+
+

धरान घुम्न जाने हो ? यी गन्तव्य र खाना खास हुन सक्छन्

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ ५ गते ९:००

काठमाडौं । पूर्वी नेपालको सांस्कृतिक तथा पर्यटकीय सहर हो धरान । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार समेत मानिने धरान पहाड र तराईको संगमस्थल पनि हो ।

सुनसरी जिल्लाको प्रमुख सहर धरानलाई ‘लाहुरेहरुको सहर’ पनि भनिन्छ । पहाडी जिल्लाबाट बेलायत, हङकङ र भारतीय सेनामा काम गरेकाहरुले बसोबासको केन्द्र बनाएपछि धरानले आधुनिक स्वरुप पाएको हो । यो सहरको विकासमा लाहुरेहरुको योगदान महत्वपूर्ण छ ।

धरानबाटै तराईको भूभाग सुरु हुने भए पनि यहाँको हावापानी उति उष्ण मानिंदैन । भौगोलिक रुपमा मात्र होइन, यो सहर धार्मिक तथा ऐतिहासिक महत्वका स्थलका कारण पनि विशेषगरी आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।

प्रदेश नम्बर १ बाट मात्र होइन, देशका अन्य क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत धरान घुम्न आउनेहरुको संख्या उल्लेख्य रहने गरेको छ । साथै यहाँको खानपान, जीवनशैली र फेसन पनि लोकप्रिय छ ।

धरानमा घुम्नुपर्ने मुख्य ठाउँ

दन्तकाली

धरान उपमहानगरपालिका-१४ विजयपुर डाँडाको मध्यभागमा रहेको दन्तकाली मन्दिर शक्तिपीठ हो । यहाँ दर्शन गर्न तथा घुम्न आउनेको संख्या धेरै हुने गरेको छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिंड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतीदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी व्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।

विजयपुरको दन्तकालीबाट धरान सहरको रमणीय दृश्य अवलोनक गर्न पाइन्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इटहरी, इनरुवा, कोसी टप्पू लगायत क्षेत्र पनि यहाँबाट देखिन्छ । दन्तकाली धार्मिक रूपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ ।

बुढासुब्बा

धरान पुग्नेहरुले नछुटाउने अर्को ठाउँ हो बुढासुब्बा मन्दिर क्षेत्र । दन्तकालीबाट केही पूर्व सेउती खोलाको डिलमाथि रहेको बुढासुब्बामा रहेका टुप्पा नभएका बाँस निकै चर्चित छन् । यी बाँसमा प्रेमी-प्रेमिकाले आफ्नो खोप्ने प्रचलन छ, जसले आफ्नो प्रेम अमर रहने जनविश्वास रहिआएको छ ।

विजयपुर क्षेत्रमै रहेको बुढासुब्बा किरात समुदाय मात्रै नभएर अन्य समुदायका दर्शनार्थीहरु पनि धेरै पुग्छन् । पर्यटकीय हिसाबमा समेत सुन्दर स्थानमा रहेको यो मन्दिर क्षेत्र धरान घुम्न जाँदा छुटाउन नहुने गन्तव्य हो ।

पिण्डेश्वरी बाबाधाम

ऐतिहासिक विजयपुरगढीमा रहेको पिण्डेश्वर बाबाधामलाई हिन्दू भक्तजनहरूले पवित्र तीर्थस्थलको रूपमा लिने गर्छन् । देवाशुर संग्रामको बेलामा समुन्द्र मन्थन गर्दा निस्किएको अमृतबाट बनेको पिण्डमा महादेव अवस्थित भएकाले त्यही अमृत पिण्ड पिण्डेश्वर महादेवको रूपमा प्रतिस्थापित भएको भन्ने किंवदन्ती छ ।

यस मन्दिरको स्थापना पशुपतिनाथको मन्दिर भन्दा पहिले भएको मानिन्छ । धरान घुम्न जानेका लागि यो पनि महत्वपूर्ण स्थान हो ।

भेडेटार

धरानको मुख्य बजार भानुचोकबाट १६ किलोमिट उत्तरमा रहेको भेडेटार सुनसरी र धनकुटा जिल्लामा पर्छ । सुमन्द्री सतहबाट १ हजार ४२० मिटर उचाइमा रहेको भेडेटारको मनमोहक दृश्य र चिसो हावापानीले जोकोहीलाई मोहित बनाउँछ ।

