
२ माघ, वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिकामा सञ्चालित एक ट्रान्सपोर्ट सिल गरेको छ । वीरगञ्ज–१० आदर्शनगरस्थित राजेश मल्लिकले सञ्चालन गरेको श्री पाथिभरा ट्रान्सपोर्ट सिल गरिएको हो ।
सोमबार बिहान (राति करिब १ बजे) छापामारीको क्रममा भन्सार छलीका अवैध मालसमान राखेको पाइएपछि ट्रान्सपोर्ट सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
‘भन्सार छलीका समान छ भन्ने सूचना आएपछि ट्रान्सपोर्टमा राति नै छापमारी गरिएको थियो,’ उनले भने, ‘बिल बिजकविनाको सामान भेटिएको छ, सिल गरेर राखेका छौं ।’
गोदाममा बिल बिजक नभएको अन्दाजी ३ लाख रुपैयाँको सामान हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय पर्साको टोलीसहित गएर मंगलबार थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।
भन्सार छली गरी भित्र्याइएका सामान लोड गरेर अन्यत्रै लैजान लागेको सूचना पाएपछि प्रहरीको टोली ट्रान्सपोर्टको गोदाममा पुगेको थियो ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोली ट्रान्सपोर्टको गोदाममा पुगेर चेकजाँच गरेको थियो । गोदाममा बिल बिजक बिनाका कपडाको पोका तथा अन्य शंकास्पद बिलबिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको मल्लले बताए ।
प्रतिक्रिया 4