+
+
ब्लग :

‘वेलकम वान्स अगेन !’

यसपटक नेपालका ठूला राजनीतिक दलहरू आफूले रचेको भुमरीमा आफैं परे। आफ्नै कार्यकर्ताको आँखाबाट तल झरे। जेहोस् चुनावी परिणाम आइसकेको छ। अब हामीसँग समीक्षाबाहेक अरु उपाय बाँकी छैन।

प्रकाश तिवारी प्रकाश तिवारी
२०७९ मंसिर २१ गते ११:५१

इतिहासमा अंकित अक्षरहरू जनताको रगतले लेखिने गर्छन्। जनता आगो हुन्, ज्वाला बनी दन्कन्छन्। जनता पानी हुन्, प्रलय ल्याउँछन्। प्रलयको उद्भव नागरिकको दिमागभित्र दमित असन्तोष हो। जसको उचित सम्बोधन नभए संभावित अनिष्टलाई कसैले रोक्न सक्ने छैन।

लोकतन्त्रमा नागरिकहरूले अन्यत्र बोल्न नसकेका कुरा मतपेटिकाभित्र बोल्छन्। मतपत्रमार्फत राजर्षि फरमान जारी गर्छन्। यदाकदा मतपेटिकामा अभिव्यक्त जनमतले ज्वालामुखीको रूप लिन्छ। जब ज्वालामुखी फुट्छ, इन्द्रासन डग्मगाउँछ। मै हुँ भन्ने बादशाहहरू घोडाबाट पछारिन्छन्। राजनीतिशास्त्रीहरू यसलाई डेमोक्रेसीको सुन्दर पक्ष मान्छन्।

डेमोक्रेसीले जनता सार्वभौम हुन्छन् भन्ने मान्यता राख्छ। प्राचीन ग्रीस नगर राज्यमा आजभन्दा पच्चीसमा सय वर्ष अघिदेखि लोकतान्त्रिक अभ्यास हुने गरेको प्रमाणहरू पाइन्छन्। तिनताका त्यहाँ ‘डाइरेक्ट डेमोक्रेसी’को अभ्यास हुन्थ्यो। आधुनिक लोकतन्त्रमा चाहिं ‘इन्डाइरेक्ट डेमोक्रेसी’को प्रचलन छ। ‘इन्डाइरेक्ट डेमोक्रेसी’मा जनताले निर्वाचनमार्फत प्रतिनिधिहरू चुन्छन् र आफूमा निहित सार्वभौम अधिकार सुम्पन्छन्। अधिकार प्राप्त प्रतिनिधिहरू मिलेर सरकार निर्माण गर्छन् अनि जनताका नाममा शासन चलाउँछन्। अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिङ्कनले तिनै तथ्यलाई ‘अफ दी पिपुल, वाई दी पिपुल, फर दी पिपुल’ भनी अर्थ्याएका थिए।

लोकतन्त्र आधुनिक विश्वमा जीवन पद्धतिका रूपमा विकसित हुँदै गैरहेको छ। अपवादलाई छोड्ने हो भने हाम्रो देश नेपालले पनि २०४६ सालदेखि प्रजातान्त्रिक अभ्यासहरू गर्दै आएको छ। हालै सम्पन्न संसदीय निर्वाचन त्यसैको पछिल्लो कडी हो।

निर्वाचनमा दल वा उम्मेदवार विविध नारा वा सङ्कल्पसहित उपस्थित हुन्छन्। भर्खरै सम्पन्न निर्वाचनमा ‘नो नट अगेन’को नारा तेजाव झैं बल्यो। अथवा यसो भनौं, उक्त नाराले चनाचटपटे वा चाउचाउ उद्योगले भन्दा कैयौं गुणा ठूलो बजार लियो। यदि त्यो नारा यथार्थमै चनाचटपटे वा चाउचाउ हुँदो हो त त्यसका उत्पादकले बितेका चार–पाँच महिनामा खरबौं–खरबको मुनाफा आर्जन गरिसकेका हुनेथिए। चोकचोक, गल्लीगल्लीमा ‘नो नट अगेन’ साइनबोर्डधारी फाष्टफुड बिक्रेताहरूको गगनचुम्बी महल ठडिइसकेको हुनेथियो।

प्रकाश तिवारी

किन्तु सामाजिक सञ्जालमा भाइरल जस्तै भएको उक्त नाराको असली डिजाइनर वा पेटेन्टराइटको हकदार को थियो ? आम मतदाताले पत्तै पाएन। कतिपयले अनुमानकै भरमा भनिदिए– ‘नो नट अगेन’ का सर्जक सात समुद्र पारिका हुन्। जसले शक्तिसम्पन्न राष्ट्रको राजधानीबाट उक्त नारामा संगीत भर्छन् !’

