+
+

‘ओली, प्रचण्ड र माधवले समाधान दिने जमाना गयो’

अहिले त संचार र सूचनाको बाढी, आँधीहुरी आएको छ । एकप्रकारले सूचना क्रान्ति छ । अब समाजको समस्या देख्ने काम कम्युनिष्टको मात्रै रहेन । कम्युनिष्ट पार्टीमा भएको मान्छेले जति समस्या देख्छ, त्यत्तिकै पार्टीमा नरहेको स्वतन्त्र र सामान्य साक्षर मान्छेले पनि देख्ने भए ।

घनश्याम भूसाल घनश्याम भूसाल
२०७९ मंसिर २३ गते १८:११

कम्युनिष्ट पार्टी र यसको पक्षमा रहेको वाम जनमत विभाजित हुँदा समस्या भोग्नु परेको हाम्रो इतिहास छ । खासगरी २०४८ सालपछि वामपन्थी जनमत बढी भए पनि त्यो एकीकृत र संगठित रूपमा सरकारमा अभिव्यक्त हुन सकेन, सकेको छैन । यसको कारण वाम पार्टी र कम्युनिष्ट आन्दोलनमा रहेको विभाजन हो ।

संगठित हुँदा उनीहरूले बहुमत ल्याएका छन् । एकताबद्ध हुँदा २०७४ सालमा यिनीहरूले बहुमत ल्याए । खण्डित हुँदा २०७४ अगाडिको र २०७९ वैशाखको स्थानीय चुनाव, भर्खरै सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधिसभाको चुनावलगायतमा उनीहरूको आकार खुम्चियो । फलतः उनीहरूको सामाजिक प्रभाव सरकार र सत्तामा अभिव्यक्त हुन पाएन ।

यसरी हेर्दा २०७४ सालसम्म निरन्तर कम्युनिष्ट जनमत विस्तार हुँदै गएकै हो । २००७ सालको क्रान्तिमा सहभागिताको दृष्टिले कम्युनिष्ट नेतृत्व छँदै थिएन भन्दा पनि हुन्छ । कम्युनिष्ट पार्टी थियो, ऊ आन्दोलनको पक्षमा थियो, सहभागी भए पनि आन्दोलनको नेतृत्वमा कम्युनिष्ट नेतृत्व थिएन ।

त्यसको एउटा सामाजिक कारण हो, त्यतिखेर अगुवा जमिनदार वर्गबाट उक्लेका मान्छेहरू, अलिकति पढेलेखेका जमिनदारका छोराहरू त्यतिखेरको समाजको सबैभन्दा अगुवा तप्का, अग्रदस्ता त्यही थियो । पहुँचका हिसाबले पनि उनीहरूसँग स्वतः अन्तर्राष्ट्रिय राजनीतिको प्रभाव थियो, जसले कांग्रेसलाई ‘फेभर’ गर्थे ।

कम्युनिष्टहरूको विचारलाई तल सञ्चार र सम्प्रेषण गर्ने जनमत थिएन । जहाँबाट आउनुपर्ने हो, त्यो वर्गमा मान्छेहरू साह्रै कम थिए । त्यतिबेला जमिनदारका वा व्यापारीका छोराहरू नै अलि–अलि पढेलेखेका हुनेहुन् । सानो संख्या मात्रै भएकोले २००७ सालको क्रान्तिमा कम्युनिष्टहरूको सहभागिता कम रह्यो ।

पछि २०२० सालतिरसम्म आइपुग्दा नेपाली समाजमा बाहिर आउजाउ र बाहिरी सम्पर्कहरू बढ्न थाल्यो । व्यापारको विस्तार र खासगरी जमिनदारी प्रथा टुट्दै गएपछि भूमि सुधार पछाडि ह्वात्त मध्यम वर्ग आयो । त्यो मध्यम वर्गका छोराछोरीहरू कम्युनिष्ट पार्टीमा लागे र कम्युनिष्ट पार्टी अलिकति विस्तार भयो ।

२०३६ सालको आन्दोलनसम्म आइपुग्दा कम्युनिष्ट पार्टी थप विस्तार भए । तर, त्यतिखेरै क्रान्ति सशस्त्र हुन्छ कि निःशस्त्र हुन्छ, अथवा शान्तिपूर्ण हुन्छ भन्ने जस्ता विवादले पार्टी विभाजन हुनथाले । सोभियत संघ र चीनको विवाद, क्रान्तिको बाटो, भारतलाई कसरी विश्लेषण गर्ने, भारतले हाम्रो क्रान्तिलाई के प्रभाव पार्छ, राजाले हाम्रो क्रान्तिलाई कसरी प्रभाव पार्छ अथवा पार्दैन जस्ता मुद्दाहरूमा कम्युनिष्ट पार्टी विभाजित भए ।

