+
+

करिअरमा हजारभन्दा बढी गोल गरेका पेलेका उत्कृष्ट १० गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १५:३२

१५ पुस, काठमाडौं । पेलेले सबैभन्दा विविध र सुन्दर तरिकाबाट बललाई जाली चुमाएर फुटबलमा गोलस्कोरिङ कलालाई सहज बनाइदिए ।

डिफेण्डरविरुद्ध ड्रिबल लगाउनु, शक्तिशाली शट प्रहार गर्नु, सुन्दर फ्रिकिक र कलात्मक हेडरको प्रयोग पेलेबाटै सुरु भएको हो भन्दा हुन्छ । उनले आफ्नो करिअरमा १ हजार ९० गोल ब्राजिली क्लब सान्तोषका लागि गरे । ब्राजिलका लागि ९५ गोल गरे ।

पेलेका अधिकांश गोलहरु यस्ता छन् जसको भिडियो फुटेज हेर्न पाइँदैन । यद्यपी उनका केहि शानदार गोलहरु भिडियोमा सुरक्षित छन् ।

पेलेले आफ्नो करिअरमा गोल गर्न नसकेका केहि उत्कृष्ट क्षणहरु पनि सम्झनायोग्य छन् । जस्तै सन् १९७० को विश्वकपमा मध्यक्षेत्र पछाडिबाट उनले प्रहार गरेको बल गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो ।

पेलेका केहि शानदार र स्मरणीय गोलहरु

पहिलो गोल
सेप्टेम्बर ७, १९५६
सान्टो आन्द्रे, ब्राजिल
सान्तोष भर्सेस कोरिन्थियान्स अफ सान्टो आन्द्रे

पेले किशोरावय मै थिए । उनले सान्तोषका लागि खेल्न सुरु गरेको धेरै भएको थिएन । उनले दोस्रो हाफमा सब्स्टिच्युडका रुपमा मैदान प्रवेश गरेको केहि सेकेण्डमै गोल गरेका थिए । सो मैत्रीपूर्ण खेलमा सान्तोष ७–१ ले विजयी रह्यो ।

कोरिन्थियसका तत्कालीन गोलकिपर जालुआर जसले यो तथ्यलाई आफ्नो ‘विजनेश कार्ड’का रुपमा प्रयोग गरे । उनले आफूलाई पेलेको गोल खाने पहिलो व्यक्तिको रुपमा चर्चित बनाएर व्यवसायमा सफलसमेत भए ।

सबैभन्दा उत्कृष्ट
२ अगष्ट, १९५९
साओ पाउलो
सान्तोष भर्सेस युभेन्टस अफ साओ पाउलो

पेलेको करिअरकै सबैभन्दा उत्कृष्ट गोलका रुपमा चित्रित गरिएको यो गोलको भिडियो रेकर्ड छैन । तर, पेलेका बारेमा निर्मित एक खेलका लागि डिजिटल भिडियो बनाउँदा रुवा जाभरीस्थित युभेन्टस साओ पाउलोमा खेलिएको त्यो ऐतिहासिक खेल हेरेका खेलाडी, समर्थक र पत्रकारको भनाइलाई आधार बनाइएको थियो ।

पेलेले बक्स क्षेत्रमै बल पाएका थिए । उनले पहिलो डिफेण्डरलाई फ्लिक गरी बल उडाए । बल जमिनमा खस्नुअगावै पेनाल्टी क्षेत्रमा अर्का डिफेण्डरलाई पनि छक्याए । तत्कालै तेस्रो डिफेण्डर र गोलकिपरलाई विट गर्ने क्रममा उनले बल हावामा फाले र गोललाइन नजिकैबाट हेडर गोल गरे ।

पछि युभेन्टसले आफ्नो रंगशालामा पेलेको मूर्ति स्थापना गरी सो गोलको सम्मान गरेको थियो ।

विश्वकपमा पहिलो गोल
१९ जुन, १९५९
गोथेनवर्ग, स्वीडेन
ब्राजिल भर्सेस वेल्स

यो पेलेको पहिलो विश्वकपमा पहिलो शानदार गोल गियो । प्रतियोगिताको क्वाटरफाइनलमा वेल्सविरुद्धको निकै नै प्रतिस्पर्धात्मक खेलको ६६औं मिनेटमा यो गोल सम्भव भएको थियो ।

लामो पासमार्फत आएको बललाई पछाडिबाट घुमेर १७ वर्षीय पेलेले छातीमार्फत नियन्त्रण गरी दायाँ खुट्टाले शशक्त प्रहार गरेका थिए ।

विश्वकप फाइनलमा पहिलो गोल
२९ जुन, १९५८
सोल्ना, स्वीडेन
ब्राजिल भर्सेस स्वीडेन

पेलेले आफ्नो पहिलो विश्वकपमा ६ गोल गरे । तीमध्ये फाइनलमा घरेलु टिममाथि ५–२ को जितका क्रममा गरेको २ गोल पनि सामेल छ । ५५औं मिनेटमा उनले गरेको पहिलो गोलले ब्राजिललाई ३–१ को अग्रता दिलाएको थियो ।

उनले दोस्रो गोल खेलको अन्तिम मिनेटमा हेडरमार्फत सम्भव भएको थियो । पेलेले पहिलो गोल फाइनलकै सबैभन्दा प्रभावशाली थियो । पेनाल्टी क्षेत्रमा बल नियन्त्रण गरी उनले गरेको शशक्त प्रहार विपक्षी डिफेण्डरको टाउको माथिबाट गोल हुन पुगेको थियो ।

