+
+

‘बालेनको शहर’ सम्साँझै अँध्यारो

अमृत चिमरिया अमृत चिमरिया
२०७९ पुष २२ गते २०:२२
काठमाडौंको अँध्यारो सडक पेटीमा पैदलयात्रु । तस्वीर : आर्यन धिमाल अनलाइनखबर

२२ पुस, काठमाडौं । गत शनिबार साँझ ८ बजे सुन्धारामा माइक्रोबसबाट ओर्लिएकी नुवाकोटकी लक्ष्मी श्रेष्ठलाई त्रिपुरेश्वरसम्म पुग्नु थयो । पुसको दिनमा सुनसान हुन लागिसकेकाले हतार–हतार काठमाडौं महानगर कार्यालयको अगाडिको बाटो हुँदै जाने क्रममा उनी अन्धकारभित्र रुमल्लिइन् ।

सडक पेटी देख्ने गरी बत्ती नहुँदा उनी बाटो ठम्याएर हिँड्नै सकिनन् र मोबाइलको फ्ल्यास लाइट र झालाकझुलुक पेटीमा आइपुग्ने सडकमा हुइँकिएका गाडीका बत्तीको सहारामा उनी गन्तब्यतिर जानुप¥यो ।

‘भन्नलाई त काठमाडौं भन्छन्, साँझ परेपछि हिँड्नै नसक्ने अवस्था रहेछ,’ उनी भन्छिन्, ‘राजधानीमा सडकपेटी उज्यालो हुने गरी बत्ती छैन ।’

उनी महानगरपालिकाको कार्यालय अगाडि नै हिँड्न डराउनु परेको बताउँछिन् । ‘मोबाइलको टर्च बालेर हिँड्न समेत सकस छ,’ श्रेष्ठ भन्छिन्, ‘मेयर बालेनको राजधानी शहरमा यस्तो अवस्था सुखद् हैन ।’

****

भृकुटीमण्डपको पसलमा जागिर गरिरहेकी हेटौंडाकी सन्ध्या रानालाई साँझमा कीर्तिपुर नयाँबजार पुग्नुपर्छ, उनका अनुसार छुट्टी हुँदा साँझ ७ बजिसकेको हुन्छ भने कीर्तिपुर पुग्दा साढे ८ बजिसक्छ ।  कीर्तिपुर जाने माइक्रो कुर्न कहिले शहीदगेटमा उभिन्छिन्, कहिले सुन्धारा मल अगाडि ।

तर, बाटो अँध्यारो भएका कारण भृकुटीमण्डपबाट बस स्टपसम्म पुग्न उनलाई साह्रै डर लाग्छ । ‘भद्रकाली हुँदै शहीदगेट आउँदा पनि सडकमा पनि उज्यालो बत्ती छैन, मोबाइलको बत्ती बलेर हिँड्नुपर्छ,’ उनी भन्छिन्, ‘रत्नपार्कबाट सुन्धारा मलसम्म पुग्दा पनि त्यही हालत छ ।’

गत वैशाखको चुनावपछि काठमाडौं महानगरको नेतृत्व बदलिएपछि शहर रातमा पनि हिँड्न सक्ने गरी उज्यालो बनाइएला भन्ने उनको आशा थियो । युवा मेयर बालेन्द्र साह(बालेन)माथि उनको भरोसा अहिले टुटेको छ । ‘नयाँ मेयरसा‘ब आएपछि त सडक झलमल्ल होला, राति पनि निर्धक्क हिँड्न पाइएला भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘फुटपाथ खाली गरेर मात्रै पैदलयात्री माथिको दायित्व पूरा भयो त ?’

नयाँबानेश्वरबाट थापागाउँ–अनामनगर हुँदै पुतलीसडक निस्किने सडक हिँड्नेहरुले पनि यस्तै सास्ती भोग्छन् । महानगरपालिकाले सडकबत्तीको उचित व्यवस्था नगर्दा रातको समय मुख्यचोक र सडकहरु नै डरलाग्दो हुने गर्छ । यसअघि जोडिएका सौर्य सडकबत्तीहरु साँझमै धिप–धिप बल्छन् । रात छिप्पिन थालेपछि अधिकांश बत्ती बल्दैनन् । सडक बत्ती नबल्ने समस्या भित्री सडक र शहरमा झन् विकराल छ ।

तर, काठमाडौंको छिमेकी ललितपुर महानगरपालिकाका मुख्य सडकहरु बत्तीले झलमल्ल हुन्छन् । ललितपुर महानगरपालिका भित्री सडकहरुमा समेत बत्तीहरु राख्न अग्रसर भइसक्दा काठमाडौं महानगरपालिकाले मुख्य क्षेत्र मै सडकबत्ती राख्न तातेको छैन ।

सहमति कार्यान्वयन भएन

काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरभित्रका सडकहरुमा सडक बत्ती राख्ने योजना बनाएको लामो सयम बित्यो ।

‘महानगरभित्र सडकहरु अँध्यारो भएको विषयमा ध्यानाकर्षण नभएको होइन, तर विद्युत प्राधिकरणसँग सहमति भएर केही विषयहरु अड्किएकाले सुरु गर्न सकिएको थिएन, अब छिट्टै हामी सुरु गर्छौं,’ महानगरका सहायक प्रवक्ता महेश काफ्ले भन्छन् ।

काफ्लेका अनुसार महानगरले आफ्नो ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशतमा ‘स्ट्रिट मास लाइट’ राख्ने काम सुरु हुँदैछ । ‘काठमाडौंको सडकका चोकहरुमा चहकिलो बत्तीहरु राखिन्छ, चोकहरु झलमल्ल पार्छौं,’ काफ्ले भन्छन् ।

मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाकै कारण ढिलाइ भएको हो । विद्युत् प्राधिकरणसँग काठमाडौं महानगरपालिकाले नयाँ शर्तहरु राखेपछि सडक बत्ती जडानमा ढिलाइ भएको हो ।

काफ्लेले महानगरपालिकाले ६० प्रतिशत लगानी गर्ने तर सडक बत्तीमा लगानीको विषय कहीँ उल्लेख नभएपछि बत्ती जडान गर्न ढिलाइ भएको बताए । सडक बत्ती जडानबारे २५ मंसिर, २०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भनिएको थियो । त्यसअनुसार विद्युत् प्राधिकरणले बोलपत्र आह्वान गरेर ठेकदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुर्याए पनि महानगरपालिकाले विभिन्न शर्त तेर्स्याएर रोक्ने काम गरिरहेको छ ।

सहमतिपत्रअनुसार काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गर्ने तथा लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ ।

यसअनुसार बत्ती जोड्ने काम छिट्टै हुने आश्वासन दिइरहेको महानगरले प्राधिकरणलाई प्रक्रिया अघि बढाउन सहमति कहिले दिन्छ भन्ने अन्योल छ । यसका कारण शहर दिनानुदिन रातमा अँध्यारो हुने क्रम पनि बढ्दै गएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?