यो क्रम २०१७ सालबाटै सुरु भएकोले कम्युनिष्ट समूहले यस्तो विवादलाई बढावा दिए । कम्युनिष्ट पार्टीमा आएका मध्यम वर्गका केटाकेटी विभाजित भएरै हुर्किए । यद्यपि कम्युनिष्टको प्रभाव भने विस्तार भइरह्यो ।

२०४८ सालसम्म आउँदा त्यही तल्लो समाजको सुकुम्बासी, जनजाति, महिला, दलित, दुर्गम क्षेत्रका बासिन्दासम्म आफ्नो आवाज पुर्‍याए, पुर्‍याउन सक्ने स्थिति बन्यो । खासगरी शिक्षाको प्रचारप्रसारले गर्दा त्यो सम्भव भयो । २०१७, २०२० साल पछाडिदेखि नै उनीहरू विभाजित भएर आइराखेका थिए । त्यसले कुनै न कुनै हिसाबले पार्टीहरूभित्र विभाजित मानसिकता २०७० सालसम्म पनि कायमै रह्यो । २०७४ सालको चुनावमा उनीहरू मिलेर बहुमत ल्याए । अहिले फेरि विभाजित भए, परिणामस्वरुप प्रभाव धेरै भएर पनि कांग्रेसभन्दा सानो भए ।

समस्या देखाएर मात्र सुख पाइन्न

एउटा कुरा– अहिले सामाजिक प्रभाव कांग्रेस–कम्युनिष्ट सबैको घटेको छ । हिजो कम्युनिष्टहरूले समस्यालाई बुझ्ने र व्याख्या गरेअनुसार समाज डोहोरिन्थ्यो । अहिले त त्यो समस्या समाधान गर्ने ठाउँमै उनीहरू छन् । तर, अहिले त संचार र सूचनाको ठूलो बाढी, आँधीहुरी आएको छ । एकप्रकारले सूचनाको क्रान्ति छ ।

अब समाजको समस्या देख्ने काम कम्युनिष्ट र कांग्रेसको मात्रै कुरा रहेन । कम्युनिष्ट पार्टीमा भएको मान्छेले जति समस्या देख्छ, त्यत्तिकै समस्या बाहिरको मान्छेहरूले, पार्टीमा नरहेको स्वतन्त्र र सामान्य साक्षर मान्छेले पनि देख्ने भए । पार्टीका संगठित मान्छेले पनि देख्ने भए । तर, समस्या समाधान गर्ने ठाउँमा कम्युनिष्ट, कांग्रेसहरू छन् ।

त्यसैले अब समस्या देखाएर मात्र सुख पाउने अवस्था छैन । ‘तिमीहरूले समाधान किन गरेनौं’ भन्ने प्रश्नको उत्तर कम्युनिष्ट र कांग्रेसहरूले दिन नसक्दा स्वतन्त्र वा अरू विभिन्न स्वरूपमा पार्टीहरू उदाए । समस्या समाधान गर्ने ठाउँमा बस्ने, तर समाधान नगर्ने कारणले त्यो प्रतिक्रियास्वरूप कम्युनिष्ट, कांग्रेसको मताधार तुलनात्मक रूपले घटेको हो ।

कम्युनिष्ट पार्टीले एउटा धेरै ठूलो अवसर गुमायो । कम्युनिष्ट पार्टीहरू मूलभूत रूपमा एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा हिजोका कम्युनिष्ट आन्दोलनमा रहेका सैद्धान्तिक, राजनीतिक विवादहरू मूलभूत रूपमा समाधान गरिएको थियो ।

त्यतिबेला हामीले सही निष्कर्ष निकालेका थियौं कि अब हामीले एउटा उत्पादक राष्ट्र बनाउँछौं । राज्य उत्पादक हुन्छ । राज्यले उत्पादनमा जोड दिन्छ र वितरणमा पनि उत्तिकै ध्यान दिन्छ । उत्पादन गर्दै यसको न्यायिक वितरण गर्दै अगाडि जाने हो ।

हामीले रोजगारी सिर्जना गर्न पूँजी निर्माण गर्दै समाजको ६–७ दशकभन्दा अघिदेखिको पुरानो समस्या– आधारभूत समस्या, रोजगारी सिर्जना नगर्ने हाम्रो अर्थतन्त्रलाई बदल्छौं । रोजगारी, वैभव र राष्ट्रिय पूँजी सिर्जना गर्दै त्यसको समानतापूर्ण, न्यायिक वितरण गर्दै हामीले संविधानबमोजिम मुलुकलाई समाजवादतिर लैजान्छौं भन्यौं ।

