केन्द्रका खगराज भट्टविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवाले जितेका थिए । देउवाले २८ हजार ४४६ मत ल्याएर जित्दा माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९१ मत पाएका थिए ।

सुदूरपश्चिमका बाँकी आठ क्षेत्र कैलाली र कञ्चनपुरमा पर्छ । कञ्चनपुर–१ तारा लामा, कञ्चनपुर–२ मा नरबहादुर धामी र कञ्चनपुर–३ निरुदेवी पाललाई एमालेले उम्मेदवार बनाएको छ । लामाले सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रका बिना मगरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मगरले २०७० देखि यो क्षेत्रमा चुनाव लड्दै आएकी छिन् । २०७४ मा मगरले ३८ हजार ४६७ मत ल्याएर जित्दा कांग्रेसका दिवानसिंह बिष्टले १९ हजार २१९ मत पाएका थिए ।

कञ्चनपुर–२ मा एमालेबाट नरबहादुर धामी उम्मेदवार छन् । २०७४ मा पनि धामीले जितेका थिए । त्यो चुनावमा धामीले ३३ हजार २२० मत ल्याएर जित्दा कांग्रेसका एनपी साउदले २४ हजार ८९३ मत ल्याएका थिए । सत्ता गठबन्धनले यसपटक धामीविरुद्ध साउदलाई नै अगाडि सारेको छ ।

कञ्चनपुर–३ मा एमालेले कांग्रेसका रमेश लेखकविरुद्ध निरु पाललाई उम्मेदवार बनाएको छ । ०७४ को चुनावमा भने लेखकलाई एमालेबाट डा. दीपकप्रकाश भट्टले झिनो अन्तरले पराजित गरेका थिए । भट्टले २६ हजार ३६४ मत ल्याउँदा लेखकले २६ हजार १०६ मत ल्याएका थिए ।

एमालेबाट कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा नारदमुणि राना उम्मेदवार छन् । कैलाली–१ मा यसपटक पनि रेशम चौधरीको बलियो प्रभाव छ । २०७४ को चुनावमा चौधरीले ३४,३४१ मत ल्याएर जित्दा एमालेका गरिमा शाहले १३,४०६ मत पाएका थिए ।

शाह एकीकृत समाजवादीतिर लागेकाले एमालेले तपेन्द्र रावललाई उम्मेदवार बनाएको छ । सत्तागठबन्धनले कांग्रेसका रामजनम चौधरी र रेसमको पार्टी नागरिक उन्मुक्तिबाट पत्नी रञ्जिता श्रेष्ठ उम्मेदवार छन् ।

कैलाली–२ मा एमालेले झपट रावललाई नै उम्मेदवार बनएको छ । ०७४ मा रावलले २५,२५७ मत ल्याएर जित्दा कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत पाएका थिए । यसपटक सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भगवत बडुवाल र नागरिक उन्मुक्तिका अरुण चौधरी मैदानमा छन् ।

कैलाली–३ गौरीशंकर चौधरीलाई एमालेले उम्मेदवार बनाएको छ । ०७४ मा माओवादी केन्द्रबाट उम्मेदवार रहेका चौधरीले २४,८७९ मत ल्याएर जित्दा कांग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए । यसपटक सत्ता गठबन्धनबाट माओेवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धामा छन् ।

कैलाली–४ मा कांग्रेसका बीरबहादुर बलायरविरुद्ध एमालेले लेखराज भट्टलाई अगाडि बढाएको छ । ०७४ मा पनि भट्टले नै यो क्षेत्रबाट जितेका थिए । भट्टले ३१ हजार ३५९ मत ल्याएर जित्दा कांग्रेसका सुनीलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए ।

सुदूरपश्चिमको राजधानी रहेको कैलाली–५ मा पनि एमालेले निवर्तमान सांसद नारदमुनि रानालाई उठाएको छ । ०७४ मा रानाले २७ हजार २०२ मत ल्याएर जित्दा कांग्रेसकी आरजु रानाले २२ हजार ३२२ मत ल्याएका थिए । सत्ता गठबन्धनले यसपटक उम्मेदवार परिवर्तन गर्दै रानाविरुद्ध डिल्लीराज पन्तलाई उठाएको छ ।

यी तथ्यहरुले ०७४ को चुनावमा एमालेले १६ मध्ये ११ क्षेत्र जित्नुमा माओवादी केन्द्रसँगको गठबन्धनले काम गरेको देखाउँछ । किनभने कैलाली–४ मा लेखराज भट्ट र कञ्चनपुर–१ मा बिना मगरले बाहेक कसैको पनि मतान्तर १० हजार भन्दा कम छ । दुई पार्टी मिल्दा पनि डडेलधुरामा देउवाले सात हजार मतान्तरले जितेका थिए । डोटी, अछाम–२, कञ्चनपुर–३, कैलाली–२ मा दुई हजारको अन्तरमा एमालेले जितेको छ ।

तर यसपटक माओवादी केन्द्रले गठबन्धन बदलेको मात्रै छैन, एमाले फुटेर बनेको एकीकृत समाजवादी सत्ता गठबन्धनमै छ । यस्तो बेला भीम रावलको असन्तुष्टि एमालेका निम्ति थप चुनौती बनेको देखिन्छ । किनकि ८ निर्वाचन क्षेत्र रहेको कैलाली र कञ्चनपुरमा पहाडी जिल्लाबाट झरेर बसोबास गर्नेहरुको संख्या ठूलो छ । ‘सभामै भीम रावल चाहियो भनेर नाराबाजी गर्नुले पनि कैलाली र कञ्चनपुरमा पहाडी क्षेत्रको जनमत बुझ्न सकिन्छ’, कैलाली एमालेका एक नेता भन्छन् ।

कैलाली र कञ्चनपुरमा रेशम चौधरीको प्रभाव अनि एमालेभित्रै लेखराज भट्ट र कर्ण थापाबीचको द्वन्द्व त छदैछ । तर एमाले नेताहरुले भने गठबन्धनभित्र हुने असन्तुष्टि तानेर जित्ने दाबी गर्दैछन् । विशेषगरी माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसले मत नदिने अनुमान एमाले नेताहरुमा देखिन्छ । त्यो भनेको सात क्षेत्र हो । बाँकीमा कांग्रेसकै उम्मेदवार छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?