
२२ मंसिर, काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीले आफूमाथि बलात्कार र अप्राकृतिक करणीको गरेको जाहेरी लिएर सरकारी निकाय धाइरहेकी छिन् एक महिला ।
५ वैशाख ०७५ मा गिरीसंग भारतको अयोध्यामा विवाह गरेको बताउने उनले आफूलाई गिरीले लगातार कुटपिट र यौन शोषण गरेको तर सन्तान सुख नदिएको बताएकी छन् ।
बाँकेको बैजनाथ गाउँपालिका–६ घर भएका गिरीले नेपालगञ्ज उपमहानगरपालिका–९ घर भएकी ती महिलासँग दोस्रो बिहे गरेका थिए । विवाह गर्दा उनी जिल्ला अदालत, बाँकेमा सहरजिस्ट्रार थिए । विवाहको केही समय माइतीमै रहेकी उनलाई गिरीले उच्च अदालत, दिपायलमा रजिस्टार भएपछि सँगै लगेका थिए ।
जेठी श्रीमती बाँकेस्थित घरमै भएकाले दिपायलमा गिरी र ती महिला सँगै बसेका थिए । उनीहरुको पारिवारिक जीवन सामान्य चलिरहेको थियो । ‘मेरो पेटमा गर्भ बसेपछि समस्या सुरु भयो’, ३९ वर्षकी महिलाले भनिन्, ‘मलाई बच्चा चाहिएको थियो तर, उनले जबर्जस्ती गर्भपतन गर्न लगाए ।’
दिपालयमा गिरीले औषधी खान लगाएर दबावमा गर्भपतन गर्न लगाएको उनले सुनाइन् । गर्भपतनपछि अत्यधिक रक्तश्राव हुँदा उपचारका लागि नेपालगञ्ज आएको बताउँदै महिलाले भनिन्, ‘म न्यायाधीश भएपछि मात्रै बच्चा पाउनुपर्छ भन्दै गर्भपतन गर्न लगाए ।’
०७६ मै दिपायलबाट गिरी कैलाली जिल्ला अदालतमा सरुवा भए । ०७६ को मंसिरमा आफू पुन गर्भवती भएको तर गिरीले बच्चा जन्माउन नदिएको ती महिलाले बताइन् । ‘मर्ने गरी कुटे, पेटमा लात्ताले हानेर मलाई बेहोस बनाए । मलाई बेहोसीमै अस्पताल लगेर गर्भ फाल्न लगाए’ बिहीबार काठमाडौंमा अनलाइनखबरसँगको कुराकानीमा उनले भने ।
निरन्तर कुटपिट र गर्भपतन गराउन थालेपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा महिलाले उजुरी दिइन् । ‘मैले उजुरी दिएको थाहा पाएपछि सुरुमा मलाई कुटपिट गरे’, काठमाडौंको सेफ हाउसमा बसिरहेकी महिलाले भनिन्, ‘पछि मेरी आमालाई बोलाएर अबदेखि यस्तो गर्दिन भनेर माफी मागे । आफ्नै श्रीमान हो भनेर मैले पनि उजुरी फिर्ता लिएँ ।’
०७६ माघमा गिरी सर्वोच्च अदालतमा सरुवा भएर आए । गिरी काठमाडौं आएपछि नेपालगञ्जस्थित माइतीमा फर्किइन् । ०७६ चैतमा गिरीले महिलालाई काठमाडौं बोलाए । उनी भन्छिन्, ‘०७६ चैतमा मलाई काठमाडौं बोलाए । हामीले काठमाडौंको मैतिदेवीमा डेरा लियौं ।’
काठमाडौं आइसकेपछि आफूले बच्चा जन्माउने इच्छा गरेको तर गिरीले नमानेको बताइन् । उनी भन्छिन्, ‘मलाई बच्चा चाहियो भनिरहेँ । तर, गर्भ नै रहेन । त्यसपछि मैले जाँच गराउन जाँऔं भने । जाँच गराउन जाँदा दुईपटक अस्पतालबाटै भागे ।’
काठमाडौमा बस्दा गिरीले आफ्नो इच्छा विपरीत यौनसम्पर्क गर्ने र कुटपिट गर्ने गरेको महिलाको भनाइ छ । उनी भन्छिन्, ‘मलाई त यौनदासी जस्तो बनायो । कुट्ने, पिट्ने र मनलाग्दी गर्ने गरिरह्यो ।’ आफूलाई सन्तान सुख नदिने तर यौनदासी मात्र बनाउने काम गरेको महिला बताउँछिन् ।
०७८ फागुनमा जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण भएपछि गिरी जिल्ला अदालत कपिलवस्तुमा पदस्थापन भए । १७ कात्तिकमा ती महिलालाई पनि गिरीले कपिलवस्तुमा बोलाए । त्यहाँ गिरी, उनकी जेठी श्रीमतीले कुटपिट गरेको र मार्ने धम्की दिएको ती महिला बताउँछिन् ।
