+
+

भ्रष्टाचार अन्त्य र सुशासनका लागि गम्भीर छु : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:०७

२४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा उनले प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित हुने बताए ।

‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित हामीले काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ’ उनले भने ।

सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न सरकार गम्भीर रहेको बताए । ‘भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो’ प्रचण्डले भने, ‘आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’

प्रधानमन्त्री प्रचण्डले अख्तियारलाई चाहिने सबै सहयोग गर्न सरकार तयार रहेको पनि बताए । ऐन संशोधन, क्षमता अभिवृद्धि, संरचनागत सुधार लगायतका काममा सरकारले प्रभावकारी भूमिका खेल्ने उनले आश्वासन दिए ।

उनले अगाडि भने, ‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन । सुरक्षा अंगको कार्यक्षमता पनि राम्रो छ । तर, राजनीतिक नेतृत्वमा इच्छाशक्तिको कमी र सरकारको भूमिकाका कारण सही व्यवस्थापन गर्न सकिएको छैन । यसपटक सही नेतृत्व र सही व्यवस्थापन गरिन्छ ।’

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताए । प्रधानमन्त्रीले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशनबाट आयोग उत्साहित भएको र राज्यका सबै अंगहरू जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम हासिल गर्न सकिने प्रमुख आयुक्त राईको भनाइ छ ।

आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र विस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?