+
+

खेलाडीका परिवार र समर्थकको साथ पनि मोरक्कोको जितको ‘खुराक’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १९:५५
रंगशालामा उपस्थित मोरक्कोका समर्थक ।

२१ मंसिर, काठमाडौं । मोरक्को फुटबल एउटा नयाँ उचाइमा पुगेको छ । कारण खेलाडी र प्रशिक्षकको भूमिका उत्कृष्ट रह्यो र टिम स्पेनलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा ।

यो सफलतामा खेलाडी र प्रशिक्षकको लगन, मेहनत बाहेक अर्को पनि एउटा तत्व छ– समर्थक । खेल हेर्न कतार रंगशालामा नै आइपुगेका समर्थक र खेलाडीका परिवारको पनि जीतमा भूमिका छ ।

कतारमा जारी विश्वकपको दौरान खेलाडीलाई समर्थकको उत्कृष्ट साथ छ । खेलाडीका परिवारका सदस्य पनि उत्तिकै रुचि र लगावका साथ रंगशालमा उपस्थित भइरहेका छन् ।

मोरक्कोले फिफा वरियताको दोस्रो शक्ति राष्ट्र बेल्जियमलाई २–० ले पराजित गर्दा पेरिस सेन्ट जर्मनका डिफेन्डर असरफ हकिमीकी आमाले उनलाई मैदानमा आएर अंकमाल गर्दै चुम्बन गरिन् ।

यो फोटो सामाजिक सञ्जालमा निकै छायो । २४ वर्षीय हकिमीले पनि आफ्नी आमालाई निधारमा चुम्बन गरेको फोटो इन्टाग्राममा पोष्ट्याउँदै ‘आमा तिमीलाई धेरै माया’ भनेर लेखे ।

हकीमीको आमा मात्रै होइन धेरै मोरक्को खेलाडीको अभिभावक कतार विश्वकप हेर्न आएका थिए ।

परिवारको माया

असरफ हकिमी र उनकी आमा

प्रशिक्षक वालिद रेग्रागुई र मोरक्को फुटबल संघका अध्यक्षले खेलाडीले छानेका परिवारका सदस्य विश्वकप हेर्न आउन हकदार रहेको बताए । दोहास्थित व्याधम होटल मोरक्कोका खेलाडीका अभिभावकको समर क्याम्प जस्तो देखिन्थ्यो ।

प्रशिक्षक रेग्रागुईकी आमा पनि यस पटक फ्रान्सबाट यहि विश्वकपका लागि भनेर कतार अएकी छिन् ।

‘खेलाडी तथा प्रशिक्षकको करिअरमा मैले कहिले पनि उसको खेल हेर्न आइन’, उनले मोरक्कोको एक खेलकुद च्यानल अरियादियालाई भनिन्, ‘म ५० वर्षयता फ्रान्समा नै रहँदै आएकी छु । यो पहिलो प्रतियोगिता हो जसको लागि मैले पेरिस छाडेर आएँ ।’

मिडफिल्डर अब्दिलामिद साबिरीका आमाबुवा पनि यस पटक विश्वकप हेर्न आए । चेल्सीका मिडफिल्डर हाकिम जीच र सेविलाका गोलकिपर यासिन बोनोका अभिभावकले पनि यस पटक विश्वकपमा उपस्थिति जनाए ।

जब जब टेलिभिजनका माइक्रोफोन र बुम उनीहरु तेर्सिन्थे उनीहरुका अनुहारमा गौरन्वित भाव देखिन्थ्यो । उनीहरु सम्पूर्ण मोरक्कोन टिमका खेलाडीलाई आफ्नो मान्थे ।

उनीहरुको सामाजिक सञ्जालमा निकै मनमोहक दृश्यहरु देखिन्थे । त्यो बाहेक प्रशिक्षक रेग्रागुईको रणनीति पनि मैदानमा कम मनमोहक थिएन । प्रशिक्षकले पनि आफूहरुको यो खुसी आफ्नो आमाबुवाबिना सम्भव नरहेको बताए ।

मोरक्को यस अघि विश्वकपमा त्यति रुचाइएको देश होइन । १९८६ मा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको मोरक्को त्यसयता समूह चरणबाटै बाहिरिन्थो ।

घरेलु समर्थकको साथ

कतारमा मोरक्कोले खेल्ने खेलमा कम्तीमा पनि १५ हजार मोरक्कन समर्थकहरु रंगशालामा उपस्थित थिए । यति मात्रै होइन विश्वभरमा हजारौंको संख्यामा रहेका समर्थकको उनीहरुले राम्रो साथ पाए । समूह चरणको खेलदेखि नै मोरक्कन समर्थकले मैदानमा राम्रो समर्थन दिएका थिए । उनीहरुले बेल्जियमसँगको खेलमा विपक्षी टिमलाई चुनौती दिने खालको माहोल बनाएका थिए ।