त्यो असाध्यै सही निष्कर्ष हाम्रो नेतृत्वले बोक्न सकेन । खासगरी २०७४ साल पछाडि त्यो अवसरको जुन महत्व र गरिमा थियो, त्यो बहुमतका प्रतिको दायित्व र जिम्मेवारी हाम्रो नेतृत्वले महसुस गर्न सकेन ।

परिणामतः हिजो पञ्च र कांग्रेसहरू सरकारमा गए जस्तै हामीले पनि शक्ति र सत्ताको अभ्यास गर्‍यौं । व्यक्तिगत र गुट–उपगुटको फाइदाका लागि सत्ताको दुरुपयोग गर्ने अभ्यासहरू रोकिएन । त्यसैले पार्टीभित्र विवाद आयो र त्यो फेरि फुट्यो । फलतः आज यो स्थिति आएको छ ।

टुट्यो ओली, प्रचण्ड र माधवप्रतिको भ्रम

आज पनि कम्युनिष्ट पार्टीले समस्या समाधानको बाटो देखाउन र समाधान गर्न सकेका छैनन् । परिणामस्वरुप हामीविरुद्ध प्रश्न उठेका छन् । यो कम्युनिष्ट आन्दोलनभित्रको चुनौती हो । त्यसैले केही मताधार घटेको छ । तर, यो सोच्ने मान्छेका लागि भयंकर अवसर पनि हो ।

हिजो जसरी जुन आधारमा संगठन बनाइयो, खासगरी व्यक्ति र नेतृत्वकेन्द्रित भएर, नेतृत्वका वरिपरि, व्यक्तिका वरिपरि जसरी संगठन बन्यो, संगठनको अभ्यास भयो, संगठन चल्यो । यो भ्रम टुटेको छ । उदांगो भएको छ । अब ओली, प्रचण्ड, माधव वा अरू कसैले समाधान दिने जमाना गयो ।

यो राम्रै भएको छ । हिजोका व्यक्तिकेन्द्रित सोच, विचार, संरचनाबाट अब कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिंदैन । अब हामी त्यो सामूहिकतामै र समस्यालाई जस्ताको तस्तै देख्ने, बुझ्न सक्ने लोकतान्त्रिक विधि, पद्धतिबाट मात्रै अगाडि जान सक्छौं । यस अर्थमा आजको सामाजिक जनमत, कम्युनिष्ट पक्षधर जनमतलाई हामीले नयाँ विश्वास, नयाँ आशा दिनुपर्नेछ, त्यो पनि आजका समस्या समाधान गर्न सक्ने गरी ।

फेरि पनि आजको चुनौती रोजगारी सिर्जना गर्ने पूँजी र सुशासन हो । नेताले झूटो बोल्दैन, नेताले भ्रष्टाचार गर्दैन । सुशासनका मानक यिनै हुन् । भ्रष्टाचारका नाममा कर्मचारीमा खोज्ने, खरिदारमा भ्रष्टाचार देखाउने तरिकाले हुँदैन ।

सुरुमा राजनीतिको भ्रष्टाचार, राजनीतिमा भ्रष्टाचार हुनु भएन । आफ्ना सम्पूर्ण प्रयत्नहरूलाई पार्टीका स्थानीय, प्रादेशिक वा माथिका संरचना र यसका नीतिहरूलाई रोजगारी सिर्जना गर्ने कुरामा केन्द्रित गरेर जानुपर्‍यो । यी दुइटा क्षेत्रमा जसले संकल्प गरेर विश्वास हासिल गर्छ, उसैले अब नेतृत्व गर्छ ।

समस्या त आउँछन् । हिजो जस्तो प्रश्नहरूको उत्तर दिन सजिलो छैन । हिजो हामीले असफलताको जिम्मा लिनु परेको थिएन, तर अब यसको जिम्मा लिनुपर्छ । रोजगारी सिर्जना गर्ने कुरामा सम्पूर्ण नीति, सिद्धान्त र विचारहरूलाई केन्द्रित गर्ने, भ्रष्टाचार नगर्ने, नेताहरूले झूटो नबोल्ने ।

यी संकल्पका साथ दुनियाँले सुन्ने गरी हामीले आफूलाई अगाडि ल्याउनुपर्छ । परीक्षामा अहिले यत्तिकै उत्तीर्ण मानिहाल्ने स्थिति छैन । तल व्यवहार र समाजको परीक्षामा उत्तीर्ण हुँदै जाने हो । यो बाटोबाट जाँदा मात्रै हामीले कम्युनिष्ट आन्दोलनलाई बचाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?