+
+
अन्तर्वार्ता :

सांसदले विकासका कुरा नगरी धर नपाइने रहेछ : प्रदीप पौडेल

सांसद हुँदै गर्दा नीतिको कुरा गरेर मात्र धर पाइँदैन, विकासका लागि सहयोगी बन्छु पनि भन्नै पर्छ । शहरी क्षेत्रमा भरपुर चेतना भएका मतदाता हुन्छन् । मत माग्दै गर्दा भनिएका कुराप्रति इमानदार हुनैपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १८:३०

१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन दलहरूबीच काठमाडौं–५ मा उम्मेदवारीको लागि विल्कुलै हानाथाप थिएन । विगतको चुनावी परिणामअनुसार काठमाडौं–५ सहज नहुने सबैको बुझाइ थियो ।

तनहुँमा टिकटका आकांक्षीहरूको व्यवस्थापनमा सकस खेपिरहेको कांग्रेसले उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन केन्द्रीय सदस्य प्रदीप पौडेललाई यही काठमाडौं–५ को टिकट थमायो । उम्मेदवारी दर्तासँगै प्रचारप्रसारमा होमिएका पौडेल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउन सफल भए ।
मुख्यतः नेपालमा चर्को बन्दै गएको चुनावी अभियानमा केन्द्रित रहेर अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठलिलु डुम्रेले पौडेलसँग गरेको कुराकानीः

संसद सदस्यको पहिलो प्रतिस्पर्धामै विजयी बन्नुभयो । यो चुनावी अभियानको अनुभव कस्तो रह्यो ?

म त तनहुँ–२ मा चुनाव लड्ने तयारीमा थिएँ । आफ्नै क्षेत्रमा उम्मेदवार बन्नेमा नेतृत्वले यति विश्वस्त बनाएको थियो कि मैले विकल्पबारे सोच्ने कुरै थिएन । तर, अनेक कारणले मलाई बाहिर पु¥याउने कोशिस भए । तनहुँ–२ मै रहने मेरो प्रयास कामयाव भएन । अनि, संघीय संसदमै जानेमा अडिग रहेकाले अन्त्यमा काठमाडौं–५ बाटै उठ्ने भएँ । त्यो आँट गर्दैगर्दा मेरो परिवेश निकै फरक थियो ।

उम्मेदवारी दर्ता गर्ने दिनको बिहान मसँग चुनाव लड्नेबाहेक विकल्प देखिनँ । उम्मेदवारी दर्ताको समयमा परिणाम हाम्रो पक्षमा आउँछ है भन्ने कोही थिएनन् । सबै मतदाताकहाँ पुग्ने समय पनि मसँग थिएन ।

विगतमा राष्ट्रिय राजनीतिमा मैले खेलेको भूमिकाबारे काठमाडौं–५ का मतदाता जानकार हुनुहुन्छ र विकृतिविरुद्ध लड्ने प्रतिबद्धता बुझाउन सकें भने जित्न सक्छु भन्ने चाहिं थियो ।

त्यही भरोसाको आधारमा निर्वाचन अभियानलाई आक्रामक ढंगले अघि बढायौं । सामाजिक सञ्जालमा प्रचारसँगै कम्तीमा ५०० मतदाता सहभागी हुनेगरिको सार्वजनिक छलफललाई प्राथमिकतामा राखियो । त्यस्ता बैठकमार्फत मैले करिब १० हजार मतदातालाई प्रत्यक्ष भेटें ।

मतदातासँग मैले दल, राजनीति र राजनीतिकर्मीप्रतिको वितृष्णाबारे खुलेर, नढाँटिकन कुरा गरें । विगतमा निर्वाचित हुनेहरूको भूमिकाबारे प्रशस्त गुनासा सुनिन्थ्यो । मैले विश्वास दिलाउने आधारहरू प्रस्तुत गरें । त्यसबाट माहोल बन्दै गयो । र, परिणाम मेरो पक्षमा आयो ।

काठमाडौं–५ मा गठबन्धनबाट उम्मेदवार हुन कसैको रुचि देखिएको थिएन । एमालेको बलियो संगठन भएको यो क्षेत्रमा चुनाव लड्दा कत्तिको दबाव महसुस भयो ?

