
काठमाडौं । झण्डै सय वर्ष लामो इतिहास रहेको फिफा विश्वकपमा धेरै अप्रत्यासित नतिजाहरु आइरहेका छन् । जसमा कमजोर टिमले पनि ठूला टिममाथि अप्रत्यासित नतिजा निकालेका छन् । अर्जेन्टिना र फ्रान्सले साविक विजेताको रुपमा पहिलो खेलमै हार व्यहोरेको इतिहास छ ।
क्यामरुन, सेनेगल, अमेरिका, नर्वे र कोस्टारिका विश्वकपकै चर्चित जायन्ट किलर्सहरु हुन् । विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अहिलेसम्मको विश्वकप फुटबलमा देखिएका अप्रत्यासित नतिजालाई यसरी सूचीबद्ध गरेको छ ।
फ्रान्स ०–१ सेनेगल (कोरिया जापान २००२)
यो अप्रत्यासित नतिजा पहिलो खेलमै आएको थियो । पहिलो पटक विश्वकप खेलिरहेको सेनेगलले पहिलो खेलमै साविक विजेता फ्रान्सलाई १-० ले हरायो । सन् २००० को युरोकप समेत जितेको फ्रान्स दाबेदारको रुपमा विश्वकपमा पुगेको थियो । तर फ्रान्स पहिलो खेलमै स्तब्ध भयो ।
सेनेगललाई शानदार जित दिलाउन पापा बोउबा डिओपले निर्णायक गोल गरे । त्यसपछि उनी राष्ट्रिय नायक बने । तर सन् २०२० मा उनको मृत्यु भयो । डिओपसँगै विश्वकप खेलेका अलिउ सिसे हाल कतारमा सेनेगलको प्रशिक्षक छन् ।
सन् २००२ पछि सेनेगल २०१८ मा रुसमा भएको विश्वकपमा छनोट भयो । जहाँ फ्रान्स भने दोस्रो पटक च्याम्पियन बनेको थियो ।
अर्जेन्टिना ०–१ क्यामरुन (इटली १९९०)
चार वर्षअघि सन् १९८६ मा एकल प्रदर्शनमा डिएगो म्यारडोनाले अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए । सन् १९९० मा पनि सारा विश्वले म्याराडोनाबाट त्यस्तै किसिमको अपेक्षा गरेका थिए । तर पहिलो खेलमै साविक विजेता अर्जेन्टिना क्यामरुनसँग १-० ले स्तब्ध भयो । क्यामरुनका लागि फ्रान्कोइस ओमाम बियिकले विजयी गोल गरेका थिए ।
‘दी इन्डोमिटेबल’ लायन्सको रुपमा चर्चित क्यामरुन समूह विजेता बन्दै क्वाटरफाइनलसम्म पुगेको थियो तर इंग्ल्याण्डसँग पराजित हुँदै बाहिरियो । अर्जेन्टिना भने पहिलो खेल हारे पनि पुनरागमन गर्दै लगातार फाइनल पुग्यो । तर पश्चिम जर्मनीसँग पराजित हुँदै उपविजेतामा समेटियो ।
इटली ०–१ कोस्टारिका (ब्राजिल २०१४)
२०१४ को विश्वकपमा कोस्टारिका तीन पूर्व विजेतासँगै एकै समूहमा थियो । कोस्टारिकालाई काजवर टिमको रुपमा हेरिएको थियो । तर कोस्टारिकाले चार पटकको च्याम्पियन इटलीलाई स्तब्ध बनायो ।
पहिलो खेलमा उरुग्वेलाई पराजित गरेको कोस्टारिका दोस्रो खेलमा इटलीलाई हराएको थियो भने इंग्ल्याण्डसँग बराबरी खेल्दै समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको थियो ।
कोस्टारिकालाई जिताउन ब्रायन रुइजले निर्णायक गोल गर्दा गोलकिपर केयलर नाभासले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यही विश्वकपपछि नाभा रियल मड्रिड पुगेका थिए ।
इंग्ल्याण्ड ०–१ अमेरिका (ब्राजिल १९५०)
फुटबलको जननी मानिने इंग्ल्याण्ड त्यसबेला राम्रो टिम थियो । अमेरिका इंग्ल्याण्डको तुलनामा कमजोर टिम थियो । तर त्यही अमेरिकाले इंग्ल्याण्डलाई १-० ले हरायो । अमेरिकालाई जिताउन फरवार्ड जोए गाएटजेनले गोल गरेका थिए ।
तर दुवै टिम समूह चरणबाट अघि बढ्न सकेनन् ।
इटली ०–१ उत्तर कोरिया (इङ्ल्याण्ड १९९६)