बिदाको दिनमा यहाँ थामिनसक्नु भीड लाग्छ । पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने पर्यटकहरुले  भेडेटार प्रायः खचाखच हुन्छ । यहाँ बस्नका लागि सुविधासम्पन्न होटल छन् भने प्रदेश १ का १४ वटै जिल्लाको अवलोकन गर्न सकिने भ्युटावर (चाल्र्स प्वाइन्ट भनिने) समेत रहेको छ ।

तराईको गर्मी छल्न मानिसहरु भेडेटार उक्लिने गर्छन् । यहाँबाट कोशी नदीको मनोरम दृश्य, पूर्वी तराईका फाँट, सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमशृंखला हेर्न सकिन्छ ।

सिटी सफारी र ट्याम्पूको यात्रा

तराईमा बस्नेहरुका लागि नौलो नभए पनि काठमाडौंलगायत पहाडी जिल्लाबाट घुम्न जानेहरुका लागि धरानको सिटी सफारीको यात्रा रोमाञ्चक हुन सक्छ । त्यस्तै यहाँबाट छोटो दूरीमा गरिने ट्याम्पूको यात्रा पनि रमाइलो लाग्छ ।

ब्याट्रीबाट चल्ने वातावरणमैत्री सिटी सफारी काठमाडौं, पोखरामा चल्ने ट्याक्सीजस्तै हो भन्दा फरक नपर्ला । यी सवारीसाधनमा चढेर धरान सहरको अवलोकन गर्न सकिन्छ ।

धरानको खानपान

धराने कालो बंगुरको सेकुवा

धरानमा पाइने कालो बंगुर देशभर प्रख्यात छ । राई-लिम्बू समुदायको बाक्लो बसोबास रहेको धरानमा बंगुरका सेकुवा लगायत विभिन्न परिकार पाउन सकिन्छ ।

धरानको पूर्वी भागमा रहेको बगरकोट क्षेत्रमा अहिले कालो बंगुरको परिकार पाइने प्रशस्त रेस्टुरेन्ट तथा बारहरु खुलेका छन् । यहाँको मेनु कालो बंगुरका परिकारले भरिएका देखिन्छन् । यसका लागि एक प्लेटको १२० रुपैयाँदेखि केजीको ९०० रुपैयाँसम्म खर्चिनुपर्छ ।

थुक्पा

धरानमा खानाको इतिहास हेर्ने हो भने देशकाल, परिस्थितिअनुसार यो निरन्तर परिमार्जित, परिवर्तन, विकास भइरहेको पाइन्छ । धरानमा अहिले धेरै ‘पपुलर’ भएको धराने थुक्पाको इतिहास हेर्ने हो भने ३०-३५ वर्षभन्दा पुरानो छैन । थुक्पा धरानको रैथाने परिकार होइन, तर पनि अहिले यो खाजाको रूपमा निकै लोकप्रिय छ ।

धरानमा मधेश र पहाडबाट आउने पाहुनाहरूले थुक्पा भित्र्याएका हुन् । पहिले मटरको झोलमा ‘बोइल्ड नुडल्स’ राखेर दिइन्थ्यो । धरानमा आएपछि यसको ‘कम्बिनेसन’ अझ परिमार्जित हुँदै गयो, मटर, चना, आलु, आलुचप, भुजिया, अचार थपिंदै गयो ।

आलु निम्की

आलु निम्की पनि धरानको चर्चित परिकार हो । रैथाने परिकार नभए पनि धरानमा बनेको आलु निम्की खास लाग्छ । पाकिस्तान, भारत र नेपालमा निम्की त पहिलेदेखि बनाइने गरिएको भए पनि धरानमा  निम्कीमा आलु हालेर आलु-निम्की बनाएर खान थालियो । पानीपुरी, चटपटे जस्तै आलु निम्की पनि धरानको ‘स्ट्रिट फुड’ हो ।

त्यसैले कालो बंगुरको परिकार, थुक्पा र आलु निम्कीको स्वादले धरान घुमघामलाई थप रोमाञ्चक बनाउँछ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?