+
+
विश्वकप सेमिफाइनल :

मेस्सीको विश्वकप सपना र आत्मविश्वासी क्रोएसिया

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १४:०४

२७ मंसिर, काठमाडौं । ब्राजिल र नेइमारको विश्वकप सपना समाप्त पारेको क्रोएसिया मंगलबार अर्जेन्टिना र लियोनल मेस्सीमाथि पनि त्यस्तै नतिजाको आशा गरिरहेको छ ।

तर, क्रोएसियाली टिमले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई म्यानमार्क गर्ने प्रयास गर्ने छैन । बरु लुसेल रंगशालामा हुने विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा पूरा टिमलाई रोक्नमा ध्यान केन्द्रित गर्नेछ ।

क्रोएसियाका स्ट्राइकर ब्रुनो पेटकोभिचले आइतबार एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘मेस्सीलाई रोक्न हामीसँग अहिलेसम्म कुनै विशेष योजना छैन । सामान्यतः हामी एकजना खेलाडीलाई मात्र भन्दा पनि पूरा टिमलाई रोक्नमा ध्यान केन्द्रित गर्नेछौं । किनभने अर्जेन्टिनामा मेस्सीबाहेक थुप्रै स्टार खेलाडीहरु छन् ।’

क्रोएसिया टिम चार वर्षअघि फाइनलमा फ्रान्ससँग पराजित भएयता लगातार दोस्रोपल्ट विश्वकप फाइनलमा स्थान बनाउने प्रयासमा हुनेछ । उसको टिममा कुनै पनि खेलाडी निलम्बित छैनन् र फिटनेस तथा चोटको चिन्ता छैन । यो टिम आत्मविश्वासी देखिन्छ ।

उसले उपाधिको प्रमुख दाबेदारमध्येको ब्राजिललाई पछिल्लो खेलमा पराजित गरेको थियो । अतिरिक्त समयमा पछि परेको स्थितिबाट पुनरागमन गरी खेलको अन्त्यतिर बराबरी गोल फर्काएको क्रोएसियाले पेनाल्टीमा ४–२ गोलको सहज जित हासिल गरेको हो ।

क्रोएसिया अब मेस्सीको टिमलाई पनि यस्तै हार चखाउने योजनामा छ । अर्थात क्रोएसिया मेस्सीलाई विश्वकप उपाधिबाट सम्भवतः सधैंका लागि टाढा राख्न चाहन्छ ।

क्रोएसियाको मिडफिल्डबाट कप्तान लुका मोड्रिच, माटेओ कोभासिच र मार्सेलो ब्रोजोभिचले अर्जेन्टिनी गतिलाई रोक्नेछन् । ब्राजिलसँग पनि उनीहरुले यही भूमिका निभाएका थिए । क्रोएसियाली डिफेण्डर जोसेप जुरानोभिचका अनुसार ब्राजिलविरुद्ध ती तीन खेलाडी पूर्णरुपमा भरोसायोग्य थिए ।

‘माटोओ, लुका र मार्सेलो क्रोएसियाको इतिहासकै उत्कृष्ट मिडफिल्ड पंक्ति हो । मेरो विचारमा भविष्यमा पनि यस्तो सन्तुलन देख्न पाइँदैन । उनीहरुको खुट्टामा बल हुनु भनेको बैंकमा रकम राखेजस्तै सुरक्षित हुनु हो,’ जुरानोभिच भन्छन्, ‘हामीलाई कसैसँग डराउनुपर्ने आवश्यकता छैन । हाम्रो सफलताको रहस्य हाम्रो एकता हो । हामी परिवारका सदस्य जसरी बस्छौं र त्यसरी नै खेल्छौं ।’

सातपल्टका बालोन डी’ओर विजेता लियोनल मेस्सी अहिलेसम्मको अर्जेन्टिनी सफलताका प्रेरणा शक्ति हुन् । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सविरुद्ध २ गोलको अग्रता लिनुका बाबजुद खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

जारी विश्वकपमा अर्जेन्टिनाको सेमिफाइनलसम्मको यात्रामा पनि मेस्सीको प्रमुख योगदन छ । उनले अहिलेसम्म पाँच खेलमा चार गोल गरेका छन् । यस्तो लाग्दैछ कि यसपल्ट उनी अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन प्रतिवद्ध छन् ।

अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनल पुगेको थियो । ब्राजिलको मराकाना रंगशालामा ऊ जर्मनीसँग १–० को हारसहित विश्वकप उपाधिबाट बिमुख भएको थियो । त्यतिबेला मेस्सी फुटबलको सबैभन्दा ठूलो उपाधिको निकै नजिक थिए । यसपल्ट त्यो सफलताबाट दुई जित टाढा छन् ।

मेस्सीको नेतृत्वमा अर्जेन्टिना विश्वकपमा एक प्रबल दाबेदारका रुपमा देखिएको छ । तर, उसको अगाडि क्रोएसियाका रुपमा एउटा ठूलो हर्डल्स हो । क्रोएसिया कहिल्यै हार नमान्ने टिम हो जो अनुभवी र अनुशासित स्टारहरुको भरमा छ । उनीहरु लगातार दोस्रोपल्ट विश्वकपको सेमिफाइनल छन् । क्रोएसियालाई कमजोर मान्नु अर्जेन्टिनाका लागि ठूलो भूल हुनेछ ।

सन् १९८६ मा डिएगो म्याराडोनाले जितेको विश्वकपयता अर्जेन्टिना पहिलो उपाधिको खोजीमा हुनेछ । उनीहरुका अगाडि चुनौतीहरु धेरै छन् । डिफेण्डर मार्कस एक्युना र गोल्जालो मोन्टिएल दुई पहेँलो कार्डका कारण निलम्बित छन् । त्यसैले रक्षापंक्तिमा लियोनल स्कोलानीको विकल्प सीमित भएको छ ।

एक्युनालाई निकोलास ट्यागलियाफिकोले प्रतिस्थापन गर्न सक्छन् तर अर्जेन्टिनाको खेल कम आक्रामक हुनसक्छ । किनभने विङब्याक एक्युनाले खेललाई गति दिन धेरै सहयोग गरेका छन् ।

अनुभवी एन्जेल डी मारियाको फिटनेसमा पनि समस्या छ । चोटबाट हालै उन्मुक्ति पाएका ३४ वर्षीय यी खेलाडी सुरुवाती खेलहरुमा सब्स्टिच्युड आएका थिए ।

३५ वर्षका मेस्सी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् । उनी समग्र देशको अपेक्षालाई काँधमा बोकेर कतारको भ्रमणमा छन् । अर्जेन्टिनाको सर्वकालीन महान खेलाडीका रुपमा म्याराडोनासँगको तुलना विश्वकपको उपाधिविना सम्भव हुँदैन । स्वर्गीय म्याराडोनाले ३६ वर्षअघि लगभग एक्लो प्रयासमा विश्वकप उचालेका थिए ।

नेपाली समय अनुसार मंगलबार राति पौने १ बजे हुने खेलमा दुवै टिमका खेलाडीका लागि चर्को दबाव हुनेछ । यो खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा पनि हुन सक्छ ।

डच टिमविरुद्ध २–० ले अगाडि रहेको अवस्थामा नियमित समयको अन्त्यतिर २ गोल खानु र तनावपूर्ण अतिरिक्त समय हुँदै पेनाल्टीमार्फत अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । पेनाल्टी सुटआउटको पुनरावृत्ति भएको अवस्थामा मानसिक रुपमा बलियो क्रोएसियाविरुद्ध अर्जेन्टिनाले भयानक जोस देखाउनुपर्नेछ । भलै अघिल्लो पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले नेदरल्याण्ड्सका सुरुका दुई पेनाल्टी बचाएका थिए ।

सन् २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग हार्नुअघि क्रोएसियाले दुई खेल पेनाल्टी र एक खेल अतिरिक्त समयमा जित हासिल गरेको थियो । जारी विश्वकपमा उसले अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई हराउँदा दुवै खेल पेनाल्टीमा पुगेको थियो । वाल स्ट्रिट जर्नलले क्रोएसियालाई विश्वकपको पेनाल्टी सुुटआउट किङका रुपमा परिभाषित गरेको छ ।

यो आँकडाका आधारमा क्रोएसियाली टिम अर्जेन्टिनाविरुद्ध पेनाल्टी सुटआउटमार्फत फाइनलमा पुग्ने सम्भावना छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?