काठमाडौं–५ मा विगतको प्रतिकुल नतिजा हेरेरै सबैको रुचि नभएको हो । यो क्षेत्रमा एमालेका ‘हेभिवेट’ उम्मेदवार र गठबन्धन बाहिरका उम्मेदवारको पक्षमा गएको स्थानीय चुनावी परिणामको चर्चा थियो ।

तनहुँ–२ बाट निकालिएर काठमाडौं–५ मा उम्मेदवार हुँदै गर्दा मलाई यो क्षेत्रमा स्वतन्त्रबाट को–को उम्मेदवार हुनुहुन्छ भन्ने पनि थाहा थिएन । काठमाडौं–५ मा कांग्रेस पार्टीको अवस्था पनि खासै थाहा थिएन ।

यी कारणहरूले गर्दा सुरुमा आफूलाई प्रस्तुत गर्न उत्साहजनक वातावरण थिएन ।

कठिन भनिएकै क्षेत्रमा विजयी हुनुभयो । युवा पुस्तालाई आश्वस्त पार्न सक्दा जित निकाल्न सकिने रहेछ है !

अहिले राजनीतिप्रति एकदमै अविश्वास बढेको छ । दलहरूका विचार, घोषणापत्र आदि ‘भन्नका लागि भनिने कुरा’ भन्ने सोच मतदातामा व्याप्त छ । कांग्रेसको विगत र राजनीति बुझेका मतदाताले समेत वैकल्पिक राजनीतिको कुरा गर्ने, जनताका पक्षमा खुट्टा नकमाई विवेकले बोल्ने पात्र खोजेको स्थिति छ ।

त्यसमा पनि काठमाडौंका मतदाता सबै खालका सूचना राखिरहेका हुन्छन् । को कस्तो, को कस्तो भनेर लेखाजोखा गरिरहेका हुन्छन् । उनीहरूले चाहेजस्तो छवि बनाएर जाँदा छनोटमा परिने रहेछ ।

प्रचारको क्रममा प्रतिस्पर्धी उम्मेदवारसँग जम्काभेट वा अन्तर्क्रिया हुने अवस्था पनि रह्यो ?

उम्मेदवारी मनोनयनको २–३ दिनपछि किरियापुत्रीलाई भेट्ने क्रममा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलसँग भेट भयो । हामीले एकआपसमा हार्दिकता देखायौं र हार्दिकतासहितको प्रतिस्पर्धा गरौं भन्यौं । अरू उम्मेदवारसँग चाहिं भेटको अवसर मिलेन ।

पहिले जस्तो प्रचारका लागि बढी गतिविधि नहुने रहेछ । सभा, माइकिङ कम भयो । जिल्लाहरूमा यस्तो प्रचार अलि बढी हुन्छ । काठमाडौंका मतदातालाई भेट्ने भनेको ओखरभित्रको गुदी निकाले जस्तै रहेछ । सडक र सटरमा भेटेकामध्ये मतदाता कमै हुनुहुन्थ्यो ।

शहरका धेरैजसो रोजगारी वा व्यवसायमा व्यस्त हुने भएकोले घरदैलोको बेला घरमा कमै मतदाता भेटिए । भिडिओ बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा ‘रिच’ धेरै हुने रहेछ । प्रविधि प्रयोगबाट छोटो समयमा धेरै मतदाताकहाँ पुगियो । कुद्न चाहिं सबैतिर कुदें ।

मतदाता सहभागी सार्वजनिक छलफलहरूमा आफू सहभागी नभएको तर पार्टीले गरेका विवादास्पद निर्णयहरूको अपजस पनि लिनुप¥यो । पार्टीका उम्मेदवारले मतदाताबाट प्रशस्त प्रश्नको सामना गर्नुपर्ने रहेछ ।

प्रचारका क्रममा तपाईंले ‘टुरिष्ट क्यान्डिडेट’ भन्ने शब्दावली बढी सुन्नुपर्‍यो, हैन ?

