+
+

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ मंसिर १६ गते १८:४५

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो ।

प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी प्रदेश राजधानी अस्थाई मुकाम बुटवलबाट स्थाई राजधानी दाङको राप्ती उपत्यकामा सार्न लागिएको हो ।

मंसिर महिनाभित्र प्रदेश सरकारको मुख्यमन्त्री, मन्त्रिपरिषद्का कार्यालयहरु बुटवलबाट दाङको राप्ती उपत्यकामा ल्याइ सक्ने र नवनिर्वाचित सांसदहरुलाई दाङको प्रदेश सभा भवनमा शथप ग्रहण समेत गराउँने गरी प्रदेश सरकारले तयारी थालेको हो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले पहिलो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अन्य मन्त्रालय सार्न पूर्वाधार तयार गर्ने काम गरिरहेको छ । राप्ती गाउँपालिकाको लालमटियामा अवस्थित राप्ती प्राविधिक कलेजमा प्रदेश राजधानीका मन्त्रालय राख्ने गरी सबै पूर्वाधार तयार तथा व्यवास्थापनको काम भइरहेको छ ।

प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार त्यसपछि क्रमश अन्य मन्त्रालयहरु पनि स्थानान्तरण गर्ने तयारी छ ।

‘शिक्षालयका पुराना भवन मर्मत गरेर मन्त्रालय र अन्य कार्यालयहरूको लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ’ कार्यकारी निर्देशक छविराज पोख्रेलले भने, ‘केही दिनभित्र सबै कार्यालयहरू तयार भइसक्नेछ ।’ उनले शिक्षालयका पुराना भवनमा रंगरोगन, भवन भित्र र बाहिरको सरसफाई, सभाहल निर्माण लगायतको आन्तिरक कामहरु भइरहेको बताए ।

करिब १८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालयको परिसरमा ४० बढी साना/ठूला भवनहरु छन् । यही परिसर भित्र प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माण गर्न लागेको हो ।

पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रशासनिक परिसरभित्र प्रदेश सभा भवन, प्रदेश सभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरु रहनेछन् । मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित ८ वटा मन्त्रालय यहाँ राख्ने तयारी छ । अन्य भने मन्त्रालय भने बाहिर राखिने छन् ।

त्यस्तै संसदीय दलको कार्यालय पनि राखिने प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ । यसअघि प्रदेश राजधानीमा दाङमा पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय ल्याइसकिएको छ ।

प्राधिकरणका प्रमुख कार्याकारी निर्देशक पोख्रेलका अनुसार मन्त्रालय लगायतका कार्यालयहरु पूराना संरचनामा राखिनेछ भने अपुग भएका संरचना निर्माण गरिनेछ । केही संचरना भने राप्ती र गढवा गाउँपालिकाका वडा कार्यालयका भवनमा राखिनेछ । ‘पुराना संचनालाई मर्मत सम्भार गर्ने र आवश्यक परेका नयाँ संरचनाहरु निर्माण गर्ने कामहरु भइरहेको छ’ उनले भने, ‘बाँकी अपुग संरचनालाई बाहिर राखिनेछ ।’

यता, राप्ती प्राविधिक शिक्षालयलाई भने गढवा गाउँपालिकाको गोवरडिहास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

प्रदेशसभा पनि दाङमै

लुम्बिनी प्रदेशको अगामी प्रदेश सभा पनि स्थाई राजधानी दाङमै सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारले पाँच करोडमा लागतमा निर्माण गरेको प्रदेश सभा भवन अन्तिम चरणमा छ ।

अहिले प्रदेशसभा भवनको आन्तरिक व्यवस्थापनको काम भइरहेको प्राधिकरणका कार्याकारी निर्देशक छविराज पोख्रेलले बताए । त्यस्तै प्रदेश सभाको सचिवलयको भवन पनि निर्माणधिन अवस्थामा छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभाले प्रदेश राजधानीबारे गरेको निर्णयलाई कार्यान्वयन गर्ने काम अघि बढेको बताए । ‘प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको कुरा कार्यान्वयन गर्ने जिम्मा प्रदेश सरकारको हो’ मन्त्री खड्काले भने, ‘प्रदेश सभाले गरेको निर्णयलाई पूर्णता दिन प्रदेश राजधानी दाङ सार्ने काम अघि बढेको हो ।’ उनले अब प्रदेश सरकारका सबैजसो काम स्थाई राजधानीबाटै शुरु गर्ने स्थान्तराणको काम भइरहेको बताए ।

मन्त्री खड्काले प्रदेश सरकारको आगामी प्रदेश सभाको बैठक पनि दाङमै सञ्चालन हुने बताए । ‘प्रदेश सभाका सञ्चालनका लागि भवनहरु तयार भएका छन्’ उनले भने, ‘अबको प्रदेश सभा स्थाई राजधानीमै बस्नेछ ।’ मन्त्री खड्काले नव निर्वाचित प्रदेश सभा सदस्य, मुख्यमन्त्री र मन्त्रीहरुको शपथग्रहण पनि प्रदेश राजधानी दाङमै गर्ने तयारी गरिएको बताए ।

मुख्यमन्त्री कुलप्रसाद र मन्त्री कृष्णधोज खड्काले दाङ राजधानी स्थानान्तरमा गर्न जोडबल गरिरहेका छन् । उनीहरु अस्थाई मुकाम बुटवलबाट राजधानी दाङ सार्न गर्नका राप्ती उपत्यकाको निर्माण स्थलमा पुगेर स्थानान्तरको कामलाई तिव्रता दिनका लागि निर्देशनसमेत दिएका छन् ।

प्रदेश राजधानी बुटवलबाट दाङ सर्न लागेपछि जिल्लावासीमा खुसीयाली छाएको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?