+
+

काठमाडौं १० मा कांग्रेसलाई अझै घण्टीको त्रास

राजन केसीले करिब २ हजार मतको अग्रता लिएका छन् । तर गणना हुन बाँकी रहेको दक्षिणकाली नगरपालिकामा राप्रपा उम्मेदवारले र चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै मत पाएमा परिणाम उल्टिन सक्ने त्रास कांग्रेस नेताहरुमा देखिन्छ ।

विजय पराजुली विजय पराजुली
२०७९ मंसिर ६ गते १९:१५
काठमाडौं-१० का कांग्रेस उम्मेदवार राजन केसी ।

६ मंसिर, काठमाडौं । काठमाडौं– १० मा मतगणना सुरु भएदेखि अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार राजन केसी आफ्ना प्रतिस्पर्धीभन्दा करिब १९०० मतले अगाडि छन् । तर आफ्नो जितप्रति उनी अझै ढुक्क हुन सकेका छैनन् । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै राप्रपा र माओवादी केन्द्रका उम्मेदवारले मत काट्न सक्ने हुनाले कांग्रेस दबावमा छ ।

सत्ता साझेदार दलहरुले देशव्यापी गठबधन गर्दा यो क्षेत्रमा कांग्रेससँगै माओवादी केन्द्रले छुट्टै उम्मेदवारी दिएको छ । केन्द्रमा भएको सहमतिअनुसार प्रदेशसभामा उम्मेदवार नछाडेको भन्दै माओवादीकी अञ्जना विशंखे छुट्टै उम्मेदवारी दिएकी छन् । यद्यपि एकीकृत समाजवादीको समर्थन कांग्रेसलाई छ । एमालेका हिमेश केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं–१० मा कीर्तिपुरसँगै चन्द्रागिरी र दक्षिणकाली नगरपालिका पर्छ । आइतबार भएको मतदानमा ५३ हजार ६४५ मत खसेको थियो, जसमध्ये कीर्तिपुरको करिव २० हजार मत गणना गरिसक्दा कांग्रेसका राजन केसीले ६ हजार ६ मतसहित अग्रता बनाएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विष्टले ४ हजार १३१ मतसहित पछ्याइरहेका छन् । एमालेका हिमेश केसीले ३ हजार ६०२, माओवादीकी उम्मेदवार विशंङ्खेले २ हजार २०४ र राप्रपाका बलराम थापाले १७१८ मत पाएका छन् । यो मतप्रति कांग्रेस नेताहरु सन्तुष्ट छैनन् ।

उनीहरुका अनुसार कीर्तिपुर क्षेत्रबाट राजनले झण्डै ३ हजारको अग्रता बनाउने अपेक्षा थियो । किनकी गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले कीर्तिपुर नगरमा ऐतिहासिक जित हात पारेको थियो । तर रास्वपाका विष्टले यो क्षेत्रबाट राम्रै मत पाएका छन् ।

यो क्षेत्रमा अहिले दक्षिणकाली नगरपालिकाको गणना सुरु भएको छ भने त्यसपछि चन्द्रगिरीको हुनेछ । दुबै नगरपालिकाको प्रमुखमा अघिल्लो पटक र यो पटक कांग्रेसले नै जितेको थियो । तर राजनको अग्रता कायम रहनेमा कांग्रेस नेताहरु ढुक्क हुन सकेका छैनन् ।

मतगणना स्थलमा भेटिएका कांग्रेसका एक प्रतिनिधिका अनुसार त्यसको एउटा कारण हो, दक्षिणकाली क्षेत्रमा राप्रपा उम्मेदवारको प्रभाव । लामो समय कांग्रेसमा रहेका थापा यो पटक राप्रपाबाट उम्मेदवार बनेका छन् । दक्षिणकाली नगरपालिका फर्पिङका उनले आफ्नो क्षेत्रबाट जति मत पाउँछन्, त्यो धेरै हदसम्म राजनकै काटिने मतमा पर्छ ।

चन्द्रागिरी नगरपालिकामा भने माओवादी उम्मेदवार विशंखेले मत काट्नसक्ने कांग्रेस नेताहरुका आंकलन छ । यो उनको आफ्नै घर भएको क्षेत्र हो ।

यही बेला आफूले कांग्रेस उम्मेदवार राजनलाई उछिन्ने रास्वपाका उम्मेदवार विष्टको दाबी छ । कीर्तिपुरमा आफूलाई कम मत आएको भएपनि राजनले पनि २०७० मा प्रचण्ड र ७४ मा हितमान शाक्यलाई हराउँदा जस्तो अग्रता लिन नसकेको भन्दै उनले सुनाए । चन्द्रागिरीले क्षतिपूर्तिसहित आफूलाई अग्रता दिलाउने भन्दै उनले भने, ‘दक्षिणकालीमा खसेको करिब २० प्रतिशत मत मैले पाउँछु । चन्द्रागिरीमा सबै उम्मेदवारलाई उछिनेर मैले जित्छु ।’

मतदानस्थलमै भेटिएका कांग्रेस उमेदवार केसी भने आफ्नो जित निश्चित भएको दाबी गर्छन् । अहिलेको अग्रता बढ्दै जाने र आफूले जित्ने उनको दाबी छ ।

समानुपातिकमा घण्टी र हलोको रुझान

प्रत्यक्षमा अग्रता लिइरहेको कांग्रेसले समानुपातिकमा भने कडा प्रतिस्पर्धाको सामना गर्नु परेको छ । कांग्रेससँगै एमाले र माओवादीको मत समानुपातिकमा रास्वपा (घन्टी) र राप्रपा (हलो) ले पाएको देखिन्छ ।

कीर्तिपुर नगरपालिकाको १ देखि ६ नम्बर वडामा कांग्रेसले प्रत्यक्षतर्फ ३ हजार ९८३ मत पाएको थियो । तर समानुपातिकमा ३ हजार २६८ मात्र पायो । त्यो मत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपातिर गएको देखिन्छ ।

प्रत्यक्षमा २ हजार ८८३ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ३ हजार २२३ मत पायो । यस्तै १ हजार ४७१ मत प्राप्त गरेको राप्रपाले पनि समानुपातिकमा भने २ हजार ६६ मत प्राप्त गरेको छ । समानुपातिकमा एमालेको भन्दा राप्रपाको मत बढी छ । प्रत्यक्षमा २ हजार ४२७ मत ल्याएको एमाले समानुपातिकमा १ हजार ९६६ मात्रै छ ।

प्रत्यक्षमा १ हजार २७८ मत प्राप्त गरेका माओवादीले समानुपातिकमा १ हजार १९६ मत प्राप्त गरेको छ । प्रत्यक्षमा राष्ट्रिय जनमार्चाले ९८१ मत प्राप्त गर्दा समानुपातिकमा १ हजार १० मत प्राप्त गरेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?