+
+

यसवर्ष हिउँदमा अधिकतम तापक्रम् सरदरभन्दा बढी हुने

रासस रासस
२०७९ मंसिर २७ गते १४:४६

२७ मंसिर, काठमाडौं । यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा÷तापक्रमलाई जनाउँदछ ।

यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६.६ प्रतिशत भन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम-पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम् तापक्रम सरदर हुने र बाँकी भू-भागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त विभागले हिउँद अवधि (मङ्सिर १५ देखि फागुन १६ गते) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् ।

वर्षाको आकलन

विभागका अनुसार हिउँदमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरीलगायतका पूर्वी तथा तराईका जिल्ला, मधेश प्रदेशका पर्सा, बारा, रौतहटलगायतका पश्चिमी भू-भाग, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्ला, गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वतलगायतकामध्य तथा दक्षिणी जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली लगायतका जिल्लामा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्ला तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पाको उत्तर–पश्चिमी भू-भाग बाहेक देशका अन्य बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

अधिकतम् तापक्रमको आकलन

यसैगरी यस हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् कँडेलले बताइन् । कर्णाली प्रदेशको हुम्ला र मुगुका पश्चिमी भू–भाग र सुदूपश्चिम प्रदेशका बाजुरा जिल्लामा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको तथ्याङ्क छ ।

प्रदेश नं १ का सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरी लगायतका दक्षिणी जिल्ला, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, चितवन लगायतका मध्य तथा दक्षिण–पश्चिम जिल्ला, मधेश प्रदेशको पर्सा र सप्तरी, गण्डकी प्रदेशका उत्तर-पुर्वी जिल्ला बाहेकका अधिकांश जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र कर्णाली प्रदेशका पूर्वी तथा उत्तरी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रमको आकलन

यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखा लगायतकामध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुलगायताका उत्तरी जिल्लामा न्यूनतम् तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भू-भागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

आकलनको आधार

विभागले यस आकलन विश्व मौसम सङ्गठनको विश्वभर क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारुपको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा तयार गरेको हो ।

साथै नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था तथा जलवायु प्रारुपहरुको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशीलताका कारकलाईसमेत मध्यनजर गरी तयार गरिएको छ ।

हाल प्रशान्त महासागरमा ‘लानिना’ अवस्था रहेको देखिएको छ र आगामी हिउँद अवधिमा पनि लालिना कायम रहने आकलन गरिएको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुद्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र हिउँद अवधिभर तटस्थ नै रहने आकलन गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?