+

खराब भएको कलेजो फेरि स्वस्थ हुन्छ ?

२०७९ माघ  १३ गते १३:२७ २०७९ माघ १३ गते १३:२७
खराब भएको कलेजो फेरि स्वस्थ हुन्छ ?

काठमाडौं । कलेजोले शरीरको फोहोरलाई बाहिर निकालेर निरोगी बनाइराख्न मुख्य भूमिका खेलेको हुन्छ । कलेजोले हाम्रो शरीरमा रहेका भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट लगायत पोषक तत्त्वलाई छुटाई शरीरको आवश्यकता अनुसार विभिन्न अंगमा पुर्‍याउँछ ।

कलेजोलाई स्वस्थ राख्न के के कुरामा ध्यान दिने ? कलेजो खराब हुँदै गएको कसरी थाहा हुन्छ ? लगायत विषयमा पेट तथा कलेजोरोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलसँग गरिएको कुराकानी :

कलेजो के कारणले खराब हुन्छ ?

कलेजो खराब हुने विभिन्न कारण छन् । हेपाटाइटिस ए, बी, सी, डी र ई, कोरोना भाइरस, मलेरिया, कालाजार तथा अन्य सरुवा रोगका कारण कलेजो खराब हुन्छ । साथै खराब खानपान, मोटोपन, मदिरा सेवन, औषधिको अत्यधिक सेवन, व्यायामको कमी, अत्यधिक प्रोटिनको सेवन र फ्याटी लिभर पनि कलेजो खराब हुने कारण हुन् ।

कलेजो खराब हुँदै गएको कुरा कसरी थाहा हुन्छ ?

कलेजोमा समस्या आयो भने छाला पहेंलो हुँदै जान्छ । त्यसैगरी आँखामा समेत पहेंलोपन बढ्छ, पिसाब पहेंलो हुन्छ । कलेजोको समस्या बढ्दै गए रगत बान्ता हुन्छ, बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या भएको हुन सक्छ ।

कलेजो खराब हुँदा पेटभन्दा तल सुन्निने, हात गोडा सुन्निने जस्ता समस्या पनि देखिन्छन् । खानाको स्वाद थाहा नहुने र बारम्बार स्वाद फरक हुने समसया देखिन्छ । बिना परिश्रम थकान र कमजोरी भए पनि कलेजोको समस्या हुन सक्छ ।

कलेजो खराब भएपछि के कस्ता स्वास्थ्य समस्या आउँछ ?

कलेजोमा खराबी भए पाचनयन्त्र चुस्त हुँदैन । शरीरमा विषाक्त पदार्थ फैलिन्छ । जब शरीरमा विषाक्त पदार्थ फैलिन्छ, तब विभिन्न अंगमा त्यसको सोझो प्रभाव पर्न थाल्छ । फोक्सोमा पानी जम्ने, पेटमा पानी जम्ने हुन्छ । यसले क्रमशः मिर्गौला, मुटु सबैमा असर गर्न सक्छ ।

कुन चरणमा पुगेपछि कलेजो एकदमै काम नलाग्ने हुन सक्छ ?

कलेजो सिरोसिस हुँदा कलेजो खुम्चिन्छ । लिभर सिरोसिसको ‘कम्पेन्सेट’ क्षतिपूर्ति हुन सक्ने र ‘बिकम्पेन्सेट’ क्षतिपूर्ति नहुने दुई प्रकारको हुन्छ । ‘बिकम्पेन्सेट’ सिरोसिसमा कलेजोमा बोसो जमेर कलेजोको कोषिकाहरू खुम्चिएर गाँठो पर्छ । यस्तो अवस्थामा कलेजो कामै नलाग्ने हुन्छ । कलेजो प्रत्यारोपण नै यसको उपचार हो ।

खराब भइसकेको कलेजो सही खानपान र जीवनयापनले पुनः स्वस्थ हुन्छ ?

खराब खानपान र अव्यवस्थित जीवनशैलीको कारणले कलेजो खराब भएको हो भने सही खानपान र जीवनयापनले पुनः कलेको स्वास्थ्य हुन्छ ।

धेरै रक्सीको सेवनले कलेजो खराब भएको हो भने रक्सी खान छोडेको ६ महिनापछि नै कलेजोको अवस्था सुध्रिंदै जान्छ । हेपाटाइटिस सीको कारणले कलेजो खराब भएको छ त्यसको उपचारपछि कलेजो स्वस्थ हुन्छ ।

खराब भइसकेको कलेजो पुनः स्वस्थ हुन्छ भने कसरी हुन्छ ?

खराब खानपान जस्तै मद्यपान, कार्बोहाइड्रेट बढी भएको खाना, चिनी बढी भएको खानेकुराको बढी सेवनले कलेजो खराब भएको हो भने खानपानमा सुधार गर्ने र मद्यपान छोडेपछि कलेजो पुनः स्वास्थ्य हुँदै जान्छ ।

हेपाटाइटिस सीको कारण कलेजो खराब भएको हो भने त्यसको औषधि खाएपछि कलेजो पुनः स्वास्थ्य हुने भयो । मोटोपनको कारण फ्याटी लिभर भएर कलेजो खराब भएको हो भने तौल घटायो भने कलेजो स्वास्थ्य हुन्छ ।

पूर्ण रूपमा कलेजो स्वस्थ कसरी राख्न सकिन्छ ?

कलेजोलाई स्वस्थ राख्न सबैभन्दा ध्यान दिनुपर्ने खानेकुरा नै हो । जंकफुड, बढी चिल्लो खानेकुरा, बोसो बढी भएको खानेकुरा, गुलियो बढी भएको खानेकुरा र कार्बोहाइड्रेट बढी भएको खानेकुरा कम खानुपर्छ । यसैगरी हरियो सागसब्जी, कलेजोबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोगी हुन्छन् । यिनमा विद्यमान क्लोरोफिलले कलेजोमा हुने खतरनाक रासायनिक पदार्थहरूको प्रभावलाई कम गर्छ । त्यसैले कलेजो स्वस्थ राख्न प्रशस्त मात्रामा हरियो सागसब्जी खानुपर्छ ।

कलेजोलाई स्वस्थ राख्न राम्रो निद्रा पनि आवश्यक हुन्छ । निद्राको कमीले कलेजोमा बढी दबाब पर्छ, त्यसैले शरीरलाई आराम दिन समयमा सुत्ने र समयमा उठ्ने बानी गर्नुपर्छ ।

कलेजोलाई स्वस्थ राख्न शारीरिक गतिविधि र व्यायाम पनि जरुरी हुन्छ । शारीरिक रूपमा सक्रिय भएन भने कलेजोमा बोसो जम्ने समस्या देखिन सक्छ । भाइरल हेपाटाइटिसले रगतको माध्यमबाट कलेजोमा असर गर्ने हुँदा यसबाट बच्न खोप लगाउनुपर्छ ।

कलेजो
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय