+
+
ब्लग :

प्रेमप्रसादले उठाएका गम्भीर प्रश्नहरु

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ माघ ११ गते १६:०३

इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहले कतिपय प्रश्नहरु उठाइदिएका छन् । राज्य कति निकम्मा हुँदै गएको छ भन्ने उदाहरण पनि त्यहाँ छ ।  मंगलबार संसद भवन अगाडि प्रज्ज्वलनशील पदार्थ छर्किएर आत्मदाह गरेका आचार्यले त्यसअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए ।

आचार्यको निधनलगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो आत्मदाहको धेरै कारण र धेरै संकेतहरु होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ ।

पत्रकार खिलबहादुर भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा यसबारे कडा प्रतिक्रिया दिएका छन् । सरकारको गृहमन्त्री रवि लामिछानेले पनि सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्– मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामीजस्तो नयाँहरुको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आश जगाउन सकेन ।

मानिस, पशुपंक्षी, जीवजन्तु हरेकको जीवनचक्र पूरा हुन विभिन्न पक्ष जोडिन्छन् । एउटा जीवनचक्र पूरा हुन जोडिने हरेकको अस्तित्व रहन सक्यो भने मात्र जीवनको अस्तित्व रहन्छ र जीवनको अस्तित्वमै जगतको अस्तित्व निर्भर हुन्छ । आर्थिक जीवनचक्रको सफलताको लागि पनि व्यक्ति, व्यवसाय, कच्चापदार्थ, वित्तीय संस्था र सरकारको व्यवस्थापनसँगै अगाडि बढ्नुपर्छ । अहिले जिल्ला सदरमुकामहरु सुनसान प्रायः छन् । व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना, कृषि, पशुपालन सबै कुरा ठप्प प्रायः भएका छन् । ऋण लिएर व्यवसाय गरेका मानिसहरुको अवस्था नाजुक छ । वित्तिय संस्थाहरुले पुनर्कर्जा, ब्याजदर घटाउने जस्ता विकल्पमा छलफलै नगरी व्यवसायीलाई मानसिक तनाव दिने कुरामा आफ्नो सफलता ठानिरहेका छन् । अनि सरकार यो सबै कुरामा मुकदर्शक बनिरहेको छ ।

यसैको परिणाम हो प्रेमप्रसाद आचार्यको निर्णय । सरकारले व्यवसायीका समस्यामा चासो दिंदै वित्तीय सुधारको लागि ब्याजदर नियन्त्रण, पुनर्कर्जाको सुविधाजस्ता कुरामा ध्यान नदिने हो भने अरु धेरै प्रेमप्रसादहरुले आत्मदाह गर्ने अवस्था बन्नेछ ।

आर्थिक पीडा र नुनचुकको रुपमा व्यहोर्नुपर्ने सामाजिक प्रताडनाले पीडित व्यवसायीको मानसिकता बन्दुक बोकेर विद्रोहमा उत्रिनुपर्ने स्थितिमा पुग्यो भने त्यसको प्रहार वित्तीय क्षेत्रमा हुन सक्छ । र, यसको जिम्मेवारी राज्यले लिनुपर्छ ।

प्रधानमन्त्रीको कारगेट अगाडि आएर आत्मदाह गरेको २४ घण्टा बित्दा समेत घटनाको विषयमा राज्यको तर्फबाट एक शब्द सम्बोधन नहुनु अर्को दुःखद् हो । एउटा मानिसले आर्थिक पीडाका कारण मुलुकको व्यवस्थापिका भवन अगाडि प्रधानमन्त्रीको सामुन्ने आत्मदाह गर्ने कुरालाई राज्यले खेलाँचीको रुपमा लिएको हो भने त्योभन्दा ठूलो भूल अरु केही हुन सक्दैन । राज्यले तत्काल घटनाको छानबिन गरेर मृतक आचार्यले स्टाटसमा उल्लेख गरेका व्यक्ति, वित्तीय संस्थालगायतको अध्ययन गरी कारवाही र समाधान खोज्नु जरुरी छ ।

मुलुकको आर्थिक अवस्था श्रीलंकाको निकट पुगिसकेको छ । व्यवसायीको उन्नति नभई मुलुकको समृद्धि सम्भव छैन । यसका लागि सरकारले नीतिगत सुधार गर्नु जरुरी छ । वित्तीय संस्थाहरुले पनि आर्थिक संकटमा परेका व्यवसायीलाई मानसिक तनाव दिनुको सट्टा पुनर्कर्जा, ब्याजदरमा पुनर्विचारजस्ता उपाय खोज्नुपर्छ र सरकारसँग सहुलियतको लागि माग गर्नुपर्छ ।

राजनीतिकर्मीलाई जनप्रतिनिधिको रुपमा अनावश्यक खर्च गरेर पाल्नुपर्ने बाध्यता छ । प्रेमप्रसादले यस्ता प्रश्नसमेत उठाएका छन् ।

प्रेमप्रसादले आफ्नो पत्रमा २५ बुँदामा विभिन्न सुझाव दिएका छन् । अब प्रेमप्रसाद फिर्ता हुँदैनन्, तर यस्तो पीडाको शृंखलालाई सधैंको लागि अन्त्य गर्ने हो भने उनको सुझावलाई समेत आत्मसात गर्दै मुलुकका बेथिति, विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिवद्धतासहित सुधारको नयाँ शिरा सुरु गर्नुपर्छ । अझै पनि पद र सुविधाकै लागि झिनाझप्टीमा अल्झिने हो भने नयाँ पुराना सबै राजनीतिक दल असफल हुनेछन् र समग्रमा राज्यलाई नै असफल बनाउने छन् ।

प्रेमप्रसादको परिवारको पालन पोषण र देखरेखको जिम्मेवारी लिंदै आर्थिक विद्रोह र आत्मदाहको शृंखला अन्त्य गर्न आज होइन, अहिले नै सरकारले पहल गरोस् ।

प्रेमप्रसादलाई श्रध्दासुमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?