+
+

धवलशमशेर : एक ‘राजा’को संसदीय तिलक

अनौठो चुनावी तालमेल, फरक आदर्श, अनि भिन्न राजनीतिक गन्तव्य । एमालेसँग सहकार्य गरेर राप्रपाको हलोबाट चुनाव जितेर संसदसम्म पुग्न यस्ता थुप्रै विरोधाभासको सामना गरे धवल ‘राजा’ले ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:५८

७ मंसिर, बाँके । राजनीतिको कठिन अनि अनिवार्य परीक्षा हो चुनाव । धवलशमशेर राणाका लागि त यो चुनाव आफ्नो राजनीतिक जीवनको अझ कठोर परीक्षा थियो । सम्भावनाको एउटा त्यान्द्रो बोकेर २८ वर्षपछि त्यही चुनौतीको सामना गर्न उत्रिएका राप्रपा महामन्त्री धवलले यसपालि बाँके–२ मा फराकिलो विजयको झन्डा फहराएका छन् ।

संसद पुग्ने आकांक्षा तेस्रो प्रयासमा पूरा गरेका ६० वर्षे धवलको यस पटक सानदार ‘इन्ट्री’ भएको छ । २५ वर्षपछि आफ्ना पुराना एमाले दौंतरीहरूको साथ पाएका धवलले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गरे ।

धवल २९ हजार ५७७ मत ल्याएर विजयी हुँदा राईले २३ हजार ५२० मत ल्याए । अर्का उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणा ४ हजार ४०३ मतका साथ तेस्रो स्थानमा रहे ।

त्यो प्रयास, यो उत्सव

३० वर्षे पञ्चायत शासन ढलेपछि पुराना पञ्चहरुको ओत र ‘बहुदलीय’ व्यवस्थालाई समेत टक्कर दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जन्मिएको थियो २०४७ सालमा । त्यसमा सोझो÷घुमाउरो साथ दरबारको पनि थियो ।

पञ्चायतदेखि दुई गुटमा विभाजित पञ्चहरु यसपछि पनि एकै ठाउँमा बस्न सकेनन् । सूर्यबहादुर थापाले राप्रपा (थापा) बनाए, लोकेन्द्रबहादुर चन्दले राप्रपा (चन्द) । तर दुबै समूह २०४८ को आम निर्वाचनमा नराम्रोसँग बिलाए । २०५ ससंदीय क्षेत्रमध्ये एक ठाउँमा थापा र तीन ठाउँमा चन्द पक्षले जित्यो ।

राजनीतिक महत्वाकांक्षाको उडान भरिरहेका धवलले भर्खरै बहुदल आएको त्यो बेला नै ‘पञ्चेहरूको पार्टी’ भनेर चिनिने राप्रपाको युवा संघ हाँकेका थिए । उनी छिटो माथि जाने राजनीतिको भर्‍याङ खोजिरहेका थिए । त्यसैले राप्रपामा तत्काल आफ्नो ‘चान्स’ देखेनन् । विस्तारै राप्रपा राजनीतिमा सुस्त देखिन थाले र २०५१ सालको आम चुनावमा उनी ‘स्वतन्त्र उम्मेदवार’ भएर संसदीय चुनाव लडे ।

त्यो चुनाव उनलाई जित्नु त थिएन, तर देखाउनुथियो, ‘धवल पनि संसदीय चुनाव लड्न सक्छ ।’

तर थापा र चन्द मिलेर बनेको राप्रपा बाँकेका तीनवटै सिटमा राप्रपा विजयी भयो । पञ्चायत ढलेको पाँच वर्षमै यहाँका जनताले फेरि तिनै ‘पञ्च’हरूलाई संसद भवन छिराए । त्यसबेला बाँकेमा चलेको राप्रपाको ‘हुरी’ले धवललाई कोसौं पर हुत्याइदिएको थियो । उनी धुलो टकटक्याउँदै उठे । शक्तिको छाता खोजिरहेका धवल २०५२ सालमा नेकपा एमाले प्रवेश गरे ।

२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेले उनलाई नेपालगञ्ज नगरपालिकामा मेयरमा चुनाव लड्न टिकट दियो । देशैभरि एमालेको लहर चल्दा धवल पनि चेयर चुनिए । डगमगाइसकेका उनका महत्वाकांक्षी पाइलाहरू अलिअलि थामिए ।

