+
+
Shares

पासपोर्ट ठेक्कामा अख्तियारको आरोपपत्र : आधा क्षमताको प्रिन्टर ल्याएर भ्रष्टाचार गर्न खोजियो

आरोपपत्रमा उसले भनेको छ, ‘विभिन्न अनावश्यक समिति बनाई ती समितिलाई निर्देशित रुपमा बदनियतपूर्ण तबरले सिफारिस गर्न लगाई बिना वस्तुगत आधार प्रमाण बिना खरिद समितिका प्रतिवादीहरूले खरिद कार्य गरे गराएको देखिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १४:२१

९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्यकोषमा नोक्सान हुनेगरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यक भन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दाबी गरेको छ ।

बोलपत्रको शर्तमा दैनिक ६ हजार पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा जगेडा हुनुपर्ने उल्लेख थियो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा, मिलेमतोका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध गरायएको उल्लेख छ ।

ठेकेदारले दैनिक ६ हजार पासपोर्ट छाप्नुपर्ने भन्दै राहदानी विभागले प्रतिघण्टा ५ सयका दरले पासपोर्ट छाप्ने भए दुईवटा र प्रतिघण्टा हजारका दरले पासपोर्ट छाप्ने भए एउटा मेसिन उपलब्ध हुनुपर्ने थियो । हरेक मेसिन दैनिक ६ घण्टामात्रै चल्थ्यो ।

यी बाहेक एउटा मेसिन जगेडाको रूपमा राख्नुपर्थ्यो, किनभने कुनै पनि बेला चालु मेसिन बिग्रिएमा जगेडाको मेसिन चलाएर पासपोर्ट आपूर्ति सहज बनाउनुपर्ने सर्त थियो ।

अख्तियारको आरोपपत्र अनुसार, राहदानी विभागका महानिर्देशक र ठेकेदारको मिलेमतोमा झुक्याएर दुईवटा मात्रै मेसिन ल्याउन खोजिएको हो ।

ठेकेदार कम्पनीले प्रतिघण्टा ५ सयका दरले छाप्ने दुईवटा मेसिन ल्याउने प्रस्ताव गर्‍यो, तर उसले जगेडा मेसिन ल्याउने प्रतिबद्धता जनाएन । प्रतिघण्टा एक हजारका दरले पासपोर्ट छाप्ने मेसिन ल्याउनु भने असम्भव जस्तै थियो ।

प्रतिघण्टा ५ सयका दरले छाप्ने दुईवटा मेसिन चलाउँदा कुनै दिन प्राविधिक समस्या आएमा पासपोर्ट छपाई नै प्रभावित हुन्थ्यो । बोलपत्रको सर्त विपरीत त्यो प्रस्ताव स्वीकार्नु गल्ती भएको र त्यसले राज्यकोषमा नोक्सानी पुर्‍याएको अख्तियारको जिकिर हो ।

प्रतिघण्टा एक हजार पासपोर्ट छाप्ने मेसिन ल्याउने भनेको कम्पनीले पछि आर्थिक प्रस्तावमा भने प्रतिघण्टा ५ सयका दरले छाप्ने दुई मेसिन ल्याउने भनी त्यो अनुसार आर्थिक प्रस्ताव तयार गरेको थियो । कम रकम उल्लेख गरेकाले उनको प्रस्ताव स्वीकृत भएको थियो ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले एउटा मेसिन भए पनि पासपोर्ट छपाइमा काम चल्ने भनी ठेकेदारको बचाउ गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका थिए ।

उनले जवाफमा भनेका छन्, ‘बोलपत्रमा उल्लिखित प्रावधान अनुसार कार्य सम्पन्न गर्न नसकेमा त्यसको कानुन बमोजिम क्षतिपूर्ति वा हर्जाना लगायत छुट्टै उपचारको व्यवस्था रहेको छ ।’

‘कयौं बदमासी भेटियो’

पासपोर्ट छाप्ने मेसिन, त्यसको संख्या र गति बाहेक अख्तियारले अरू कयौं विषयमा प्रश्न उठाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको दाबी अनुसार, राहदानी विभागमा अहिले चालु अवस्थामा कयौं उपकरण, हार्डवेयर, सफ्टवेयर लगायतका सामग्री छन् ।

