+
+

हेलिकप्टर पाइलटको गुनासो : प्रहरीकै सामु मुद्दा कमजोर बनाउन लगाइयो

विकास रोकामगर विकास रोकामगर
२०७९ माघ १० गते १९:४०
पाइलट रनेश र उनले वालिङमा अवतरण गर्दै गरेको हेलिकप्टर ।

१० माघ, पोखरा । वालिङमा फुटबल प्रतियोगिता भइरहेका बेला मैदानमा हेलिकप्टर ल्याण्ड गर्न दबाव दिने यात्रु र पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेलिकप्टर चार्टर्ड गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठ छन् । माघ ५ गते वालिङ कपको सेमिफाइनल खेल भइरहेका बेला मैदानमै हेलिकप्टर ल्याण्ड गरेपछि क्याप्टेन रनेश डंगोलमाथि कुटपिट भएको थियो ।

क्याप्टेन डंगोलले हेलिकप्टर ल्यान्ड गर्न यात्रुले नै दबाव दिएको र बिना गल्ती आफूमाथि कुटपिट भएको भन्दै वडा प्रहरी कार्यालय वालिङमा सोमबार जाहेरी दिएका थिए । उनले आफू खुसी फुटबल मैदानमा ल्याण्ड नगरेको र यात्रुले नै दबाव दिएको बताएका छन् ।

जिल्ला प्रहरी स्याङजाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाका अनुसार क्याप्टेन डंगोलको उजुरीपछि ४ जना यात्रु र २ जना आयोजक समितिका गरी ६ जना सोमबार साँझ नै पक्राउ परेका हुन् ।

फोर्स ल्यान्ड गर्न दबाव दिने यात्रु र आफूमाथि कुटपिट गर्ने आरोपी पक्राउ परे पनि क्याप्टेन डंगोल खुसी छैनन् । कारण हो, प्रहरी कार्यालयमै भएको उनको जाहेरी परिवर्तन । वालिङ नगरपालिकाका मेयर, पूर्वमेयर तथा प्रदेश सांसदसहितको दबावमा प्रहरी कार्यकक्षमै आफ्नो जाहेरी परिवर्तन गरिएको क्याप्टेन डंगोलले आरोप लगाएका छन् ।

‘मैले घटनाबारे जे लेखेर उजुरी दिन गएको थिएँ । त्यहाँ सबै ठूला मान्छेहरु राखेर ठूलो दबाव दिइयो । सुरुमा उजुरी लिनै मानेनन्, प्रहरीले नै मिल्न दबाव दियो’, क्याप्टेन डंगोलको आरोप छ, ‘मैले मान्दैन नमानेपछि उजुरी फेरेर जाहेरी लिइयो । जतिसक्दो चाँडो केस सकाउनलाई जाहेरी कमजोर बनाइएको छ ।’

डंगोलले सुरुमा प्रदेश प्रहरी कार्यालय कास्कीमा आइतबार ठाडो उजुरी दिएका थिए । तर, त्यहाँ उजुरी लिएनन् । ‘ठेगाना सोधियो, राजनीतिक दबाव आएको छ कि छैन ?’ भनेर सोधियो । उनले आफूलाई कुनै दबाव नआएको सुनाए ।
ठेगाना दिएर उनी रामबजार फर्कंदै गर्दा फोन आयो । उनका अनुसार फोन वालिङका मेयर कृष्ण खाँणको थियो । ‘चौकीमा ४–५ घन्टा कुरेंको हुँ । त्यहाँबाट निस्केर घर नपुग्दै मेयर साबले रामबजारतिर आइराछु, तपाईंलाई भेट्छु भन्नुभो,’ डंगोलले भने, ‘त्यतिबेला म फिजिकल्ली, मेन्टल्ली डिस्टर्ब छु भेट्दिनँ भनें । तर, मेयर साबलाई मेरो ठेगाना कसले दियो ? उहाँ कति छिट्टै आइपुग्नुभएछ ।’

