 
																			काठमाडौं । रिलिजको १० दिनपछि डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको ठूलो बजेटको फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वव्यापी ८५५ मिलियन डलर कमाउँदै यस वर्ष सर्वाधिक कमाउने पाँचौं फिल्मको कीर्तिमान रचेको छ ।
जेम्स क्यामरुन निर्देशित फिल्मले उत्तर अमेरिकामा मात्र २५३.७ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ६०० मिलियन डलर कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ ।
उत्तर अमेरिकामा सुरु भएको हिमआँधीसहितको चिसो मौसम र पछिल्लो समय विश्वभर पुनः फैलिएको कोभिड संक्रमणको बाबजुद पनि ‘अवतार’को सिक्वेलले आगामी दिनमा अझै आक्रामक कमाइलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
वर्ष २०२२ को अन्त्यसम्म ३५० मिलियन डलर कमाइ गर्ने अपेक्षा राखिएको फिल्मले १ बिलियन कमाइ गर्ने प्रक्षेपण छ । यस वर्ष ‘टपगन : माभेरिक’ र ‘जुरासिक वल्र्ड डोमिनियन’ले मात्र उक्त आँकडा छुन सकेका छन् ।
‘अवतार २’ले चीनमा १००.५ मिलियन डलर, दक्षिण कोरियामा ५३ मिलियन, फ्रान्समा ५२.३ मिलियन, भारतमा ३७ मिलियन, जर्मनीमा ३५.७ मिलियन कमाइ गरेको जनाइएको छ ।
‘अवतार २’ले यसको अघिल्लो भागले गरेको कुल २.९७ बिलियन डलरको लक्ष्यलाई छुन निकै संघर्ष गर्नुपर्ने देखिन्छ । किनभने, विश्व बक्स अफिस कोरोना महामारीपछि पूर्ण लयमा फर्कन सकेको छैन । चीनजस्ता ठूला बजारले भाइरसको पुनः संक्रमणको अनुभव गरिरहेका छन् ।
यसबाहेक यो सिक्वेल रुसमा रिलिज हुनेछैन, जहाँ अवतारको पहिलो श्रृंखलाले ११६ मिलियन डलर कमाएको थियो । आइम्याक्स कम्पनीको प्रिमियम सेलबाट मात्र फिल्मले ९७ मिलियन डलर कमाएको छ ।

‘अवतारः द वे अफ वाटर’ ले हामीले अपेक्षा गरेजस्तै विश्वव्यापी बक्स अफिसमा अभूतपूर्व प्रदर्शनसहित बलियो सहनशीलता देखाउँदैछ, जहाँ ठूला बजारले पहिलो सप्ताहन्तमा राम्रो कमाइ गरे,’ आइम्याक्सका सीईओ रिच गेल्फन्डले भने, ‘हाम्रा स्क्रिनहरू एक किसिमको फिल्म अनुभव गर्न रोजाइको गन्तव्य बनिरहन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4