त्यसको प्राविधिक परीक्षण हुन सकेको छैन । कति सामान छन्, कति प्रयोग हुनसक्ने भन्ने परीक्षण नगरी दोहोरो खरिद गर्नु गलत हुने भन्दै अख्तियारले आरोपितहरूमाथि मुद्दा चलाएको हो ।

अख्तियारले राहदानी विभागका अधिकारी र ठेकेदारहरूमाथि औचित्यविहीन मालसामान खरिद गराउने निर्णय गरेको आरोप लगाएको छ ।

आरोपपत्रमा उसले भनेको छ, ‘विभिन्न अनावश्यक समिति बनाई ती समितिलाई निर्देशित रुपमा बदनियतपूर्ण तबरले सिफारिस गर्न लगाई बिना वस्तुगत आधार प्रमाण बिना खरिद समितिका प्रतिवादीहरूले खरिद कार्य गरे गराएको देखिएको छ ।’

अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा डाटा सार्ने र त्यसको प्रयोग कसरी गर्ने भन्ने यकिन नहुँदै पासपोर्टको ठेक्का अघि बढेको थियो । डाटा व्यवस्थापनका विषयमा कुनै अध्ययन नगरी समिति बनाई खरिदका काम अघि बढाएको भन्दै अख्तियारले त्यसमा भ्रष्टाचारको स्वार्थ रहेको आरोप लगाएको छ ।

अख्तियारको आरोप अनुसार, अहिले राहदानी विभागमा भएको पूर्वाधार उपयोग विहीन भएको छ तर नयाँ ठेक्कामा ठूलो मात्रामा सरकारी खर्च भएको छ । अर्बौंको दुईवटा ठेक्का दिएर राज्यकोषमा नोक्सानी भएको उसको जिकिर छ ।

पहिले नै तय भएका निश्चित ठेकेदारलाई लाभ हुने गरी बोलपत्र आह्वान भएको भन्दै अख्तियारले प्रश्न उठाएको छ ।

पहिलो प्याकेजको ठेक्कामा पाँच पटक र दोस्रोमा तीनपटक बोलपत्रका शर्त संशोधन गरेको भन्दै अख्तियारले त्यसक्रममा कर्मचारी र ठेकेदार, दुवैले गलत नियतले काम गरेको आरोप लगाएको हो ।

अहिले पासपोर्ट छाप्ने काममा प्रयोग भइरहेका हार्डवेयर, सफ्टवेयर अनि पूर्वाधारको मूल्यांकन नगरी दोहोरोपन हुने गरी ठेकेदारलाई गैरकानुनी लाभ दिइएको भन्दै अख्तियारले त्यो कामलाई भ्रष्टाचार पुष्टि हुने आधारका रूपमा प्रस्तुत गरेको छ ।

अनि ब्लेड सर्भर ल्याउनुपर्ने शर्त राखी त्यसमा र्‍याक सर्भर ल्याउने प्रस्ताव गरेको र त्यस्तो प्राविधिक प्रस्ताव स्वीकृत गर्नु गलत हुने अख्तियारको जिकिर हो ।

सबैलाई समान रूपमा प्रतिस्पर्धा गर्न बञ्चित गरेको भन्दै आयोगले पासपोर्टको बुकलेटको गुणस्तर कमजोर हुने गरी सर्त परिवर्तन गरिएको जिकिर गरेको हो ।

अख्तियारले पहिलो प्याकेजको ठेक्कामा एक अर्ब ९० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै बिगो मागदाबी गरेको छ जहाँ जर्मनीको म्युलवर कम्पनी छनोट भएको थियो ।

उसले दोस्रो प्याकेजमा भेरिडोस कम्पनीलाई प्रतिवादी बनाएको छ, जहाँ आठ अर्ब २२ करोड रुपैयाँ बिगो मागदाबी छ । अख्तियारले दुवै ठेक्कामा कुल १० अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार भएको जिकिर गरेको हो ।

राहदानी विभागले ठेक्का सम्झौता भए पनि म्युलवर कम्पनीलाई कुनै भुक्तानी गरेको छैन भने दोस्रो ठेक्काको भेरिडोस कम्पनीलाई १८ करोड ४४ लाख रुपैयाँमा मात्रै भुक्तानी गरेको छ । तर अख्तियारले भुक्तानी भएको रकमको साटो पूरै ठेक्का सम्झौता भएको रकमलाई नै भ्रष्टाचारको विगो माग दाबी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?