+
+

पार्टीले नपत्याएका देवेन्द्रलाई जनताले जिताएर पठाए

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर ७ गते १९:०३

७ मंसिर, सुर्खेत । ०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारसँग प्रतिनिधिसभामा पराजित नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाही यो पटक प्रदेश सभामा लड्न चाहान्थे । जुम्ला प्रदेशसभा (१) कांग्रेसको भागमा परेपछि अघिल्लोपटक पार्टीभित्रकै अन्तरघातले हारेको र यो पटक गठबन्धन भएकाले जित सुनिश्चित रहको भन्दै आफूलाई टिकट दिन पार्टी नेतृत्वलाई आग्रह गरे ।

तर कांग्रेसका प्रदेश सभापति समेत रहेका ललितजंग शाही मुख्यमन्त्रीको दावीसहित आफैं चुनावी मैदानमा उत्रिए । पार्टीले देवेन्द्रलाई टिकट दिएन । उनले टिकट नपाउनुको अर्को कारण थियो पार्टी भित्रकै फरक धार ।

जुम्ला कांग्रेसमा संस्थापन पक्षको नेतृत्व ललितजंगले गर्दै आएका छन् भने संस्थापन इतरको नेतृत्व निवर्तमान जिल्ला सभापति दीपबहादुर शाहीले गर्दै आएका छन् । देवेन्द्र पनि संस्थापन इतर समूहकै नेता हुन् ।

आफूले टिकट नपाएपछि ललितजंगकै विरुद्ध बागी उम्मेदवारी दिएका देवेन्द्रले सत्ता गठबन्धनका साझा उम्मेदवार तिनै ललितजंगलाई पराजित गरे । ललितजंगभन्दा १ हजार ८९९ बढी मत ल्याएर उनी विजयी भए । यो क्षेत्रमा २४ हजार ७८८ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार देवेन्द्रले ९ हजार ६५४ मत पाएका छन् भने पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत आएको छ ।

कांग्रेस महासमिति सदस्य समेत रहेका देवेन्द्रलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टी नेतृत्वले आफूमाथि अन्याय गरेको र त्यस्को जवाफ जनताले दिएको देवेन्द्र बताउँछन् ।

उनी भन्छन्, ‘उपसभापति पूर्णबहादुर खड्काले मलाई पत्याउनु भएन । जनताले मेरो त्याग, मेहेन्त र इमान्दारिताको सम्मान गरेका छन् । पार्टी र नेताले पत्याएनन्, जनताले जिताएर पठाए ।’
नेतृत्वको गलत निर्णयकोे प्रतिवाद

जुम्लमा बागी देवेन्द्रले जित्नुको अर्को कारण नेतृत्वले गरेको गलत निर्णयको प्रतिवाद भएको जिल्लास्तरीय नेताहरु बताउँछन् । शीर्ष नेतृत्वले जनस्तरमा भिजेका नेतालाई टिकट दिनुको साटो पहुँच र गुटका आधारमा टिकट दिंदा यस्तो परिणाम आएको नेताहरुको ठहर छ । ‘शीर्ष नेतृत्वले सही नेतालाई टिकट नदिनुको परिणाम हो यो’ कांग्रेसका एक जिल्ला कमिटी सदस्य भन्छन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीको दावेदार रहेका ललितजंग गठबन्धनको आड्मा सहज जित निकाल्ने दाउमा थिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएका उनले पार्टी भित्रको असन्तुष्टिका बीच पनि चुनाव जित्ने अनुमान गरिएको थियो ।

तर कांग्रेस–माओवादीभित्रको चरम गुटबन्दीको लाभ देवेन्द्रले लिए । जुम्लामा कांग्रेसको संस्थापन भन्दा संस्थापन इतर पक्ष बलियो छ । संस्थापन इतरको साथ पाएका देवेन्द्रलाई माओवादी भित्रकै अर्को समूहले सहयोग गर्‍यो । जुम्लामा माओवादीभित्र पनि तीनवटा गुट रहेको नेताहरु बताउँछन् ।

जुम्लामा सत्ता गठबन्धनविरुद्ध अघोषित गठबन्धन बनेको कांग्रेसकै नेताहरु बताउँछन् । त्यो अघोषित गठबन्धनभित्र कांग्रेसको संस्थापन इतर, माओवादीको एउटा समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका नेताहरु दावी गर्छन् । सोही गठबन्धनले प्रतिनिधिसभामा ज्ञानेन्द्र शाही र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारलाई जिताउने काम गरेको नेताहरुको ठहर छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा पनि संस्थापन पक्षले संस्थापन इतरलाई टिकट नदिंदा कांग्रेसकै बागी राजुसिंह कठायत चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । प्रदेशसभामा पनि नेतृत्वले गल्ती गर्दा स्वतन्त्रबाट बागी देवेन्द्रले जितेको नेताहरु बताउँछन् ।

को हुन् देवेन्द्र शाही ?

१० कात्तिक २०१९ मा जुम्ला चन्दननाथ नगरपालिको बारकोटेवाडामा जन्मिएका देवेन्द्रबहादुर शाही २०४६ देखि राष्ट्रिय जनमोर्चाबाट राजनीतिक यात्रा थालेका थिए । निर्माण व्यवसायीबाट राजनीतिमा होमिएका उनी २०५८ मा नेपाली कांग्रेसतिर लागेका थिए ।

कांग्रेस जुम्लाका पूर्वसभापति मानव सेजुवाललाई राजनीतिक गुरु मान्ने देवेन्द्र उनकै कारण कांग्रेसमा लागेको बताउँछन् । उनी जिल्ला कार्यसमिति सदस्य, कोषाध्यक्ष हुँदै कांग्रेसको महासमिती सदस्य समेत भए ।

उनी ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महतसँग पराजित भएका थिए । जिल्लामा इमान्दार र बौद्धिक छवि बनाएका देवेन्द्रले स्वतन्त्र रुपमा चुनाव जित्नुमा व्यक्तिगत सम्बन्ध स्थानीयस्तरमा राम्रो प्रभाव छोड्नु पनि रहेको नेताहरु बताउँछन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?