+
+

आफ्ना मागबारे सरकारलाई दबाब दिन देशभरका फिल्म निर्माता काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १२:२९

काठमाडौं । आफ्ना मागलाई लिएर सरकारलाई दबाब दिन देशभरका फिल्म निर्माता शुक्रबार काठमाडौंमा भेला भएका छन् । चलचित्र विकास बोर्डको सभाहलमा सुरु भएको राष्ट्रिय भेलाले दिएको सुझावको आधारमा चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मागपत्र पेस गर्ने निर्माता संघको तयारी छ ।

३०० जनाभन्दा बढी निर्माता सहभागी भेलामा छलफल तथा अन्तरक्रिया समेत गरिने भएको छ । निर्माता संघका अध्यक्ष नवल खड्काले भेलाका सुझावलाई समेटेर बोर्ड र चलचित्र संघसँग वार्ता गर्ने बताए । ‘हामी सुरुमा वार्ता र छलफलबाटै समस्या समाधान गर्न अघि बढ्छौं,’ खड्काले भने, ‘त्यसबाट माग पूरा भएन भने स्थिति हेरेर कठोर निर्णय लिनुपर्ने हुन्छ ।’

खड्काले भन्न खोजेको ‘कठोर’को अर्थ आन्दोलनमा उत्रिनेतर्फको संकेत हो । पुस ६ गते चलचित्र संघले पनि राष्ट्रिय भेला बोलाएर माग पूरा गर्न चलचित्र विकास बोर्डलाई दबाब दिएको थियो । अध्यक्ष खड्काले राष्ट्रिय भेलामा फिल्म हलसँगका कुरा, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ कम भएको, ट्रेलर बजाएको पैसा, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएको, सर्भर डाउनको बहानामा निर्माताले हिसाब नपाएको जस्ता कुरामाथि छलफल हुने बताए ।

भेलाको उद्घाटन समारोहमा सञ्चार मन्त्रालयका सचिव, संघीय सांसद असिम शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी लगायतको उपस्थिति छ । नेपाली चलचित्र क्षेत्रबाट प्रतिनिधिसभाका एक्ला सांसद असिम शाहलाई उक्त भेलाको उद्घाटन समारोहमा दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा सांसद शाहले नेपाली फिल्म क्षेत्रका केही ऐन नियमलाई परिवर्तन गर्नुपर्ने देखिएकाले समिति बोलाएर छलफल गर्नुपर्ने बताए । नयाँ निर्माता धेरै पैसा कमाउने लोभमा फिल्म निर्माणमा हामफाल्ने प्रवृत्ति रहेको भन्दै शाहले उनीहरुलाई यसबारे जानकारी दिन निर्माता संघले डेस्क स्थापना गर्नुपर्ने उनको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?