 
																			१६ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले नेकपा माओवादी केन्द्रसँगको एकताबारे महासचिव डा. बेदुराम भुसालले जारी गरेको विज्ञप्तिलाई लिएर आलोचना गरेका छन् ।
माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता नरहेको भनी महासचिव भुसालले विज्ञप्ति निकाले लगत्तै नेता न्यौपानले १ भदौमा माओवादी केन्द्रसँग एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटीले गरेको निर्णय सार्वजनिक गरिदिए ।
अहिले कार्यकर्ताबाट विरोध आएपछि महासचिवले विज्ञप्ति निकालेको भन्दै न्यौपानेले लेखेका छन्, ‘आज यत्रो कसरतपछि देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति सर्मको कुरो हो ।’ माओवादीसँगको एकताबारे महासचिव भुसालको विज्ञप्तिप्रति नेता न्यौपानेको तिखो टिप्पणी छ, ‘खोले एक गल्ती, छोपे तिन गल्ती ।’
शुक्रबार मात्रै महासचिव भुसालले विज्ञप्ति निकालेर माओवादी केन्द्रसँगको एकता प्रयासबारे प्रष्टीकरण दिएका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’ नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा प्रष्ट रहेको तर, यस सम्बन्धमा कुनै छलफल, वार्ता वा संवाद केही पनि नभएको दाबी महासचिव भुसालले गरेका छन् ।
‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ महासचिवको विज्ञप्तिका उल्लेख छ ।
महासचिव भुसालको यस्तो विज्ञप्ति जारी गरे लगत्तै नेता न्यौपानेले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी नेकपा एकीकृत समाजवादीले गरेको निर्णय सार्वजनिक गरिदिएका हुन् ।
उनले गत साउनमा माओवादी केन्द्रसँग एकता गर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर भएको छलफल पनि स्मरण गरेका छन् । त्यसबेला अध्यक्ष माधव कुमार नेपालले पार्टीको सचिवालयका सदस्य सहितको वैठक वोलाएर चार दिन सम्म तिनकुनेस्थित पार्टी कार्यालयमा छलफल गरेको उनको भनाइ छ ।
उक्त बैठक चार दिनपछि चम्पादेवी सारिएको र त्यहाँ सचिव गंगा तुलाधरले ‘अब माओवादीसँग एकता गरेर जानु पर्छ । एमालेसग मिल्न सकिँदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने’ भनेर प्रस्ताव राखेको न्यौपाने बताउँछन् ।
सचिव तुलाधरले यस्तो प्रस्ताव राखेपछि आफूले विरोध गरेको उनको दाबी छ । ‘एमाले बाहेकको एकता भन्नु कम्युनिष्ट आन्दोलन सिध्याउनु हो’ भनेर आफूले राखेपछि झलनाथ खनाल र विजय पौडेलले पनि अलिक राम्ररी छलफल गरौं भनेको न्यौपाने सुनाउँछन् । तर, आफू सहभागी नभएको बैठकबाट नेकपा माओवादीसँग एकता गर्ने निणर्य भएको उनको जिकिर छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4