त्यसो त हामी नेपाली बढी शंकालु छौं। बुझ्न कठिन विषयभित्र षडयन्त्र वा विदेशी हस्तक्षेप देख्छौं। म यस सन्दर्भमा मार्क्सवादको एउटा उक्ति प्रस्तुत गर्ने अनुमति चाहन्छु। मार्क्सवाद भन्छ – प्रकृतिमा घट्ने हरेक घटनामा आन्तरिक पक्ष निर्णायक हुन्छ। बाह्य तत्वले केवल सहयोगी भूमिका मात्र खेल्न सक्छ।’ खासमा नेपाली जनमतका परम्परागत मौलिक विशेषताहरू छन्– यो विद्रोही स्वभावको छ। छिटै प्रतिक्रियामा आउँछ। विगतलाई चाँडै बिर्सन्छ आदित्यादि।

हामीसँग त्यसलाई पुष्टि गर्ने उदाहरण पनि छन्। जस्तो कि, २०३८ को पञ्चायती निर्वाचनमा पद्मरत्न तुलाधर विद्रोही उम्मेदवारका रूपमा उदाए। ‘उनले काठमाडौंका सडकमा नेपालका राजाले फिलिपिन्सका फर्डिनान्ड मार्कोसले झैं देश छोडेर भाग्ने दिन छिटै आउँछ’ भन्दै सनसनीपूर्ण भाषण दिए। राजधानीका नागरिकले पद्मरत्नको विद्रोही हुँकारमाथि पञ्जाछाप लगाइदिए। यस्तै २०४८ को बहुदलीय निर्वाचनमा जनताले सशस्त्र क्रान्तिको पृष्ठभूमि बोकेको नेपाली कांग्रेसलाई बहुमत दिए।

२०५१ को मध्यावधि चुनावमा ‘टाउका काट्ने झापाली नक्सलाइट’ भनिएकाहरू ठूलो दल भएर उदाए। त्यसैगरी २०६४ को पहिलो गणतान्त्रिक निर्वाचनमा ‘जनविद्रोह’ बाट आएको शक्तिले सानदार विजय हासिल गर्‍यो।

हालै सम्पन्न संसदीय निर्वाचनमा नेपाली जनताले पुनः अर्को विद्रोही स्वभाव देखाए। यसपाला उर्लेको विद्रोही खहरेले ठूला भनिएका दलहरूलाई झण्डैझण्डै बगायो ! यो आलेख तयार गरिरहँदा संसदीय निर्वाचनको मतगणना करिब सकिएको छ। र, दलहरूको भावी तस्वीर स्पष्ट भैसकेको छ।

मत परिणाम अनुसार २०७४ मा ३३.२५ प्रतिशत मत पाएर पहिलो दल बनेको एमालेले अहिले २७ प्रतिशत (२०७४ को भन्दा झण्डै ६ प्रतिशत कम) मतमा खुम्चिएको छ। र उसले विगतमा प्रत्यक्षतर्फ ८० सिट जितेकोमा यसपाला ४४ मा ओर्लिँदै संसदको दोस्रो ठूलो पार्टी भएको छ। त्यसैगरी नेपाली कांग्रेस यसपटक संसदको पहिलो दल त बन्यो तर उसले पनि २०७४ मा पाएको ३२.७८ प्रतिशत मत जोगाउन सकेन। यतिखेर उसको समेत मत घटेर २६ प्रतिशत हाराहारी (२०७४ को भन्दा ७ प्रतिशत कम, र एमालेले पाएकोभन्दा १ प्रतिशत कम) मा पुगेर थिग्रिएको छ। प्रत्यक्षतर्फ भने उसले २०७४ को २३ सिटबाट छलाङ मार्दै ५७ सिट जितेको छ। त्यस्तै २०७४ को चुनावमा प्रत्यक्षमा ३६ सिट जितेको माओवादी यसपटक १८ सिटमा ओर्लेको छ। र विगतमा १३.६६ समानुपातिक मत पाएको माओवादी यो पटक २.५ प्रतिशत मत गुमाउँदै ११ प्रतिशतमा झरेको छ। त्यस्तै मधेशी आन्दोलनको पर्याय बनेको जसपाले समेत यो निर्वाचनमा नराम्रो हार ब्यहोर्न पुग्यो। एमालेबाट फुटेको ए–समाजवादीले त ३ प्रतिशत मत पनि ल्याउन सकेन ! निर्वाचनमा रास्वपा र राप्रपाले चाहिं अनपेक्षित सफलता पाए। रास्वपाले पहिलो पटकमै माओवादीको हाराहारी (करिब ११ प्रतिशत) मत ल्याएको मात्र हैन, प्रत्यक्षमा ७ सिट जित्दै संसदको चौथो ठूलो शक्ति हुन पुग्यो। जनमत पार्टीले आफूलाई नेपालको अर्को नयाँ राष्ट्रिय पार्टीका रूपमा उभ्यायो।

