
८ माघ, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक जाभी हर्नाण्डेजले आफ्ना पूर्व टिममेट तथा ब्राजिलियन डिफेण्डर ड्यानी अल्भेसमाथि लागेको यौन दुर्व्यवहारको आरोपबाट आफू आश्चर्यचकित परेको प्रतिक्रिया दिएका छन् ।
अदालती प्रक्रिया सुरु भइसकेका कारण उनले ड्यानीमाथिको आरोपबारे धेरै टिप्पणी नगर्ने बताए । आल्भेसलाई डिसेम्बरको अन्त्यतिर बार्सिलोनाको एउटा नाइट क्लबमा युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेसँगै गत साता स्पेनिस प्रहरीले पक्राउ गरेको थियो ।
‘यो समयमा केही पनि भन्नू अप्ठ्यारो छ । म आश्चर्यचकित भएँ । अब कानुनी कुरामा हामीले केही भन्न मिल्दैन । मलाई उनको लागि नरमाइलो लाग्यो,’ जाभीले भने ।
ला लिगामा गेटाफेसँगको खेलअघि पत्रकार सम्मेलनमा उनले टिमको समस्याका बारेमा पनि टिप्पणी गरे । अघिल्लो साता रियल म्यड्रिडलाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको बार्सिलोनामा अहिले हलचल भइरहेको छ ।
टिमका स्ट्राइकर मेम्फिस डिम्पाय बार्सिलोना छोडेर एट्लेटिको म्यड्रिडमा अनुबन्ध भएका छन् । जाभीले पीच बाहिरका केही समस्याहरुका बारेमा बोलेका थिए ।
उनले गेटाफेसँगको खेल आफूहरुका लागि निकै महत्वपूर्ण रहेकोसमेत बताए । ‘गेटाफे एउटा रक्षात्मक मानसिकता भएको टिम हो । उनीहरु डिफेण्डरमा पाँचजना राखेर खेल्छन् । खेल जित्न हामीले अट्याकिङ फुटबल खेल्नुपर्छ,’ जाभीले भने ।
जाभीले डिपायलाई एट्लेटिकोले राम्रो अफर गरेको र उनी त्यसमा लोभिएको प्रतिक्रिया दिए । ‘उनलाई राम्रो अफर आएको थियो । हामीले क्लबमै रहन आग्रह गर्दा असहज माने । सहजताका लागि गए,’ जाभी भन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4