२०५६ पछि त देशमा चुनाव नै हुन सकेन । माओवादी द्वन्द्व र देशको राजनीतिक अस्थिरतामा गुुज्रेका ८ बर्षमा धवल धेरै बदलिसकेका थिए । आफ्नो ‘आदर्श’ मान्ने राजसंस्थाको अन्त्य हुनुभन्दा पहिला नै उनी फेरि पुरानै घर राप्रपा फर्किसकेका थिए । २०६३ सालको राजनीतिक र शाककीय स्वरुप परिवर्तन हुँदै गर्दा धवल राप्रपाको जिम्मेवार पदमा पुगिसकेका थिए ।

२०७० सालमा पनि संसद पुग्ने चाहना पूरा हुन सकेन । संविधानसभाको दोस्रो चुनावमा उनी कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भए ।

२० वर्षपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा राप्रपाबाट उनी फेरि नेपालगञ्जको मेयर भए । यो बेलासम्म नेपालगञ्ज ‘उपमहानगर’ भइसकेको थियो । धवल पनि राप्रपामा सहमहामन्त्री भइसकेका थिए ।

पाँच वर्ष बित्न कति नै लाग्छ र ! उनी पार्टीको महामन्त्री छन् । फेरि एमालेका सारथीहरू लिएर उनी संसदीय यात्राको एउटा कठिन परीक्षामा उत्रिए, त्यो पनि निकै राम्रो अंक पाएर ।

अब उनको आदर्श राजसंस्था छैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संसदका उनी सासंद चुनिएका छन् । राजनीतिक खानदानका एक खलक हुन्, डा. धवल शमशेर । त्यसैले धेरैले उनलाई ‘धवल राजा’ भन्छन् । धेरैले नामबाट बोलाउन हिच्किचाउँछन् । उनी श्री ३ देव शमशेर राणाका सन्तति हुन् ।

भारतबाट राजनीतिशास्त्रमा डिग्री गरेका उनले अमेरिकाबाट नगर व्यवस्थापन विषयमा पीएचडी गरेका छन् । २०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ हाँकेका राणालाई संसद भवन छिर्न झण्डै तीन दशक कुर्नु पर्‍यो ।

यसरी २८ वर्षपछि तेस्रो प्रयासमा उनले संसद छिर्ने अवसर पाएका छन् । अनौठो चुनावी ‘तालमेल’, फरक आदर्श, अनि भिन्न राजनीतिक गन्तव्य । एमालेसंग सहकार्य गरेर राप्रपाको हलोबाट चुनाव जितेर संसदसम्म पुग्न यस्ता थुप्रै विरोधाभाषको सामना गर्नुपरेको छ धवल ‘राजा’ ले ।

उल्टिएको चुनावी अंक गणित

धर्म र सम्प्रदायको मुद्दाले जेलिएको नेपालगञ्जको चुनाव यसपालि निकै रोचक थियो । तर, धवलमात्रै नभएर आफूलाई नेपालगञ्जकै ‘ब्राण्ड’ ठान्ने ‘धवल राजा’ले आत्मविश्वास टिकाइ राखे । पञ्चायत ढलेको ५ वर्ष नबित्दै राप्रपाले एकलौटी कब्जा गरेपनि अहिले बाँकेमा राप्रपासँग चुनाव जित्ने मत थिएन ।

त्यसै पनि बाँके–२ लाई धेरैले ‘अस्थिर’ मतदाता रहेको क्षेत्र भन्छन् । यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो, जहाँ लगातार चुनाव लड्ने उम्मेदवारले दोहोर्‍याएर जितेका छैनन् । चौथोपटक मैदानमा उत्रिएका इस्तियाकले पनि यो सजाय भोगेका छन् । २०६४ मा जितेपछि उनले २०७० मा जितेनन् । २०७४ मा जिते, तर यसपालि फेरि हारे ।

यो क्षेत्रमा नेपालगञ्ज सहर पर्छ । यो उपमहानगरमा २३ वटा वडाहरू छन् । तीमध्ये २१ वटा वडाहरू निर्वाचन क्षेत्र नं २ मा पर्छन् । यसबाहेक नजिकै रहेको डुडुवा गाउँपालिकाका ६ वटा वडाहरू समेटेर यो क्षेत्र बनेको छ ।

