+
+
ब्लग :

कांग्रेस अझै बरालिने कि बाटो खोज्ने ?

नेपाली कांग्रेसका कार्यकर्ता र जनप्रतिनिधिले नागरिकको मुद्दालाई आफ्नो मुद्दा बनाइहिंड्नु आवश्यक छ। कांग्रेस पंक्तिलाई आम जनताको दुःखसुखमा जोडिनेगरी परिचालित गर्नुपर्छ।

डा. कृष्ण प्र. पौडेल डा. कृष्ण प्र. पौडेल
२०७९ पुष २७ गते १८:४२

यतिखेर नेपाली कांग्रेसका आम नेता तथा कार्यकर्ताले कांग्रेसको नेतृत्वमा सरकार गठन नहुने अवस्थामा प्रचण्डलाई सरकारको नेतृत्व किन नदिएको भनेर बहस चलाएका छन्। यही कुरा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको एक हप्ता मात्रै अगाडि देखाएको भए नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभामा थप सिट जित्ने थियो। अब यो विषयमा छलफल र बहसको औचित्य सकिइसकेको छ।

कांग्रेस नेतृत्वको सरकारले स्थानीय तहको साथै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा एकै दिनमा सम्पन्न गरेर एउटा महत्वपूर्ण जिम्मेवारी पूरा गरेको छ। यसले एकातिर नेपालको लोकतन्त्र थप मजबुत भएको छ भने अर्कोतिर संघीयताको सबलीकरणमा समेत थप बल पुगेको छ।

४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनको नतिजाले कांग्रेसलाई प्रतिनिधिसभा र प्रदेश सभा दुवै स्थानमा ठूलो दलको रूपमा उपस्थित गराएको छ। प्रतिनिधिसभातर्फको २७५ सिटमा नेपाली कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ समेत गरी ८९ स्थानमा विजय हासिल गरेको छ। यस्तै ५५० सिट रहेको प्रदेश सभामा प्रत्यक्षतर्फ १११ र समानुपातिकतर्फ ६४ समेत गरी १७५ सिटमा जित निकाल्न सफल भएको छ।

डा. कृष्णप्रसाद पौडेल

पहिलो दलको रूपमा स्थापित भएको कांग्रेस अपेक्षाकृत रूपमा २०७४ मा राम्रो रहेको मधेश प्रदेश र लुम्बिनी प्रदेशमा यस पटकको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको नतिजा सन्तोषजनक रहन सकेन। प्रतिनिधिसभातर्फ समानुपातिकतर्फ भने २०७४ को तुलनामा करिब ७ प्रतिशत मत गुमाएको छ। यस्तै प्रदेश सभामा समेत कांग्रेसले मत गुमाउन पुगेको छ। फलतः उसले प्रतिनिधिसभा र प्रदेश सभा दुवै स्थानमा २०७४ को तुलनामा समानुपातिकमा ८/८ सिट गुमाउन पुग्यो।

इतिहासको विभिन्न कालखण्डमा राजनैतिक नेतृत्व गरेको र परिवर्तनको संवाहकको रूपमा रहेको कांग्रेसले आम नागरिकको जीवनशैलीसँग जोड्ने गरी कार्यक्रम र योजना ल्याउन सकेन। त्यसैले उसले प्रत्यक्ष र समानुपातिकतर्फ सिट र मत गुमाउनु पर्‍यो। अतः कांग्रेसले आफ्नो संगठनलाई बलियो र मजबुत बनाउँदै युवावर्गलाई नेपाली कांग्रेस नै परिवर्तनको संवाहक हो भन्ने कुराको प्रत्याभूति दिलाउन उपयुक्त रणनीतिहरू तय गर्दै पार्टीलाई आमूल रूपमा रूपान्तरण गर्न जरूरी छ।

अब नेपाली कांग्रेसले गठबन्धन टुटेको र राष्ट्रपति, सभामुखसहित प्रदेशमा नेतृत्वको अवसर गुमाएको विषयमा समय खर्चिनु भन्दा पनि पार्टी संगठनलाई कसरी बलियो बनाउने, नागरिकको दैनिक जीवनको मुद्दाको उठान गर्ने र देशको समग्र राजनैतिक, आर्थिक र सामाजिक विकासका योजनासँग जोड्ने गरी रणनीति तय गर्नु आवश्यक छ।

कांग्रेसले आफ्ना सांसदलाई संसदमा आम नागरिकको दैनिक जीवनको मुद्दा उठाउनुपर्छ। राष्ट्रियता जोगाउने र यो देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै हो भन्ने छाप आम नागरिकको बीचमा छोड्ने गरी आफूलाई तयार गर्नु आवश्यक छ।

यसको साथै गाउँमा बढ्दै र शहरमा घट्दै गएको वामपन्थी मतलाई नेपाली कांग्रेसले आफ्नो पक्षमा ल्याउने गरी रणनीति तय गर्न आवश्यक छ। जसको लागि नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठन, शुभेच्छुक संस्था र विभागीय कार्यदलमा रहने शक्तिलाई यी मुद्दासँग जोड्ने गरी रणनीति तय गर्न आवश्यक छ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा ल्याएको परिणाम, गठबन्धनलाई निरन्तरता दिन नसक्नुका कारण र ठूलो दल भएर पनि सरकारको नेतृत्व लिन नसक्नु लगायतका विषयमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रित रहनुपर्छ।