प्रदेश प्रहरीले उजुरी लिन नमानेपछि क्याप्टेन डंगोल सोमबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए । त्यहाँ पनि घटना स्याङ्जामा भएकाले उजुरी लिन नमिल्ने भन्दै फिर्ता पठाए । त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगे । उनले असुरक्षा हुने बताएपछि प्रहरीले स्याङ्जासम्मै स्कर्टिङको व्यवस्था पनि गरेको थियो ।

हेलिकप्टर पाइलटमाथि भएको कुटपिट ।

तर, वालिङमा त्यहाँ पुग्नुअगावै मेयर खाँण, युनाइटेड क्लबका पदाधिकारी, पूर्वमेयर दिलिपप्रताप खाँण र हेली चार्टड गरेकामध्ये विनोद गैरेको टोली जम्मा भइसकेको थियो ।

‘उहाँहरु त्यहाँ हुनुहुन्छ भन्ने मलाई थाहै थिएन । डीएसपी साब पनि त्यही हुनुहुन्थ्यो । सुरुमा मलाई बरु औषधि उपचार व्यहोर्छौं, अरु के चाहिन्छ, मुद्दा मामिला नगरौं भने’, क्याप्टेन डंगोलले भने, ‘म मिल्न होइन, न्याय माग्न आएको हुँ भनेपछि फेरि जाहेरी कमजोर बनाउनतिर लागियो ।’ उनका अनुसार विवाद मिलाउन प्रदेश सभा सांसद भोजराज अर्याल पनि साँझ त्यहाँ आएका थिए ।

क्याप्टेन डंगोलले उपलब्ध गराएको जाहेरी पत्रअनुसार सुरुमा ज्यान मार्ने उद्योग, हवाई उडान सुरक्षा, अंगभंग कुटपिटलगायत ४ वटा मुद्दा उल्लेख छ । तर, त्यसमा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको उनको आरोप छ ।

अहिले सार्वजनिक स्थानमा अभद्र, अमर्यादित र अशिष्ट व्यवहार र कुटपिट २ मुद्दामा प्रहरीले जाहेरी दर्ता गरेको छ । जसमा पक्राउ परेका ६ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी थापाले जानकारी दिए ।

दबाव दिएको होइन, अनुरोध गरेका हौं : मेयर खाँण

वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले आफूहरुले पीडित क्याप्टेन रनेश डंगोललाई मेलमिलापका लागि दबाव नदिएको बरु सौहाद्र्धपूर्ण अनुरोध गरेको बताएका छन् । डंगोलले आरोपीविरुद्ध नगरपालिकालाई उजुरी गर्न अनुरोध गरेको तर आफूहरुले अस्वीकार गरेको उनले बताए ।

‘हामीले कुनै प्रकारको दबाव दिएका होइनौं, अनुरोधमात्रै गरेका हौं । धेरैबेर छलफल गरेर यो विषय टुंगिएको हो’, मेयर खाँणले अनलाइनखबरसँग भने, ‘कि तपाईंहरु उजुरी दिनुस् कि म गर्छु भन्नुभयो । त्यसमा हामीले तपाईं नै गर्नुस् चाहिँ भनेका हौं ।’

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले भने कानुनअनुसार नै उजुरी लिइएको बताएका छन् । उनले उजुरी फेरबदलका लागि दबाव नभई सहमतिमै भएको सुनाए ।

‘पीडितले एक प्रकारको उजुरी लिएर आउनुहुन्छ । तर, अनुसन्धान गर्दै जाँदा माग दाबी अनुसार नमिल्न पनि सक्छ । हामीले घटनाअनुसार नै उजुरी लिने हो’, निरीक्षक थापाले भने, ‘उहाँ आफ्नो कानुन व्यवसायीसँग आउनुभएको थियो । सहमतिमै उजुरी लिइएको हो ।’

प्रहरी निरीक्षक थापाले प्रहरी न्यायकै पक्षमा रहेकाले अनुसन्धानमा सहज र सघाउ पुग्ने गरी नै उजुरी लिएको दाबी गरेका छन् । ‘झुठा विवरणले भोलि अनुसन्धान हुँदै जाँदा पीडितले झन् न्याय नपाउने स्थिति हुन सक्छ । यसमा सचेत रहेरै उजुरी लिइएको हो,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?