+
+

फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते २३:०८

१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ ।

यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहाको अघिल्लो खेलमा उतारेको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो ।

नकआउट चरणमा स्थान पक्का भइसक्दा फ्रान्सले अरु खेलाडीलाई पनि अवसर दिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ट्युनिसियाले गोल गर्‍यो । ५८औं मिनेटमा वाहबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेपछि फ्रान्स प्रशिक्षक डिडियर डेसच्याम्पसले अघिल्लो खेलमा गोल गरेका स्टार किलिएन एमबाप्पेदेखि एन्टोइन ग्रीजमन, एड्रिएन राविओट र उसमान डेम्बेलेलाई मैदान प्रवेश गराए पनि फ्रान्सले बराबरी गोल फर्काउन सकेन ।

इन्जुरी टाइमको अन्तिम मिनेटमा ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल गरेका थिए । खेल सकिनै लागेको अवस्थामा गोल भए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइड करार गरेको थियो ।

समूह डी मा फ्रान्सले दुई जित र एक हारबाट ६ अंक जोड्दै समूह विजेता बन्यो । अष्ट्रेलियाले पनि डेनमार्कलाई अन्तिम खेलमा पराजित गर्दै फ्रान्ससमान ६ अंक नै जोडेको थियो । तर, गोलअन्तरमा पछि रह्यो ।

फ्रान्सलाई स्तब्ध पारेको ट्युनिसियाले ४ अंक जोडेपनि समूह चरण पार गर्न सकेन । फ्रान्सले अब अन्तिम १६ मा समूह सी को उपविजेतासँग खेल्नेछ ।

सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएपछि फ्रान्सले विश्वकपमा पहिलो हार भोगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?