कुनै बेला यो क्षेत्रका केही भागहरू क्षेत्र नं ३ पनि थिए । त्यतिबेला स्व. सुशील कोइरालालाई समेत यहाँका मतदाताले हराइदिएका थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा कोइरालालाई मधेसी जनअधिकार फोरमका सर्वदेव ओझाले हराइदिएका थिए । त्यो बेला करिब १४ हजार ९ सय मत ल्याएका ओझालाई अर्कोपटक यहाँका मतदाताले ७५ मतमा सीमित गरिदिए ।

यो क्षेत्रमा करिब ९७ हजार ९ सय मतदाता छन् । तीमध्ये करिब २८ प्रतिशत मतदाता मुस्लिम समुदायका छन् । र बाँकी धेरै हिन्दु र अरू धर्म मान्नेहरू छन् । यसपालिको चुनावमा जम्मा ६८ हजार ४४८ मत खसेको थियो त्यसमा करिब ३ हजार मत बदर भयो । इस्तियाक राई मुस्लिम समुदायका हुन् । राप्रपाका धवलशमशेर अनि कांग्रेसका उम्मेदवार सुदीप नरसिंह हिन्दु समुदायका ।

चुनावका बेला धर्म र समुदायका कुराहरू उठे पनि चर्चा गरेजस्तो सबै भोट आफ्नै समुदायको उम्मेदवारलाई जाँदैन । किनकि अघिल्लोपटक मेयर हुँदा धवलका पक्षमा यहाँका केही मुसलमान समुदाय खुलेरै लागेका थिए भने हिन्दु समुदायले पनि प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा इस्तियाकलाई समर्थन गरेका थिए ।

यसरी हरेक निर्वाचनमा ‘फरक’ नतिजा दिने यहाँका मतदाताले यसपालि अझ फरक गरे । करिब २५ हजार मत रहेको कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार सुदीप नरसिंह राणाले जम्मा ४४०३ मत मात्रै पाए । करिब १४ हजारमात्रै आफ्नो प्रतिबद्ध मत हुँदा पनि एक्लै चुनावमा उत्रिएका इस्तियाकको आश पनि गठबन्धनको त्यही भोट थियो । अघिल्लो चुनावमा करिब २२ हजार मत ल्याएर चुनाव जितेका इस्तियाकले यसपालि त्यो भन्दा धेरै मत ल्याएका पनि हुन्, थर धवललाई भने जित्न सकेनन् ।

पार्टीको कुलीन विरासत ढालेका धवल

नेपाली राजनीतिमा कमल थापा जबर्जस्त उदाएको नाम थियो । तीन राप्रपा एक भएपछि गत वर्षको मंसिरमा भएको ‘एकता महाधिवेशन’ले पार्टीभित्रको एउटा कुलीन विरासतलाई ढालिदिएको थियो तर केही अवशेषहरू बाँकी नै थिए ।

नेतृत्वमा विद्रोहको विगुल फुकिरहेका राजेन्द्र लिङ्देनका बलियो खम्बा भएर उभिएका धवल लिङ्देनलाई अध्यक्ष बनाएर आफू महामन्त्री भए । त्यही लडाईंमा अग्रमोर्चा सम्हालेका दुई सारथी लिङ्देन र राणाले सम्भवत अब सँगसँगै फेरि संसदीय यात्रा तय गर्दैछन् । किनकी लिङ्देन पनि झापा–३ मा प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला भन्दा अगाडि छन् ।

बाँकेमा चुनाव लड्दै गर्दा राणाले भनेका थिए, ‘नेपालगञ्ज मेरो घर हो । दश वर्षसम्मको युद्धले आफ्नै घर बिग्रिरहेको बेला म देश बनाउन संसदमा जान चाहिनँ । पहिला आफ्नै घर सम्हाल्छु भनेर २०७४ सालमा नेपालगञ्जको मेयर भएँ । अब देश बनाउने बेला भयो । म संसदमा जाँदैछु ।’

तर, धवलका लागि यो अवसर उनको राजनीतिक जीवनको एउटा कठिन परीक्षा पनि हो । चुनावको अन्तिम नतिजा घोषणा हुँदै गर्दा माला र अविरले पुरिएका उनले भनेका छन् ‘आम मतदाताको सद्भावले विजयी भएँ । उहाँहरुको आशा पूरा गर्न क्षमता र योग्यताले भ्याएसम्म लागिपर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?