उत्तर कोरियाले विश्वकपमा पहिलो पटक सहअभागिता जनाउँदै थियो भने इटली दुई पटकको च्याम्पियन थियो । तर समूहको अन्तिम खेलमा उत्तर कोरियाले इटलीमाथि अप्रत्यासित नतिजा निकाल्यो । जसले गर्दा इटली समूह चरणबाटै बाहिरियो । उत्तर कोरियाका लागि पाक डु इकले निर्णायक गोल गरे ।
क्वाटरफाइनलसम्म पुगेको उत्तर कोरियाले अर्को अप्रत्यासित नतिजा नजिक पुगेको थियो । तर पोर्चुगल विरुद्ध ३-० को अग्रता लिए पनि जोगाउन नसक्दा ५-३ ले पराजित हुँदै बाहिरियो । त्यसपछि उत्तर कोरिया एक पटक मात्र विश्वकपमा छनोट भएको छ । सन् २०१० मा उत्तर कोरिया समूहको तीनवटै खेल हार्दै बाहिरिएको थियो ।
पश्चिम जर्मनी १–२ अल्जेरिया (स्पेन १९८२)
दुई पटकको च्याम्पियन पश्चिम जर्मनी उपाधि दाबेदारमध्ये एक थियो । उता अल्जेरिया भने डेब्यु विश्वकप खेल्दै थियो ।
तर अल्जेरियाले आफ्नो पहिलो खेलमै पश्चिम जर्मनीलाई २-१ ले हराएर सनसनी नतिजा निकाल्यो । अल्जेरियालाई जिताउन राबाह मजदेर र लाखदर बेलोउमीले गोल गरे । जदेर त्यसपछि युरोपियन फुटबलमै स्टार बने । उनले १९८७ को युरोपियन कप फाइनलमा पोर्टोबाट खेल्दै बायर्न म्युनिख विरुद्ध गोल गरेका थिए ।
त्यस विश्वकपमा अर्को खेलमा अष्ट्रियासँग पराजित भए पनि अल्जेरियाले चिलीलाई हराउँदै दोस्रो जित निकालेको थियो । तर नकआउट चरणमा पुग्न भने गोल अन्तर पर्याप्त भएन । सन् १९८२ पछि तीन पटक विश्वकप खेलेको अल्जेरिया सन् २०१४ मा अन्तिम १६ सम्म पुगेको थियो ।
दक्षिण कोरिया २–१ इटली (कोरिया/जापान २००२)
घरेलु भूमिका भइरहेको विश्वकपमा दक्षिण कोरिया पहिलो पटक अन्तिम १६ मा पुगेको थियो । इटली टिममा स्टार खेलाडीहरु थिए भने तीन पटक च्याम्पियन बनिसकेको थियो ।
आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता बनेको कोरियाले अन्तिम १६ मा इटलीलाई २-१ ले स्तब्ध बनायो ।
कोरियाका लागि सोल कि हाएओन र अह जंग ह्वानले गोल गरे । हवानले अतिरिक्त समयमा गोल गर्दै कवरियालाई जिताएका थिए । इटलीका लागि क्रिस्टियन भिएरीले १८औं मिनेटमा अग्रता दिलाए पनि जोगाउन सकेन ।
क्वाटरफाइनलमा कवरियाले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुग्यो । तर जर्मनीसँग पराजित १-० ले पराजित भएको कोरिया विश्वकपमा चौथो भएको थियो ।
कोरियाले सन् २०१८ मा रुसमा भएको विश्वकपमा पनि समूह चरणमा जर्मनीलाई पराजित गरेको थियो ।
ब्राजिल १–२ नर्वे (फ्रान्स १९९८)
साविक विजेता ब्राजिललाई नर्वेले समूहको अन्तिम खेलमा पराजित गरेको थियो । एक गोलले पछि परेको नर्वेले कमब्याक गर्दै जित निकालेको थियो ।
ब्राजिल भन्दा पछि रहेर अन्तिम १६ मा पुगेको नर्वे इटलीसँग पराजित हुँदै बाहिरिएको थियो । ब्राजिल भने फाइनलसम्म पुगे पनि फ्रान्सँग पराजित हुँदै उपविजेता बन्यो । नर्वेलाई शानदार जित दिलाउन टोर आन्द्रे फ्लो र आन्द्रे रेकदालले गोल गरेका थिए ।
तीन पटक विश्वकप खेलेको नर्वे १९९८ यता विश्वकपमा छनोट हुन सकेको छैन ।
पूर्वी जर्मनी १–० पश्चिम जर्मनी (जर्मनी १९७४)
त्यतिबेला जर्मनी दुई भागमा विभाजित थियो । पूर्वी जर्मनीले यसै संस्करणमा विश्वकपमा डेब्यु गरेको थियो । पश्चिम जर्मनी भने घरेलु मैदानमा दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा थियो ।
