+
+

भारतमा प्रतिबन्धित वृत्तचित्र ‘इन्डियाः द मोदी क्वेशन’ को दोस्रो भाग सार्वजनिक गर्दै बीबीसी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १९:५५

१० माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा तयार पारेको वृत्तचित्र ‘इन्डियाः द मोदी क्वेशन’ को दोस्रो भाग बेलायती सञ्चार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले आज राति सार्वजनिक गर्ने भएको छ ।

मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको छ ।

पहिलो भाग प्रसारण भएको एक हप्तापछि बीबीसीले वृत्तचित्रको दोस्रो भाग सार्वजनिक गर्न लागेको हो । बीबीसीले आफ्नो वेबसाइटमा दोस्रो भाग प्रसारण हुने भन्दै सेड्युल प्रकाशन गरेको छ । बीबीसीका अनुसार उक्त भिडियो नेपाली समय अनुसार आज राति ९ बजे प्रसारण हुनेछ ।

बीबीसीका अनुसार दोस्रो भागमा मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्रीमा निर्वाचित भएपछिको ट्र्याक रेकर्ड जाँच गरेको छ । उनका विवादास्पद नीतिका श्रृंखलामध्ये भारतीय संविधानको धारा ३७० अन्तर्गत ग्यारेन्टी गरिएको कश्मीरको विशेष दर्जा हटाउने, मुस्लिम समुदायमाथि अन्याय हुने गरी ल्याइएको नागरिकता कानुन र हिन्दूद्वारा मुस्लिममाथि हिंस्रक आक्रमण गरेका रिपोर्टहरू समावेश गरिएका छन् ।

बीबीसीका अनुसार मोदी र उनको सरकार आफूले ल्याएका कुनै पनि नीतिले मुस्लिमहरूप्रति कुनै पूर्वाग्रह झल्काउने कुरा स्वीकार गर्न तयार नरहेको तर, एम्नेस्टी इन्टरनेशनल जस्ता मानव अधिकार संगठनहरूले बारम्बार आलोचना गरिरहेको विषयसमेत समेटिएको छ । त्यस्तै भारतले गरेको नोटबन्दीको विषयमा पनि वृत्तचित्रको दोस्रो भागमा समावेश गरिएको बीबीसीले जनाएको छ ।

वृत्तचित्रको पहिलो भागमा बीबीसीले मोदीको राजनीतिक जीवनको अघिल्लो कालखण्डलाई समेटेको छ । जसमा दक्षिणपन्थी हिन्दू संगठन राष्ट्रिय स्वयम् सेवक संघसँगको उनको सम्बन्ध, भारतीय जनता पार्टी (भाजपा) को पदमा उनको उदय र गुजरात राज्यको मुख्यमन्त्रीको रूपमा उनले खेलेको भूमिकासमेत वर्णन गरिएको छ । विशेष गरी सन् २००२ मा भएको गुजरात दंगाको विषयलाई यसमा प्राथमिकता दिइएको छ । जुन अहिले भारतमा विवादको विषय बनेको छ ।

उक्त वृत्तचित्र भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)को विद्यार्थी युनियनले मंगलबार राति ९ बजे प्रदर्शन गर्ने तयारी गरेपछि विश्वविद्यालय प्रशासनले रोक लगाएको थियो । विश्वविद्यालय प्रशासनले वृत्तचित्र देखाउँदा क्याम्पसमा शान्ति तथा सद्भाव खलबलिन सक्ने जिकिर गरेको थियो ।

बीबीसीको उक्त डकुमेन्ट्रीमा सन् २००२ मा गुजरातमा भएको दंगापछिको घटनाक्रम देखाइएको छ । मोदी गुजरातका मुख्यमन्त्री हुँदा कसरी दंगाको व्यवस्थापन गरे भन्ने विषयमा प्रश्न उठाइएको छ ।

भारत सरकारले उक्त डकुमेन्ट्री प्रोपागान्डा भएको बताउँदै त्यसका युट्युब भिडियो र ट्विटर पोस्ट ब्लक गरेको छ ।

गुजरामा भएको उक्त हिंसामा करिब २ हजार मानिसहरू मारिएको बताइन्छ भने हिन्दु र मुस्लिमबीच भएको सो हिंसामा तत्कालीन मोदी नेतृत्वको गुजरात सरकारले हिन्दुलाई सहयोग गरेको आरोप लाग्दै आएको छ । मोदी प्रधानमन्त्री बन्नुअघि सोही विषयलाई लिएर अमेरिकाले उनीमाथि प्रतिबन्धसमेत लगाएको थियो ।

उक्त वृत्तचित्रको परिचय खण्डमा बीबीसीले मोदी विश्वको सबभन्दा ठूलो लोकतन्त्र भनिने मुलुक भारतको नेता र दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएका शक्तिशाली राजनीतिज्ञ भएको उल्लेख गरेको छ । एसियामा चीनको वर्चस्वलाई रोक्न पश्चिमा मुलुकहरू अमेरिका र बेलायत दुवैले उनलाई आफ्नो प्रमुख सहयोगीका रूपमा प्रस्तुत गरिरहेको बीबीसीको विश्लेषण छ ।

बीबीसीले मोदीको प्रधानमन्त्री कालमा भारतमा बसोबास गर्ने मुस्लिम समुदायमाथि उनी नेतृत्वको सरकारले गरेको दमनबारेको सत्यको खोजी गरेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?