+
+

एकीकृत समाजवादीसहित ७ पार्टीलाई सचेतकसहितको सुविधा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ पुष १ गते २०:०२

१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीसहित दश वटा दलले संसदीय दलको सुविधा पाउने भएका छन् । जसमा ७ वटा दलले भने सचेतक सहितको सुविधा पाउने छन् ।

१० वटा दलको सिंहदरवारभित्र संसदीय दलको कार्यालय हुनेछ । यसको व्यवस्थापन संघीय संसद सचिवालयले गर्नेछ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को यसअघि रहेकै स्थानमा संसदीय दलको कार्यालय रहनेछ ।

यसपटकको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको कार्यालय यसअघि हेलो सरकार बस्दै आएको भवनमा रहनेछ । संघीय संसद सचिवालयले मुख्य सचिव र भौत्तिक पूर्वाधार मन्त्रालयसँग छलफल गरेर नयाँ दलहरुका लागि संसदीय दलको कार्यालयका लागि भवन तय गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दल पनि सोही भवनमा रहनेछ ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार यी १० वटै पार्टीले ३० दिनभित्र संसदीय दलको नेता चयन गर्नुपर्नेछ । ‘संघीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्नेछ’ राजनीतिक दल सम्बन्धी ऐनको दफा २६ मा उल्लेख छ । यस अनुसार १० वटा दलले संसदीय दल गठन गर्न सक्छ ।

यी दश वटै दलका लागि संघीय संसद सचिवालयले सिंहदरवारभित्र संसदीय दलको कार्यालय व्यवस्थापन गरिदिन्छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १० भन्दा कम सांसद भएका दलहरुका लागि भने ‘संसदीय दलको नेताका लागि कोठा र छलफलका लागि हल’को मात्रै व्यवस्थापन हुन्छ ।

१० भन्दा कम सांसद भएका दलहरुको कार्यालय व्यवस्थापनका लागि आवश्यक कर्मचारी (एक/दुई कर्मचारी जसले एक भन्दा बढी दल समेत हेर्न सक्ने गरी) पाउँछन् । यसका अलवा एक सांसद बराबर कार्यालय व्यवस्थापन वापत मासिक थप एक हजार रुपैयाँ सुविधा प्राप्त गर्नेछन् ।

१० भन्दा बढी सांसद भएका दलले सचेतकसहितको सुविधा प्राप्त गर्ने छन् । जस अनुसार एकीकृत समाजवादीसहित सात पार्टीले सचेतकसहितको सुविधा प्राप्त गर्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय पार्टी भएर पनि जनमत पार्टीले सचेतकको सुविधा पाउने छैन । यसअघि सचेतक सहितको सुविधा पाउँदै आएको लोकतान्त्रिक समाजवादीले यसपटक त्यस्तो सुविधा गुमाउनेछ । प्रतिनिधिसभा सदस्य संख्या १० पुर्‍याउन नसकेका कारण यी दुई दल र नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको मात्रै सुविधा पाउने भएका हुन् ।

सचेतक सहितको सुविधा पाउनका लागि प्रतिनिधिसभामा कम्तिमा १० सदस्य हुनुपर्ने कानुनी व्यवस्था छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको दफा २ को परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक’ भन्नाले प्रतिनिधि सभामा दश जना भन्दा बढी सदस्यहरु रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनु पर्छ ।’

यो व्यवस्था अनुसार प्रतिनिधि सभामा १० जना सांसद रहेको दलले सचेतक पाउँछ । सचेतकलाई गाडी सहितको सुविधा हुन्छ ।

सचेतकको कार्यालय छुट्टै रहन्छ । स्वकीय सचिव एक जना, ड्राइभर दुई जना, कार्यालय सहयोगी एक जना पाउँछन् । कार्यालयमा अतिथि सत्कार लागि मासिक पन्ध्र सय, निजी सचिवालय बन्दोबस्तीका लागि प्रति महिना बाह्र हजार, सवारी इन्धन प्रति महिना १५० लिटर लगायतका सुविधा प्राप्त गर्छन ।

साथसाथै, संसदीय दलको नेताले ऐनबमोजिम सुविधा प्राप्त गर्छ । विपक्षी दलको नेताले उपसभामुख सरहको सुविधा प्राप्त गर्नेछ । विपक्षी दल र सत्ता पक्षको प्रमुख सचेतकले संसदीय विषयगत समितिको सभापति सरहको सुविधा प्राप्त गर्नछ ।

यसकारण सरकारमा जान र मन्त्री बन्न नपाउने स्थितिमा प्रमुख सचेतक, सचेतक बन्न नवनिर्वाचित सांसदहरु लालायित हुन्छन् । संसदीय दलको नेताले दलभित्र सदस्यलाई ‘रुलिङ’ गर्न पाउँछन् । संसदमा हुने छलफल र विजनेशमा मत प्रकट गर्ने बेलामा प्रमुख सचेतक वा सचेतकले संसदीय दलको नेताको निर्देशनमा ‘ह्वीप’ जारी गर्न सक्छन् । त्यस्तो ह्वीप नमानेको खण्डमा सम्बन्धित दलले त्यस्तो सांसदलाई पार्टीबाटै निकाल्नेसम्मको कारबाही गर्न सक्छ ।

यसपटक प्रतिनिधिसभामा कांग्रेसका ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी (जसपा) का १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सांसद छन् ।

स्वतन्त्रले कोठा पाउँछन्

संघीय संसद सचिवालयले स्वतन्त्र रुपमा निर्वाचित सांसदहरुलाई समेत सिंहदरवारभित्र कोठा (कार्यालय)को व्यवस्थापन गरेको छ । संसद सचिवालयका प्रवक्ता पाण्डेका अनुसार कुनै दलबाट एक जना सांसद मात्रै निर्वाचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ ।

यस अनुसार यसअघि निवर्तमान सांसद राष्ट्रिय जनमोर्चा (राजमो)की दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई दिइने छ । नेमकिपाका प्रेम सुवाललाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ ।

बाँकी स्वातन्त्र रुपमा निर्वाचित भएका पाँच जनालाई हेलो सरकार बस्दै आएको भवनमै कोठा व्यवस्थापन गरिएको छ । स्वतन्त्र सांसदहरुले पनि कार्यालय व्यवस्थापनका व्यवस्थापनबाट मासिक थप एक हजार रुपैयाँ सुविधा प्राप्त गर्नेछन् । एक भन्दा बढी कार्यालय हेर्न गरी आवश्यक कर्मचारी सुविधा पाउनेछन् ।

स्वतन्त्र सांसदहरुमा अमेरशकुमार सिंह, प्रभु साह, लालवीर चौधरी, योगेन्द्र मण्डल र किरणकुमार साह छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?