
१२ मंसिर, काठमाडौं । आयोजक कतार र क्यानडाले २२औं संस्करणको फिफा विश्वकपमा गोलको खाता खोलेका छन् ।
क्यानडा विश्वकप फुटबलमा गोल गर्ने ७६औं राष्ट्र बनेको छ । त्यसअघि घरेलु टोली कतार विश्वकपमा गोल गर्ने ७५औं टिम बनेको थियो ।
आइतबार भएको खेलमा क्यानडाले साविक उपविजेता क्रोएसिया विरुद्ध विश्वकपकै डेब्यु गोल गरेको हो । खेल सुरु भएको ६८ सेकेण्डमै अल्फोन्सो डेभिसले क्यानडाका लागि गोल गर्दै अग्रता दिलाएका थिए । पछि क्रोएसियाले पनुरागमन गर्दै ४-१ ले खेल जित्यो ।
क्यानडाले दोस्रो पटक विश्वकप खेल्दा पाँचौ खेलमा आएर गोलको खाता खोलेको हो । सन् १९८६ मा पहिलो पटक विश्वकप खेल्दा क्यानडा फ्रान्ससँग १-० तथा हंगेरी र सोभियत संघसँग समान २-० ले पराजित भएको थियो ।
क्यानडा विश्वकपमा आफ्नो पहिलो ५ खेल हार्ने तेस्रो टिम समेत बनेको छ । मेक्सिकोले सुरुवाती ९ र एल शाल्भाडोरले सुरुवाती ६ खेल हारेका थिए ।
कतारले भने आयोजकको हैसियतले विश्वकपमा डेब्यु गरेको थियो । पहिलो खेलमा इक्वेडरसँग २-० पराजित भएको कतारले दोस्रो खेलमा ३-१ ले पराजित हुँदा डेब्यु गोल गरेको थियो । कतारका लागि मोहमेद मुन्तारीले गोल गरेका थिए । कतार फिफा विश्वकप खेल्ने ८०औं टिम हो ।
चार टिमले गरेका छैनन् गोल
विश्वकपमा अहिलेसम्म ८० राष्ट्रले प्रतिस्पर्धा गर्दा ७६ टिमले गोल गरेका छन् । चार टिमले भने अहिलेसम्म गोल गर्न सकेका छैनन् । जसमा इन्डोनेसिया (डच इस्ट इन्डिज), डिआर कंगो (जायर), चीन र ट्रिनिडाड एण्ड टोबागो छन् ।
यी चारै देशले एक पटक मात्र विश्वकपमा सहभागिता जनाएका छन् । इन्डोनेसियाले सन् १९३८ मा डच इस्ट इन्डिजको नामबाट विश्वकप खेलेको थियो । एसियाबाट विश्वकप खेल्ने पहिलो टिम बनेको डच इस्ट इन्डिज एक खेल हार्दै बाहिरिएको थियो । त्यसबेला नकआउट फर्म्याटमा विश्वकप खेलाइएको थियो ।
सन् १९७४ मा कंगोले जायरको नामबाट विश्वकप खेलेको थियो । तीन खेल खेल्दा तीनवटै खेलमा पराजित भएको जायरले कुनै गोल गर्न सकेन ।
चीनले सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा डेब्यु गरेको थियो । तर चीनले पनि सबै तीन खेल हार्दै बाहिरियो भने कुनै गोल गर्न सकेन ।
पछिल्लो पटक सन् २००६ मा डेब्यु गरेका ट्रिनिडाड एण्ड टोबागोले पनि गोल गर्न सकेन । समूह चरणमा दुई हार र एक बराबरी नतिजा निकाल्दै ट्रिनिडाड एण्ड टोबागो बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4