तर समूह चरणमै यी दुई भेट भयो । जसमा पूर्वी जर्मनीले पश्चिम जर्मनीलाई १-० ले स्तब्ध बनायो । उक्त खेलमा जर्गेन स्पार्वासेरले निर्णायक गोल गरेका थिए ।
दुवै जर्मनी समूह चरण पार्दै गर्दै दोस्रो चरणमा पुगे । जहाँ पूर्वी जर्मनी बाहिरियो भने पश्चिम जर्मनी फाइनलसम्म पुग्दै नेदरल्याण्ड्सलाई हराएर च्याम्पियन बन्यो ।
त्यसपछि पूर्वी जर्मनी पेरि विश्वकपमा छनोट हुन सकेन भने सन् १९९० मा जर्मनी एकीकरण भएपछि १९९४ देखि जर्मनीको नामबाट विश्वकप खेल्न थाल्यो ।
स्पेन २–३ नाइजेरिया (फ्रान्स १९९८)
नाइजेरिया आफ्नो दोस्रो पटक विश्वकप खेलिरहेको थियो । सन् १९९४ मा पहिलो पटक विश्वकप खेल्दा नाइजेरियाले राम्रो छाप छाडेको थियो ।
फर्नान्डो हिएरो, राउल र लुइस इनरिके जस्ता खेलाडी रहेको स्पेनलाई फेभरेट मानिएको थियो । तर नाइजेरियाले स्पेनलाई ३-२ ले हरायो । नाइजेरियाका लागि मुटिउ अडेपुगे, सन्डे ओगोचुग्वु ओलिसेहले गोल गरे भने स्पेनका जुबिजारेताले आत्मघाती गोल गरेका थिए । स्पेनका लागि भने हिएरो र राउलले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।
स्पेनलाई हराएपछि बुल्गेरियालाई पनि हराएको नाइजेरिया पराग्वेसँग पराजित भए पनि समूह विजेताको रुपमा नकआउट चरण पुगेको थियो । पाराग्वेसँग बराबरी र बुल्गेरियामाथि जित निकालेको स्पेन भने समूह चरणबाटै बाहिरियो ।
तर नाइजेरिया अन्तिम १६ मा डेनमार्कसँग ४-१ ले पराजित हुँदै बाहिरियो ।
…..यो दुई पनि
अहिले कतारमा २२ औं संस्करणको विश्वकप चलिरहेको छ । तर पहिलो एक चरणको खेल पनि नसकिंदै केही अप्रत्यासित नतिजा आइसकेको छ । दुई पूर्व च्याम्पियन अर्जेन्टिना र जर्मनी आफ्नो पहिलो खेलमै पराजित भइसकेका छन् ।
अर्जेन्टिना १–२ साउदी अरेबिया (कतार २०२२)
उपाधि दाबेदारमध्ये एकको रुपमा रहेको अर्जेन्टिनाले अग्रता लिएर पनि जोगाउन सकेन । सायदै कमैले अर्जेन्टिना पराजित हुने सोचेका थिए । कप्तान लिओनल मेसीको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा अग्रता लिएको थियो ।
तर दोस्रो हाफमा साउदी अरेबियाले शानदार पुनरागमन गर्दै अर्जेन्टिनालाई स्तब्ध बनायो । अर्जेन्टिनामाथि साउदीको यो पहिलो जित समेत थियो । साउदीका लागि सालेह अल शेहरी र सालेम अल दावसरीले गोल गरेका थिए ।
समूह सीमा यी दुई टिमसँगै पोल्याण्ड र मेक्सिको पनि छन् । अब अर्जेन्टिना र साउदीको भाग्य के हुन्छ बाँकी खेलले निर्धारण गर्नेछ ।
जर्मनी १–२ जापान (कतार २०२२)
अर्जेन्टिना पराजित भएको भोलिपल्ट चार पटकको च्याम्पियन जर्मनी अर्को एसियन राष्ट्र जापानसँग उही नतिजामा पराजित भयो । अहिलेसम्म च्याम्पियन ८ र फाइनलिस्ट ५ गरी कुल १३ राष्ट्रले विश्वकप फाइनल खेल्दा जापानले यसअघि कसैलाई हराएको थिएन ।
तर सामुराई ब्लुको उपनामले चिनिने जापानले अन्तिम १५ मिनेटमा दुई गोल गर्दै जर्मनीमाथि २-१ को पुनरागमन जित निकाल्यो । साउदी र जापानको जितपछि अहिले साना देशलाई पनि आत्मविश्वास बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4