 
																			२६ पुस, पोखरा । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुग्दा गण्डकीका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि केपी ओलीको चर्को विरोध गर्थे तर एमालेकै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भने नतमस्तक थिए ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि सरकार गिराउने तथा बनाउने खेल चलिरहँदा पनि गण्डकीमा माओवादीले पृथ्वीसुब्बालाई समर्थन जारी राख्यो ।
दल फरक हुने बेलासम्म पनि सरकारबाट समर्थन फिर्ता नलिएकाले संसद बैठकमा माओवादी र एमाले एउटै लहरमा बस्थे ।
गण्डकीमा माओवादीबाट आन्तरिक मामिला तथा कानुन मन्त्री चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा गरी दुई जना मन्त्री बनेका थिए भने सभामुख पनि माओवादीकै नेत्रनाथ अधिकारी थिए । एमालेविरुद्ध सडकमा आन्दोलन जारी राख्ने तर एमाले नेतृत्वकै सरकारमा टाँसिइराखेको भन्दै चुमानको आलोचनासमेत भएको थियो ।
उनी पार्टी अध्यक्ष प्रचण्डले निर्देशन नदिंदासम्म राजीनामा नदिने र ओलीको विरोध गरे पनि पृथ्वीसुब्बासँग सम्बन्ध सुमधुर बनाइरहने बताउँथे । ‘हाम्रो विमति खास संघीय सरकारसँग हो, प्रदेशसँग होइन,’ तत्कालीन कानुनमन्त्री चुमान भन्थे, ‘तत्काल सरकारको विरोध गर्ने, समर्थन फिर्ता लिने योजना गण्डकीमा छैन ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मात्रै चुमान र थापाले २०७७ चैत २९ गतेमात्र राजीनामा दिएका थिए । उनीहरुले राजीनामा दिएपछिमात्रै पृथ्वीसुब्बा नेतृत्वको सरकारविरुद्ध कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले अविश्वासको प्रस्ताव ल्याउने प्रक्रिया थालेका थिए ।
वैशाख २९ गते पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलाएर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्यो । एमालेको पालमा सत्तामा रहेको माओवादी, कांग्रेसको पालमा पनि सत्तामै रह्यो ।
कृष्णचन्द्र नेतृत्वको सरकारमा चुमान र थापाले पालो नपाए पनि माओवादीका चार जना मन्त्री भए । चुनावसम्म कांग्रेस नेतृत्वको गठबन्धनबाटै प्रतिस्पर्धा गरेको माओवादी सत्ता समीकरण फेरिएसँगै संघमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने गण्डकीमा उनै चुमानको नेतृत्वमा सरकारमा गएको छ । सभामुख पनि माओवादीले नै पाएको छ ।
प्रदेशको पहिलो कार्यकालमा पनि माओवादी चुमानकै नेतृत्वमा सरकारमा गएको थियो । कृष्णचन्द्र नेपाली सरकारमा रामजी बराल जीवनको नेतृत्वमा सरकारमा गएको थियो । पहिले आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका चुमान यसपटक फेरी आफ्नै नेतृत्वमा सरकारमा गएर भौतिक पूर्वाधार मन्त्री हुने सम्भावना छ ।
चुमानले गण्डकी प्रदेश माओवादीले पाउनुपर्ने र मुख्यमन्त्री पनि आफैं हुने दाबी गरिरहेका थिए । तर, आइतबार साँझ सत्ता बाँडफाँटमा गण्डकी पूरै कार्यकाललाई एमालेको भागमा परेपछि खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् र चुमानले पनि विना विभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् ।
पाएसम्म मुख्यमन्त्री पनि आफ्नै लागि माग्ने र मन्त्री पाउँदा पनि आफैंलाई राख्दा चुमानको सत्तामोह देखिएको छ । माओवादीका एक नेताले भने, ‘मुख्यमन्त्री हुन्छ भन्ने फेरि मन्त्री भएर सत्तामा जान पनि नछोड्ने ?’
चुमानले भने माओवादीमध्ये वरियतामा पनि माथि नै रहेको र अनुभवी पनि भएकाले आफ्नो नेतृत्वमा सरकारमा जाने पार्टीले निर्णय गरेको बताउँछन् । ‘हामीले मुख्यमन्त्री मागेका हौं, नपाएपछि आलोपालो हुनुपर्छ भन्यौं तर अहिलेलाई सरकारमा सहभागी हुने भनेर गएका हौं,’ चुमानले भने, ‘मलाई पार्टीले नै दलको नेता बनाएको हो र पार्टीले मेरै नेतृत्वमा सरकार जाने निर्णय गर्यो ।’ उनले आफूले अर्थ वा भौतिक पूर्वाधार मन्त्रालय पाउने सम्भावना रहेको समेत बताए ।
सरकार सञ्चालनमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै पार्टीको नहुँदा उल्झन् खेप्नुपर्ने भएकाले एमालेले अर्थ माओवादीलाई छोड्न चाहँदैन । त्यसो हुँदा चुमानले भौतिक पूर्वाधार मन्त्रालय नै पाउने एमालेका एक नेताले बताए । माओवादीबाट चुमान र गोरखाकी सुशीला सिम्खडासहित ३ मन्त्री पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
सधैं सत्तामा हुँदा जनताको प्रश्न उठाउने ठाउँमा नभएर पनि कम लोकपि्रय भएको माओवादी नै बताउँछन् । तर, सरकार जसको बने पनि माओवादी सधैं सत्तामै रहन पाउनलाई संयोगमात्र मान्छन्, हरिबहादुर । ‘सत्ता मात्रैले पनि नहुने राजनीतिमा सत्ता नभइ पनि नहुने रहेछ,’ चुमानले भने, ‘सत्तासँगै पार्टीले जनताले महसुस गर्ने गरी काम देखाउन नसक्नु पनि होला ।’
मुख्यमन्त्री खगराज नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेर गएका चुमानले तनहुँ क्षेत्र नम्बर १ को प्रदेश २ बाट चुनाव जितेका हुन् । थुप्रै ठाउँमा माओवादीले हार व्यहोर्दा चुमानले भने एमालेका नवप्रवेशी पूर्णबहादुर गुरुङलाई हराउँदै दोस्रो पटक प्रदेश सांसद बनेका हुन् ।
माओवादीभित्र देव गुरुङ विचार समूहका मानिन्छन्, चुमान । उनी पनि रामबहादुर थापा, देव गुरुङसँगै २०७० सालको चुनाव बहिस्कार गर्दै माओवादीबाट अलग्गिएका थिए । २०७४ को चुनावअघि माओवादीमै फर्किएर गण्डकी प्रदेश सभाको यात्रा तय गरेका थिए ।
उनीसँगै दलको नेतामा नारायणकाजी श्रेष्ठ समूहका गोरखाका कृष्ण धिताल पनि दाबेदार थिए । तर, माओवादी प्रदेश इन्चार्ज हितराज पाण्डेसहित गण्डकीका केन्द्रीय सदस्यहरुको बैठकले चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । चुमानलाई दलको नेता बनाउने र कृष्णलाई सभामुख बनाउने तयारी माओवादीको छ । यसअघि १२ सांसद जितेको माओवादीबाट यसपालि ८ सांसद प्रदेश सभामा छन् । उनीहरु सबैजसोले गाडी सुविधासहितको पद पाउने सम्भावना छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4