गत १८ कात्तिकमा महिलाले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकमा फोन गरेर आफूलाई बचाउन गुहार मागिन् । त्यही दिन उनी कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा गिरी विरुद्ध उजुरी दिइन् । ‘न्यायाधीशविरुद्ध उजुरी आएपछि पुलिसले गिरीलाई बोलाए,’ महिलाले सुनाइन्, ‘पुलिसले गिरी र मलाई एउटा कोठामा राखेर छलफल गर्नुस् भन्यो । गिरीले मलाई उजुरी दर्ता गरिस् भने आत्महत्या गरेर तलाई फसाउँछु भन्दै धम्की दियो ।’
बेसहारा बनेकी महिला फेरि गिरीकै क्वार्टरमा फर्किइन् । ‘जाने ठाउँ कतै थिएन त्यसैले त्यही फर्किएँ,’ उनले भनिन्, ‘त्यसपछि केही दिन सामान्य भयो । फेरि कुटपीट र यौन शोषण गर्न सुरु गरे ।’
मंसिर १ र २ गते गिरीले कुटपिट र जबर्जस्ती करणी गरेको ती महिला बताउँछिन् । ‘तलाई बच्चा जन्माउन ल्याएको होइन, यौन इच्छा पूरा गर्न ल्याएको हो भन्दै मलाई कुट्यो’ उनी भन्छिन् ।
२ मंसिरमा महिला गिरीविरुद्ध अर्को उजुरी लिएर प्रहरी कार्यालय पुगिन् । तर, प्रहरीले न्यायाधीश विरुद्ध आएको वैवाहिक बलात्कार, अप्राकृतिक करणी र हिंसाको उजुरी लिन मानेन ।

प्रहरीले उजुरी लिन नमानेपछि महिलाले राष्ट्रिय महिला आयोगमा फोन गरेर गुनासो सुनाइन् । ‘आयोगकी म्याडम कमला पराजुलीले नै फोन गरेपछि पुलिसले मेरो स्वास्थ्य जाँच गराए,’ उनले भनिन्, ‘मेरा लुगा, कपडा सबै पुलिसले राख्यो । यौनागंबाट स्वाब झिक्यो तर उजुरी लिएन ।’
४ र ५ मंसिरमा चुनावका कारण देखाउँदै प्रहरीले उजुरी दर्ता गरेन । ६ मंसिरमा कपिलवस्तु जिल्लाका प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले आफूलाई मेलमिलाप गर्न दबाव दिएको महिलाले सुनाइन् । ‘मैले मेलमिलाप गर्दिन भनेँ’, महिला भन्छिन्, ‘मेरो उजुरी दर्ता गर्नुस्, मिल्दिन भनेँ । एसपीले त मलाई अंशवण्डा लिएर छुट्टिएर बस्नुस् भने ।’
७ मंसिरमा प्रहरी मुचुल्का उठाउने भन्दै न्यायाधीश गिरीको क्वार्टरमा आइपुग्यो । प्रहरीले घटनास्थलको मुचुल्का संगै महिलामाथि न्यायाधीश गिरीले २६ हजार रुपैंयाँ चोरीको उजुरी पनि दिए । ‘मलाई चोरी मुद्धामा थुन्न खोजे,’ महिलाले भनिन्, ‘मेरो उजुरी दर्ता गर्नु पहिले नै मलाई थुन्छौं भन्यो पुलिसले । मैले पनि लौ मलाई थुनेपनि केही छैन तर, पहिला मेरो उजुरी दर्ता गर भनेँ ।’
त्यसपछि महिला काठमाडौं आइन् । काठमाडौं आएर उनले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग र न्याय परिषदमा निवेदन दिएकी छिन् । मानव अधिकार आयोग र महिला आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी दर्ता गरेर छानविन गर्न निर्देशन दिइसकेको छ ।
ती महिलाले प्रहरीले बलात्कार जस्तो गम्भीर मुद्धामा समेत संवेदनशीलता नदेखाएको र उल्टै आफूलाई दबावमा पारेको भन्दै प्रहरी प्रधान कार्यालयमा पनि निवेदन दिएकी छिन् ।
‘मैले आफ्नै श्रीमान हो भनेर सबै सहेँ’, महिला भन्छिन्, ‘मलाई घरभित्र थुन्ने, कुट्ने र यौनदासीजस्तो व्यवहार देखाउन थालेपछि म न्याय माग्न निस्किएँ ।’
प्रतिक्रिया 4