चुनावमा ‘नो नट अगेन’ नाराले रास्वपाको लागि रासायनिक मलको जस्तै काम गर्‍यो। मतदाताहरूले धेरै ठाउँमा उक्त नाराका वाहकहरूलाई नचिनिकनै भोट दिए। मतदाताले घन्टी चिने अनि घन्टीमार्फत पुराना भनिएका दलका नालायक, गफाडी नेताविरुद्ध बगावतको झण्डा उठाए। पाँच महिनाअघि गठन भएको पार्टीले परिवर्तनका संवाहक भनिएका दलहरूको स्वप्न महलमा एकाएक त्यति ठूलो धक्का दिनु चानचुने कुरा होइन।

जनता लोकतन्त्रका न्यायाधीश हुन्। लोकतन्त्रमा जनताले ठूल्ठूला राजनैतिक मुद्दाहरूको छिनोफानो गर्छन्। त्यस मानेमा जनताको फैसलालाई अपमानित गर्नु शोभनीय हुँदैन। परन्तु यतिखेर रास्वपा वा घन्टीको विषयमा जेजस्ता सवालहरू उठाइएका छन्, त्यसको चर्चा विना यो लेख अपूरो रहनेछ।

मानिसहरू भन्छन्, ‘घन्टी दलको दार्शनिक मान्यता र भावी कार्यदिशा स्पष्ट छैन। उनीहरू संघीय प्रणालीलाई स्वीकार्दैनन्। रास्वपाका उम्मेदवारहरूको एकआपसमा राम्रो चिनाजानी समेत छैन। घन्टी पार्टी र गगन थापाबीच अघोषित साँठगाँठ छ। घन्टीले गगन थापा उठेको निर्वाचन क्षेत्रमा उम्मेदवारी नै दिएन ! घन्टी पार्टीको छद्म उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रका पिलरहरूलाई ढाल्ने हो। जुन आगामी मध्यावधि निर्वाचनमार्फत सम्पन्न हुनेछ !’ उल्लिखित आशंकाहरूमा के कति दम छ, यसै भन्न सकिन्न। ‘पिक्चर अभि बाँकी है।’

के रास्वपा मानिसहरूले आशंका गरेझैं संघीय प्रणालीको विरुद्धमा हो त ? हो भने यसबारे उसले स्पष्ट भन्ने आँट गर्नुपर्छ। यदि ऊ वर्तमान संघीय ढाँचाविरुद्ध हो भने त्यसले उसको मात्र नभै सिङ्गो मुलुकको हित गर्ने छैन। संघीय व्यवस्था मधेशी जनताको बलिदानीपूर्ण संघर्षको उपज हो। र यो प्रणाली मधेशी, थारु, दलित, आदिवासी–जनजातिलगायतका पिछडावर्गको रगतसँग साटिएको छ। संघीय व्यवस्था विरोधी कुनै पनि हर्कतले सीमान्तकृत समुदायको आत्मसम्मानमा चोट पुर्‍याउनेछ। त्यसको परिणति नेपाल फेरि अर्को राजनैतिक द्वन्द्वको चक्रव्यूहमा फस्नेछ।

चलचित्र जीवनरेखामा एउटा गीत छ–
‘कहीं आफ्नै भुमरीमा आफैं पर्‍यौ कि
कहीं आफ्नै आँखाबाट आफैं झर्‍यौ कि !’

गीतमा भनिएजस्तै यसपटक नेपालका ठूला राजनीतिक दलहरू आफूले रचेको भुमरीमा आफैं परे। आफ्नै कार्यकर्ताको आँखाबाट तल झरे। जेहोस् चुनावी परिणाम आइसकेको छ। अब हामीसँग समीक्षाबाहेक अरु उपाय बाँकी छैन। चित्त बुझाउन गाह्रो परेको कुरा चाहिं के भने यो चुनावमा जितुन् भनी कामना गरिएका कतिपयले हार व्यहोरे। पातालमा धसिइजा भनी धारेहात लाएका खलनायकहरूले जिते। भ्रष्टका लागि ‘नो नट अगेन’ को नारा ‘वेलकम वान्स अगेन’ भनेजस्तो पो हुनगयो !

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?