मुख्य प्रतिस्पर्धी उम्मेदवारले उठाएको कुरा हो, त्यो । मैले धेरै ठाउँमा यो विषयको स्पष्टीकरण दिइनँ पनि । यो कुनै पत्यारिलो आरोप नै थिएन । १–२ ठाउँमा यही देशको नागरिक हुँ, एउटा नेपाली नागरिक राजधानीमा कसरी टुरिष्ट हुन्छ ? भनें । यतिले जवाफ पुगे जस्तो भयो ।

प्रचारमा हिंड्दै गर्दा मतदाताले तपाईंसँग गरेको आशा के थियो ?

मतदाताले खोजेको सुशासन हो । त्यसलाई व्याख्या गर्ने सन्दर्भमा पानी नआउने, ट्राफिक जाम, ढलबाट घरभित्र पानी छिर्नेलगायतका विषय पर्थे । धुलो, धुवाँ, प्रदूषण, भीड, कोलाहललगायत विषय उठे । घरदैलो क्रममा कांग्रेस समर्थक एक आमाले बिजुलीको नाङ्गो तार देखाउँदै ‘मेरो नातिले त्यो तार समाते के हुन्छ ?’ भन्नुभयो ।

पहुँच छ भने मात्र काम हुने नत्र कानुन–नियमले दिएका कुरा पनि नहुने गुनासो धेरैले गर्नुभयो । कर तिर्ने नागरिकलाई राज्यले केही नदिएको, कोरोना महामारीका बेला समेत भ्रष्टाचार गरेको भन्ने गुनासा र आरोपहरू सुन्न पर्‍यो ।

हामीले ‘नीतिगत भ्रष्टाचार अन्त्य र सुशासनको प्रत्याभूति’ भनेका छौं । सांसद हुँदै गर्दा नीतिको कुरा गरेर मात्र धर पाइँदैन, विकासका लागि सहयोगी बन्छु पनि भन्नै पर्छ । मेलम्चीको पानीका लागि डेढ करोडको ट्यांकी छ, तर बस्ती सुक्खा छ । एक घर एक धारा भन्ने सरकारको नीति छ, तर काठमाडौंमै त्यो नीति लागू भएको छैन ।

शहरी क्षेत्रमा भरपुर चेतना भएका मतदाता हुन्छन् । मत माग्दै गर्दा भनिएका कुराप्रति इमानदार हुनैपर्छ । भनिएका सबै कुरा सम्भव हुन्छ भन्ने होइन, तर प्रयास कति भयो भन्ने त हुन्छ नै । निर्वाचित भएर गएपछि गर्न खोजेको हो, होइन ? जनताको कित्तामा उभिन खोजेको हो कि होइन ? यी कुरा देखिन प¥यो । विकृतिविरुद्ध लडेको, संसदको रोष्ट्रमबाट विकृतिविरुद्ध बोलेको देखिनुपर्‍यो ।

शासन व्यवस्था नयाँ आयो, अवस्था कहाँ फेरियो ? व्यवहारमा कहाँ परिवर्तन भयो ? मतदाताले यी प्रश्नहरू व्यापक रूपमा उठाउनुभएको छ ।

चुनावी अभियानको कुन विन्दुमा पुगेपछि अब चाहिं जित्छु कि भन्ने लाग्यो ?

चुनावी प्रचारको सुरुमा मैले बढी समय प्रदेश (२) तर्फ दिएँ । बढी मतदाता चाहिं (१) तर्फ थिए– एउटै वडामा १६–१७ हजार । त्यता कम ध्यान गएको महसुस हुँदा एकदम धेरै आत्तिएँ ।

अनि दौडिएर महानगरतिरका वडामा आउँदा जुन घरमा छिरे पनि ‘तपाईंको तर्फबाट फलानोले फोन गरिसक्नुभएको थियो, तपाईं नआए पनि मत दिन्थ्यौं’ भनेको सुन्न पाइयो । अनि चाहिं अब परिस्थिति सुध्रिएछ भन्ने लाग्यो ।

प्रचारप्रसारको अन्तिम समयतिर बोलाएका कतिपय ठाउँमा जानै नसक्ने अवस्था भयो । मत दिने मनसाय भएपछि नै उम्मेदवारलाई बोलाइन्छ । जान नसकेको ठाउँका मतदाताहरूले पनि ‘तपाईंप्रति विश्वास छ, मत दिन्छौं, अरूभन्दा फरक चाहिं हुनुपर्छ है’ भन्नुभयो । अनि अब जितिन्छ भन्ने भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?