विश्वकप फाइनलमा अन्तिम गोल
२१ जुन, १९७०
मेक्सिको सिटी
ब्राजिल भर्सेस इटली

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा १ लाख ७ हजार दर्शकअगाडि विश्वकपको आफ्नो अन्तिम गोल इटलीविरुद्ध गोल गरेका थिए । इटलीका गोलरक्षक इनरिको अल्वर्टोसीलाई छक्याएर हेडरमार्फत गोल गरेसँगै ४–१ को जितसहित ब्राजिल र पेलेले तेस्रोपल्ट विश्वकपको उपाधि जिते । विश्वकपमा उनको त्यो १२औं गोल थियो ।

बायाँ क्षेत्रबाट रिबेलिनोले गरेको क्रसलाई उपयोग गर्ने क्रममा पेलेले इटलीका डिफेण्डरहरुबीच हावामा उफ्रिएर गोल गर्न सफल रहे ।

१ हजारौं गोल
१९, नोभेम्बर १९६९
रियो दिन जेनेरियो
सान्तोष भर्सेस भास्को डा गामा

खचाखच भरिएको मराकाना रंगशालामा एउटा पेनाल्टी गोल पेलेको करिअरमा ठूलो कोशेढुंगा बन्दै थियो । विपक्षी डिफेण्डरले पेलेलाई नै फल गरेपछि सान्तोषले पेनाल्टी पाएको थियो । दायाँ कुना च्यापेर उनले गरेको प्रहार गोल भयो । यही गोलले सान्तोष २–१ ले विजयी रह्यो । भास्कोका गोलरक्षकले सही अनुमान गरेका थिए, तर पेलेको प्रहार निकै शशक्त र तीव्र थियो ।

गोल भएपछि पेले बल लिन पोष्टभित्र दौडिएको दृश्य कैद गर्न भिडियो र फोटो पत्रकारहरु मैदानभित्रै छिरेका थिए । यो खेल केहि मिनेट स्थगित रह्यो । पेलेले पोष्ट भित्रबाट बल लिएर रंगशालाभर समर्थकमाझ सफलताको उत्सव मनाए । उनले यो गोल ब्राजिलका बालबालिकाका लागि समर्पित गरेका थिए । रंगशालामा उपस्थित ६५ हजारभन्दा बढी समर्थक केवल पेलेलाई हेर्न त्यहाँ पुगेका थिए ।

मूल्यवान गोल
५ मार्च, १९६१
रियो दी जेनेरियो
सान्तोष भर्सेस फ्लुमिनेन्स

यो गोललाई डी प्लाकाका रुपमा मानिन्छ । यसको अर्थ शानदार गोलको पर्याय भन्ने हो । किनभने मराकाना रंगशालामा यो गोलका लागि पेलेको स्मारक बनाइएको छ ।

यो पेलेको थुप्रै गोलहरुमा पर्छ जसको भिडियो रेकर्ड भएन । तर, त्यस समयका रिपोर्टहरुमा बताइएअनुसार पेलेले आफ्ना विपक्षीविरुद्ध बल ड्रिबल गरी लगभग पूरै रंगशाला पार गरेका थिए । यो खेल सान्तोषले ३–१ ले जितेको थियो । माराकाना रंगशालाको लवीमा अहिले पनि स्वर्ण अक्षरमा लेखिएको छ– ‘५ मार्च, १९६१, पेलेले माराकाना रंगशालाको इतिहासमै सबैभन्दा सुन्दर गोल गरे ।’

कसमसका लागि उत्कृष्ट गोल
१० अगष्ट, १९७६
न्युयोर्क
न्युयोर्क भर्सेस मियामी टोरोस

पेलेले आफ्नो करिअरमा गरेको सीमित बाइसाइकल प्रहारमध्येको एक थियो यो । न्युयोर्क कसमससँग सम्झौताको अन्त्यतिर रहेका पेलेले यान्की रंगशालामा शानदार गोल गरे । यो खेलमा कसमस ८–२ ले विजयी थियो । दायाँ तर्फबाट आएको क्रसलाई पेलेले पेनाल्टी क्षेत्रमा दायाँ खुट्टा उठाएर शानदार गोल गरे ।

क्लबबाट शानदार गोल
११ अक्टोबर, १९६२
लिस्वन, पोर्चुगल
सान्तोष भर्सेस बेनफिका
इन्टरकन्टिनेन्टल कपमा बेनफिकाविरुद्धको निर्णायक खेलमा पेलेले शानदार प्रदर्शन गरे । उनले ह्याट्रिक पूरा गर्दा बेनफिकालाई ५–२ ले हराएर सान्तोष पहिलोपल्ट क्लब विश्वकप विजेता बनेको थियो । उनको दोस्रो गोल सबैभन्दा प्रभावशाली थियो ।

करिअरको अन्तिम गोल
१ अक्टोबर, १९७७
इष्ट रथरर्फोड, न्युजर्सी, अमेरिका
न्युयोर्क कसमस भर्सेस सान्तोष

यो पेलेको बिदाइ खेल थियो । पूर्व क्लब सान्तोषसँगको यो खेल न्युजर्सीस्थित जायन्ट रंगशालामा खेलाइएको हो । पेलेले दुवै टिमका लागि आधा आधा खेल खेले । पहिलो हाफमा उनी न्युयोर्क कसमसका लागि खेलेका थिए । पहिलो हाफको अन्त्यतिर उनले फ्रिकिकमार्फत शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । यो कसमसका लागि पेलेले खेलेको १०० भन्दा बढी खेलमा ६० भन्दा बढी गोलमध्ये एक थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?