आम नेपाली कांग्रेसजनले पार्टीलाई प्रतिनिधिसभा र प्रदेश सभा दुवै स्थानमा पहिलो पार्टी बनाएतापनि त्यसको जस नेपाली कांग्रेसका सभापतिलाई दिन सकिरहेका छैनन्। आफ्नो प्रतिबद्ध मत समेत गुमाएको अपजसको भारी कोही बोक्न तयार छैन। यो अवस्थामा पार्टीले तय गर्ने नयाँ रणनीतिप्रति सबै पक्षको ध्यान केन्द्रित भएको छ।

निर्वाचनको परिणामलाई हेर्दा शहरी क्षेत्रमा स्वतन्त्रको त्रास बढ्दै गएको छ। गाउँमा वामपन्थी मत बढ्दै गएको देखिन्छ। यो अवस्थामा नेपाली कांग्रेसले मातहतमा रहेका भ्रातृ संघ र शुभेच्छुक संघ तथा संस्थालाई संगठन विस्तारको पार्टीको केन्द्रीकृत रणनीति अनुरुप परिचालन गर्न सक्नुपर्छ।

२०८४ सालमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको अवस्था सपार्न अहिलेदेखि नै मिहिनेत गर्नुपर्छ। अन्यथा हाल भारतमा रहेको कंग्रेस आईको जस्तो अवस्था नहोला भन्न सकिंदैन। अतः कांग्रेसले समयमा नै संगठन विस्तारको रणनीति तय गर्न आवश्यक छ। यसको लागि नेपाली कांग्रेसले पाँच कुरामा ध्यान दिनु जरूरी छ- संगठन विस्तार, प्रशिक्षण, वैचारिक बहस, नागरिकको सेवा र पार्टी अडिट।

संगठन विस्तारको लागि नेपाली कांग्रेसको विधानले व्यवस्था गरे बमोजिम केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानलाई तुरून्त पूर्णता दिनुपर्छ। विधानमा व्यवस्था भए बमोजिमका सम्पूर्ण केन्द्रीय विभागहरूलाई तुरुन्त पूर्णता दिनुपर्छ। कांग्रेसको विधान बमोजिम स्थापना भएका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूको नेतृत्व समयमा नै चयन गर्नुपर्छ। आसन्न स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघको बलियो उपस्थितिको लागि आजकै मितिबाट कार्य सुचारू गर्नुपर्छ।

नेपाली कांग्रेसको विधानमा व्यवस्था भए बमोजिमका आठवटै तहमा प्रशिक्षणको कार्यतालिका तय गरी सोही बमोजिमको कार्य गर्नुपर्छ। प्रशिक्षणको लागि नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण सामग्री नै तयार गरी पार्टीका बौद्धिक व्यक्तिको रोष्टर तयार गरी विज्ञता र अनुभवको आधारमा हरेकलाई हरेक पालिका र आवश्यकताको आधारमा वडामा समेत खटाउनुपर्छ। यसक्रममा पार्टीका सबै तहका नेताहरूलाई समावेश गरी नेतृत्व विकासको कार्यक्रम अगाडि बढाउनुपर्छ।

कांग्रेसले अब पनि वैचारिक बहसको थालनी नगर्ने हो भने न त आम युवालाई आफूतिर आकर्षण गर्न सक्छ न त आफूलाई नागरिकको सेवामा समर्पित गर्न नै। पार्टीको छुट्टै थिंक ट्यांकको व्यवस्था गर्दै पार्टीको लागि आवश्यक पर्ने विविध विषयमा सही सूचना तय गर्नुपर्छ।

पार्टीको नेतृत्वले सार्वजनिक ठाउँमा कुनै विषयको बारेमा बोल्दा थिंक ट्यांकले तयार गरेको सूचनालाई आधार बनाउनुपर्छ। यसको साथै विश्वको बदलिंदो परिवेशलाई मध्यनजर गर्दै लोकतन्त्रको संस्थागत विकास र सबलीकरणको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिने र लिन लगाउने काम गर्नुपर्छ।

नेपाली कांग्रेसका कार्यकर्ता र जनप्रतिनिधिले नागरिकको मुद्दालाई आफ्नो मुद्दा बनाइहिंड्नु आवश्यक छ। आम नागरिकले दैनिक रूपमा भोग्नु परेको समस्याका बारेमा जानकारी लिंदै सोको समाधानको लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ। कांग्रेस पंक्तिलाई आम जनताको दुःखसुखमा जोडिने गरी परिचालित गर्नुपर्छ। यसको साथै जनप्रतिनिधिहरूले आम नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउने कार्यको जिम्मेवारी लिने प्रण गर्न आवश्यक छ।

अन्त्यमा, नेपाली कांग्रेसको विधान बमोजिम गठन भएका सम्पूर्ण संरचनाले पार्टीको संगठन विस्तार, प्रशिक्षण, वैचारिक बहस र नागरिकको सेवामा के–कति कार्य गरिरहेका छन् सोको बारेमा छुट्टै तथ्यांक र सूचना समेत लिने गरी पार्टी अडिटको संयन्त्र तयार गरिनु आवश्यक छ। यदि यो गर्न सकिएन वा गरिएन भने कांग्रेस युवाहरूको नभई बुढाहरूको मात्र पार्टी हुनेछ भन्नेमा दुईमत छैन।

अतः यही २८ गते शुरू हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नै माथि उल्लिखित संगठन विस्तारका विविध विषयमा प्रवेश पाओस्। साथै नेपाली कांग्रेसलाई स्वार्थकेन्द्रित गुटरहित बनाउनको लागि विशेष रणनीति तय गरोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?