+
+

आहा रारा गोल्डकपको फाइनलमा संकटाले पाएको अर्को विदेशी प्रतिस्पर्धी

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष २२ गते १५:३६
आहा रारा गोल्डकपको ट्रफीसँगै संकटा र वीवाईएससीका प्रशिक्षक र कप्तान । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

२२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा ! रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा ! राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो ।

आहा ! राराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि उचालेको छ । संकटाले ०७७ को संस्करणमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो । अघिल्लो संस्करणमा यो टिम क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

शनिबारको फाइनलमा एक वर्षको अन्तरमा दोस्रोपल्ट फाइनल पुगेको संकटा पुनः उपाधि चुम्ने दाउमा हुनेछ भने भुटनिज युथ क्लब पनि प्रतियोगितामा जित हासिल गरेर उपाधि जित्ने पहिलो विदेशी टिम बन्ने लक्ष्यमा छ ।

१४ पुसदेखि सुरु भएको आहा ! रारा पोखरा गोल्डकपमा अहिलेसम्म २० गोल भएको छ । जसमा पहिलो गोल उद्घाटन खेलमा आयोजक सहाराविरुद्ध धरान फुटबल क्लबका लागि प्रकाश बुढाथोकीले गरेका थिए ।

जारी प्रतियोगितामा हालसम्म २३ पहेंलो कार्ड र एउटा रातो कार्ड प्रयोग भएको छ । बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएका थिए ।

उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसै संस्करणदेखि आहा ! रारा गोल्डकपको नाम परिवर्तन गरेर ‘आहा ! रारा पोखरा’ राखिएको प्रतियोगितामा पुरस्कार राशीसमेत बढाइएको हो ।

टर्ला त संकटाको संकट ?

३ पटक ए डिभिजन लिग जित्ने इतिहास बोकेको संकटा गत संस्करण सातौं भएको थियो । रेलिगेसन नहुने गरी २०७५ मा आयोजित लिगमा भने संकटा उपविजेता थियो । संकटालाई त्यो उपलब्धी दिलाउने प्रशिक्षक सल्यान खड्गीले नै यसपल्ट पनि जिम्मेवारी पाएका छन् ।

आर्मी र संकटाबीचको खेल ।

यसपटक संकटा नयाँ सिजनका लागि खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । संकटाले हालैमात्र ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । संकटामा प्रवेश पाउने नयाँ सदस्यमा राष्ट्रिय टिमका सुनील बल, आयुश घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापा हुन् ।

नयाँ सिजनका लागि संकटामा अनुबन्ध भएका आयुष र निशान थ्रीस्टारबाट आएका हुन् । गौतमले गत सिजनको लिग त्रिभुवन आर्मी एफसीबाट खेलेका थिए । टिमको कप्तानी सम्हालिरहेका सुनिल अघिल्लो सिजनमा लिग च्याम्पियन मच्छिन्द्रबाट खेलेका थिए ।

नयाँ खेलाडी अनुबन्ध गरेपछि पहिलो पटक मैदान छिरेको संकटाका लागि आहा ! रारा पोखरा गोल्डकपको हरेक खेल उत्तिकै महत्वपूर्ण थियो । उसलेले क्वार्टरफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई ३–१ ले हराउँदा सेमिफाइनलमा अर्को विभागीय तथा साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्न सफल रह्यो ।

दोस्रो पटक फाइनल पुगेर दोस्रो पटक नै उपाधि जित्ने दाउमा रहेको संकटाको प्रशिक्षकमा सल्यान खड्गी छन् । ‘हामीले राम्रो तयारी गरेर आएका छौं । फेरि पनि उपाधि जित्ने नै हाम्रो लक्ष्य हो,’ उनी भन्छन्, ‘हामीले नयाँ सिजनको लिगलाई नै फोकस गरेर तयारी गरेका हौं ।’

अमेरिकी टिम भुटनिज युथमा अधिकांश खेलाडी विदेशी नै छन् । उचाइ र दौड क्षमता पनि संकटाका खेलाडीको तुलनामा उनीहरुकै बढी छ । त्यसले संकटाको खेलको रणनीतिमा केही प्रभाव पार्ने भए पनि आफूहरु सामना गर्न तयार रहेको प्रशिक्षक खड्गी सुनाउँछन् । ‘फिजिकल रुपमा उहाँहरुलाई केही एड्भान्टेज छ । तर, खेलकुद टेक्निकल पनि हो,’ उनले भने ।

संकटामा पनि ३ जना विदेशी खेलाडी छन् । टिममा रहेका विदेशी खेलाडी उनीहरुकै उत्कृष्ट प्रदर्शनको बलमा संकटा फाइनलसम्म आइपुगेको हो । टिममा रहेका स्टेफन बिनोङ र मेसुके ओलामाउले जारी प्रतियोगितामा समान ३–३ गोल गरेका छन् ।

भुटनिज युथका प्रशिक्षक प्रदीपलाई जुरेको संयोग

थ्रीस्टारले २०६९ सालमा आहारारा गोल्डकपको उपाधि चुम्दै गर्दा प्रदीप हुमागाईं मुख्य प्रशिक्षक थिए । प्रशिक्षकका रुपमा आहा ! रारा जितेको १० वर्षपछि हुमागाईंलाई फेरि उपाधि जित्ने अवसर छ । तर टिम फेरिएको छ ।

अहिले उनी थ्रीस्टार होइन, अमेरिकादेखि आएको भुटनिज युथ स्पोर्टसका प्रशिक्षक छन् । भुटनिज आहा ! रारा लगायत केही प्रतियोगिता खेल्न अमेरिकादेखि ४ करोड रुपैयाँभन्दा बढी खर्च गरेर नेपाल आइपुगेको टिम हो ।

तसर्थ पनि यसपटक आहा राराको उपाधि भुटनिजका लागि जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ, प्रशिक्षक हुमागाईंका लागि पनि ।

अघिल्लो पटक पनि उनकै प्रशिक्षण नेतृत्वमा भुटनिज टिम आहा ! रारामा पहिलो पटक सहभागी भएको थियो । तर, क्वाटरफाइनलबाटै बाहिरिनुपर्‍यो । यद्यपि यसपटक भने आफ्नो टिमले गल्ती नदोहोर्‍याउने दाबी प्रशिक्षक हुमागाईं दाबी गर्छन् ।

‘पोखरा मेरो होम ग्राउन्डजस्तै लाग्छ । यसअघि पनि एकपटक उपाधि जितेको हो । हामीले सहज रुपमै लिएका छौं,’ नेपाली मूलका अमेरिकी नागरिक हुमागाईं भन्छन्, ‘यसपटक फेरि अवसर आएको छ । निश्चित रुपमा खेल प्रतिस्पर्धात्मक हुन्छ ।’

टिमको कप्तानी गोलरक्षकसमेत रहेका पुजन थापा मगरले सम्हालेका छन् । उनले अघिल्ला खेलहरुमा गरेको सुधार गर्दै उपाधि चुम्ने बताए । ‘अघिल्ला खेलमा पक्कै पनि केही गल्ती भएका छन् । आउने क्रममा हामी त्यसलाई सुधार्छौं,’ उनले भने ।

भुटनिज आहा ! राराको फाइनलमा पुग्ने दोस्रो विदेशी टिम हो । यसअघि २०७७ मा अफ्रिकन रुट्स पुगेको थियो । फाइनलमा अफ्रिकन रुट्सले संकटाकै सामना गर्नु परेको थियो ।

तस्वीरहरु : सुदर्शन रञ्जित/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?