बेल्जियमसँगको खेलमा १५ औं मिनेटमा मोरक्कोले १–० को अग्रता बनाउँदा मोरक्कन समर्थनको राम्रो उदाहरण पेस गरेका थिए । कतारमा विश्वकप आयोजना हुनु मोरक्कन समर्थकका लागि सकरात्मक पक्ष हो । यदि यहि विश्वकप युरोप वा दक्षिण अमेरिकामा भएको भए सोही १५ मिनेट पनि १ घण्टा जस्तो लाग्न सक्थ्यो ।

अल थुमामा स्टेडियममा जब बेल्जियमका खेलाडीले बल पोजिसनमा लिन्थे तब उनीहरुलाई दबाब दिन वु….को आवाज गुज्थ्यिो भने बल पोजिसन मोरक्कोको पक्षमा हुँदा हल्लाले रंगशाला नै गुञ्जयमान हुन्थ्यो ।

यसबारेमा प्रशिक्षक रेग्रागुई भन्छन्, ‘म भगवानको कसम लिएर भन्न सक्छु समर्थकको साथ नभएको भए हामी यति अघि आउन सक्दैनथ्यौं ।’

मोरक्कोका समर्थकले विपक्षीलाई दबावमा राख्न कुनै कसर छोड्दैनन् । उनीहरुले घरेलु समर्थकको समर्थनले कतिसम्म असर गर्छ भन्ने उत्कृष्ट उदाहरण पेस गरे । उत्तर अफ्रिकी टिमले पनि आफ्ना समर्थकलाई निकै खुसी दिइरहेको छ ।

खेलाडीको क्षमताका कारण पनि यो सम्भव भएको हो । समूह चरणको खेल सकिएर मोरक्कोको अन्तिमा १६ को खेल स्पेनसँग हुँदा मोरक्कन समर्थकमा टिकटको माग एक्कासी बढेको थियो । जसका कारण मोरक्को फुटबल संघले ५ हजार थप टिकट किन्नु परेको थियो ।
हरेक समर्थक रातो झन्डाको साथमा ड्रमको साथमा एजुकेशन रंगशाला मोरक्कोको लागि अर्को घरेलु मैदान बन्यो ।

मोरक्को यसअघि विश्वकपमा खासै छाएको टिम होइन । विश्वकपको समुह चरणमा बेल्जियमलाई परास्त गरेपछि मोरक्कोले अन्य देशका फुटबल समर्थकको ध्यान पनि आफूतिर केन्द्रित गरेको छ ।

अन्य देशका समर्थकले पनि विश्वकपमा उदयीमान रुपमा रहेको मोरक्कोको प्रदर्शनलाई निकै चाख लिएर हेरिरहेका छन् ।

यसको मुख्य कारण मोरक्कोका २६ मध्ये १४ खेलाडी मोरक्को बाहिर जन्मिएका छन् । कतार विश्वकपमा सामेल ३२ राष्ट्रहरुमध्ये सबैभन्दा बढी विदेशमा जन्मिएका खेलाडीमा निर्भर रहेको राष्ट्र हो मोरक्को । प्रशिक्षक रेग्रागुईका अुनसार टिम समिश्रित छ । जसमा धेरै खेलाडी फरकफरक वातावरणमा हुर्र्किएर आएका छन् । टिम झन जटिल पनि हुन सक्म्छ । किनभने यी खेलाडी फरक परिवेशमा हुर्किएका छन् ।

खेलाडीको अभिभावकका अनुसार, प्रवासीहरु मोरक्को राष्ट्रिय टिमको अझ धेरै समर्थनमा हुन्छन् । मोरक्कोका घरेलु दर्शक भन्दा बढी बाहिरी दर्शकको समर्थन हुने उनीहरु बताउँछन् ।

खेलाडीहरु विदेशमा जन्मिएका कारण पनि धेरै स्थानका मानिसले मोरक्कोको राष्ट्रिय टिमलाई समर्थन जनाउने गरेका छन् ।

विन्धममा पछिल्लो समय धेरै आमाबुवाहरुले आफ्नो छोराछोरीको फुटबल मोहलाई सम्बोधन गर्दै आफ्नो राष्ट्रिय टिमको खोजी गर्नुको सट्टा मोरक्कोको राष्ट्रिय टिममा खेलाउने निर्णय लिन थालेका छन् ।

मोरक्कोका स्ट्राइकर जकारियाका बुवा भन्छन्, ‘उनी हल्यान्डमा जन्मिएका हुन् । उनीसँग त्यो सबैथोक हल्यान्डमा पनि छ तर हाम्रो रगतमा मोरक्को छ ।’

अर्का मिडफिल्डर विलाल अल खानौसका बुवाले भने, ‘उनी बेल्जियममा जन्मिएका हुन् । तर विलालले मोरक्कोका लागि खेल्ने बताएर । उनले मेरो मनको कुरा गरे ।’

प्रशिक्षक वालिद पनि फ्रान्समा जन्मिएका हुन् । उनले १९८६ को विश्वकप सम्झिँदै भने, ‘त्यो बेला म फ्रान्समा बस्थें । त्यति बेला मोरक्कोले पोर्चुगललाई पराजित गरेको थियो, त्यो मेरो जिवनको सबैभन्दा खुसीको क्षण थियो ।’

अलजजिराको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?